काठमाडौं । पछिल्लो अविरल वर्षाले विद्युत् उत्पादन तथा प्रसारण संरचनामा मात्रै ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढी र प्रसारण संरचनामा आएको क्षतिका कारण गण्डकी क्षेत्रमा मात्रै ३ सय २५ मेगावाट क्षमताका पाँच आयोजना सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार सुपर मादी ४४ मेगावाट, माथिल्लो मादी २५ मेगावाट, मादमे खोला २९ मेगावाट, सिक्लेस १२ मेगावाट र नामार्जुन ११ मेगावाटका आयोजना सञ्चालन गर्न नसकिने गरी क्षतिग्रस्त भएका छन् । यसैंगरी १४.८ मेगावाटको घारखोला पनि सञ्चालन गर्न नसकिने गरी क्षतिग्रस्त भएको छ ।
त्यस्तै मस्र्याङडी करिडोरका ७० मेगावाटको मिडिल मस्र्याङडी, ५० मेगावाटको माथिल्लो मस्र्याङडी र ६९ मेगावाटको मस्र्याङडी पनि सञ्चालन गर्न नसकिने भएको छ ।
क्षतिग्रस्त आयोजनामध्ये केही तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जानकारी उनले दिए । उत्पादन केन्द्रमा प्रत्यक्ष क्षति नभएका आयोजनासमेत प्रसारण लाइन र सबस्टेसनमा क्षति पुगेपछि विद्युत् प्रणालीबाट अलग भएका छन् । यसले आगामी सुक्खायाममा आन्तरिक उत्पादन घटाउने र भारतबाट विद्युत् आयातमा निर्भरता बढाउने चुनौती थपेको छ ।
कुस्मा–दाना क्षेत्रमा पनि उत्पादनभन्दा प्रसारण संरचनाको क्षतिले ठूलो प्रभाव पारेको छ । कुस्मा–दाना २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेपछि निलगिरी–१, निलगिरी–२, मिस्त्री, थापाखोला, रेलेखोला र घलेम्दी लगायतका आयोजनाको विद्युत् प्रसारण अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । सो क्षेत्रको प्रभावित उत्पादन क्षमता ३५८.२ मेगावाट पुगेको छ ।
राहुघाट–माथिल्लो राहुघाट प्रसारण लाइनमा आएको समस्याले माथिल्लो राहुघाट ४८.५ मेगावाट, राहुघाट मंगले ३५.५ मेगावाट, ठूलोखोला २१.३ मेगावाट, माथिल्लो ठूलोखोला २२.५ मेगावाट र राहुघाट ४० मेगावाट प्रभावित भएका छन् । राहुघाट आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टरबाइन फ्लोरमा पानी पसेकाले सफाइ र मर्मतपछि मात्रै उत्पादन सुरु हुने अवस्था छ ।
कुस्मा–दाना क्षेत्रमा १४.८ मेगावाटको घारखोला आयोजना पनि सञ्चालन गर्न नसकिने अवस्थामा छ । समुद्रटार क्षेत्रमा तादी थाप्रेक ५ मेगावाट, माथिल्लो तादी ११ मेगावाट र तादी खोला ५ मेगावाट गरी २१ मेगावाट तथा मोदी क्षेत्रमा मिडिल मोदी १८ मेगावाट र लोअर मोदी–१ १० मेगावाट गरी २८ मेगावाट क्षमताका आयोजना प्रभावित छन् ।
त्रिशूली करिडोरमा पनि बाढीको प्रभाव गम्भीर छ । रसुवागढी १११ मेगावाट, सान्जेन ७८ मेगावाट, माथिल्लो त्रिशूली–३ए ६० मेगावाट, लोअर सान्जेन ४२.५ मेगावाट, त्रिशूली २४ मेगावाट, नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाटको सोलार आयोजना, चिलिमे २२.१ मेगावाट, लाङटाङ २० मेगावाट, अपर सान्जेन १४.८ मेगावाट, माथिल्लो मैलुङ १४.३ मेगावाट, देवीघाट १४.१ मेगावाट र मैलुङ खोला ५ मेगावाट प्रभावित भएका छन् । यी आयोजनाहरूको कुल क्षमता ४३०.८ मेगावाट छ ।
उत्पादन क्रमशः फर्किँदै
