नेभिगेशन
विश्व

कहाँ पुग्यो अमेरिका‑इरान युद्धविराम ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि अमेरिका–इरानबीचको युद्धविराम वार्ता पुनः सुरु गराउन मध्यस्थकर्ताहरूले इरानलाई आफ्नो आणविक कार्यक्रमबारे केही सहमति गर्न दबाब दिइरहेका छन् । द्वन्द्व फेरि पूर्ण युद्धतर्फ नजाओस् भन्ने उद्देश्यले भइरहेको यो प्रयास निकै कठिन मानिएको छ ।
वार्तामा संलग्न मध्यस्थकर्ताहरूका अनुसार ट्रम्पले सबैभन्दा बढी चासो दिएको आणविक मुद्दामा इरानलाई सहमत गराउने प्रयास भइरहेको छ । ट्रम्पले सुरुदेखि नै इरानलाई आणविक हतियार बनाउनबाट रोक्नुलाई युद्धको मुख्य उद्देश्यका रूपमा प्रस्तुत गर्दै आएका छन् । गत साता संयुक्त राष्ट्रसंघमा उनले इरानलाई आणविक बम बनाउनबाट रोक्न आवश्यक परे त्यहाँको सरकारलाई ‘पूर्ण रूपमा ध्वस्त’ पार्ने विषयमा समेत आफूले विचार गरिरहेको बताएका थिए ।
तर इरानले आफ्नो आणविक कार्यक्रमबारे वार्ता गर्न तयार रहेको स्पष्ट संकेत दिएको छैन । तेहरानसँग नियमित सम्पर्कमा रहेका मध्यपूर्वका सरकारी अधिकारीहरूका अनुसार इरानी नेतृत्व लामो समयसम्म अमेरिकी नाकाबन्दी वा पुनः सुरु हुन सक्ने अमेरिकी हवाई आक्रमण सामना गर्न सकिने विश्वासमा छ ।
ती अधिकारीहरूका अनुसार इरानको शक्ति अहिले इस्लामिक रिभोलुसनरी गार्ड कोरको हातमा बढी केन्द्रित भएको छ । यो सैन्य तथा आर्थिक शक्ति भएको संगठन पश्चिमसँग सम्झौता गर्ने विषयमा लामो समयदेखि कडा धारणा राख्दै आएको छ ।
यद्यपि, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले आइतबार इरान वार्ताका लागि तयार रहेको बताएका छन् । तर उनले कुनै पनि नयाँ आक्रमणको जवाफ इरानले त्यहीअनुसार दिने चेतावनी पनि दिएका छन् । उनले अमेरिकी मिडियासँग कुरा गर्दै भनेका छन्, ‘हामी युद्ध पुनः सुरु हुन सक्ने अवस्थाका लागि पूर्ण रूपमा तयार छौँ । नयाँ आक्रमण भए, त्यो विनाशकारी युद्धमा परिणत भए पनि हामी दृढतापूर्वक सामना गर्नेछौँ । तर हामी कूटनीतिका लागि पनि तयार छौँ । अब निर्णय राष्ट्रपति ट्रम्पको हातमा छ ।’
संयुक्त राष्ट्रसंघको महासभापछि अराघ्ची थप वार्ताका लागि न्युयोर्कमै बसेका छन् । तर अरब मध्यस्थकर्ताहरूका अनुसार ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि तेहरानले कुनै सम्झौता वा सहमति अघि सारेको छैन । पर्सियन गल्फ क्षेत्रका अरब अधिकारीहरूका अनुसार वार्ता अघि बढाउन अमेरिकाले पहिले केही छुट दिनुपर्ने इरानको माग छ ।
इरान र अमेरिकाबीच सन्देश आदानप्रदान गराउने प्रमुख देशमध्ये कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले द्वन्द्व समाधान गर्न समय बित्दै जाँदा झन् कठिन हुँदै गएको बताएका छन् । उनका अनुसार द्वन्द्व अन्त्य गर्ने स्पष्ट रणनीति नै अहिलेको अभाव हो ।
ट्रम्प भने कूटनीतिबाट समस्या समाधान हुनेमा विश्वस्त छैनन् । ‘द वाल स्ट्रिट जर्नल’ पत्रिकाका अनुसार उनले आफ्ना कर्मचारीसँग पुनः बमबारी अभियान सम्भावित रहेको बताएका छन् ।
शुक्रबार ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका थिए । उक्त प्रस्तावअनुसार वार्ताका लागि सात दिनको समय दिन होर्मुज जलडमरू खुला गर्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने व्यवस्था थियो ।
अमेरिका र खाडी क्षेत्रका अधिकारीहरूका अनुसार अमेरिकी नौसैनिक नाकाबन्दीले इरानी अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । साथै, इरानले होर्मुज जलडमरूमाथिको नियन्त्रण पनि गुमाउँदै गएको उनीहरूको दाबी छ । यो मार्गबाट विश्व अर्थतन्त्रका लागि अत्यन्त महŒवपूर्ण ठूलो मात्रामा कच्चा तेल ओसारपसार हुन्छ । यसले वार्ताको टेबुलमा इरानको दबाब घटाएको विश्लेषक उमेर करिमले बताएका छन् ।
इरानले भने ट्रम्पले जुन महिनामा सहमति जनाएको समझदारीमा फर्कन अमेरिकासँग माग गरिरहेको छ । त्यस समझदारीअन्तर्गत होर्मुज जलमार्ग पुनः खोल्ने, पछि आणविक वार्ता सुरु गर्ने, केही प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएको इरानी अर्बौं डलर फुकुवा गर्ने र अमेरिकी नाकाबन्दी हटाउने व्यवस्था थियो । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प अहिले उक्त समझदारीमा फर्कन चाहँदैनन् । बरु अमेरिकाले इरानमाथि प्रतिबन्ध थप कडा बनाउँदै नाकाबन्दी कायम राखेको छ ।
मध्यपूर्वको एक सरकारी उच्च अधिकारीका अनुसार इरान यस वर्ष उपराष्ट्रपति जेडी भान्ससँग भएको वार्तामा आफ्नो आणविक कार्यक्रममा केही समझौता गर्न तयार हुने अवस्थामा पुगेको थियो । तर कुनै सम्झौता भए पनि त्यसपछि इजरायलले पुनः आक्रमण नगर्ने स्पष्ट आश्वासन इरानले खोज्ने ती अधिकारीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्