अविरल वर्षाका कारण आकस्मिक रूपमा बन्द भएका केही विद्युत् केन्द्र भने क्रमशः सञ्चालनमा आउन थालेका छन् । सेती–मादी करिडोरमा अवरुद्ध २६२ मेगावाट तथा मस्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाट क्षमताका केन्द्र पुनः सञ्चालनमा आएका छन् ।
१४४ मेगावाटको कालिगण्डकी ‘ए’ पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । राहुघाट सबस्टेसनमा जोडिएका आयोजनामध्ये ४० मेगावाटको राहुघाट बाहेक १२७ मेगावाट क्षमता सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।
तर प्रणालीबाट पूर्ण रूपमा बाहिर रहेका आठ आयोजनाको कुल क्षमता मात्रै २३० मेगावाट छ । उत्पादन केन्द्र मर्मत गरेर मात्रै समस्या समाधान नहुने अवस्थामा प्रसारण लाइन तथा पहुँच सडकको पुनर्निर्माणसमेत आवश्यक पर्ने भएकाले कतिपय आयोजनाको पुनः सञ्चालन समय लम्बिन सक्छ ।
सुक्खायाममा आयातमै ठूलो भर
बाढीले उत्पादन तथा प्रसारण संरचनामा पु¥याएको क्षतिको असर आगामी सुक्खायाममा देखिने भएको छ । प्राधिकरणले पुस २०८३ देखि वैशाख २०८४ सम्मको माग–आपूर्ति व्यवस्थापनका लागि आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट उपलब्ध हुने अनुमान गरेको छ ।
माग धान्न भारतबाट विभिन्न नाकामार्फत १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना बनाइएको छ । ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट आयात गर्ने योजना छ ।
यसबाट कुल उपलब्धता करिब २ हजार ३७२ मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ । गत वर्षको उच्चतम राष्ट्रिय माग २ हजार २९२ मेगावाट पुगेको थियो । त्यसैले बाढीबाट क्षतिग्रस्त उत्पादन तथा प्रसारण संरचना समयमै पुनः सञ्चालनमा नआए सुक्खायामको आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्छ ।
हाल मुलुकको कुल स्थापित विद्युत् उत्पादन क्षमता ३ हजार ७३९.४० मेगावाट छ । मंसिर २०८३ सम्म थप ३२०.६० मेगावाट आयोजना प्रणालीमा जोडिने अनुमान प्राधिकरणको रहेको छ ।
वितरण प्रणाली पनि प्रभावित
बाढी तथा पहिरोका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्यूठान र रोल्पामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । म्याग्दी, बागलुङ, झापुटार र रुकुम पूर्वमा आपूर्ति पुनःस्थापित भइसकेको छ ।
मुस्ताङ, प्यूठान र रोल्पामा पनि क्रमशः आपूर्ति सञ्चालन गर्ने तथा मनाङमा त्यसपछि विद्युत् पुनःस्थापना गर्ने तयारी छ । वर्षा रोकिएसँगै अधिकांश क्षेत्रमा वितरण प्रणाली सामान्य बन्दै गए पनि क्षतिग्रस्त संरचना भएका स्थानमा प्राविधिक टोली परिचालन गरिएको छ ।
पुनर्निर्माणमा दोहोरो चुनौती
उत्पादन केन्द्र, सबस्टेसन र प्रसारण टावरमा भएको क्षतिसँगै पहुँच सडकसमेत अवरुद्ध भएकाले कतिपय आयोजनाको वास्तविक क्षतिको विस्तृत मूल्यांकनसमेत हुन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए ।
विशेषगरी कुस्मा–दाना, राहुघाट–माथिल्लो राहुघाट र कालिगण्डकी करिडोरका प्रसारण संरचनामा भएको क्षतिले एक आयोजनाको समस्या अर्को आयोजनाको उत्पादनमा समेत प्रभाव पार्ने जोखिम देखाएको छ । उत्पादन क्षमता उपलब्ध भए पनि प्रसारण गर्न नसक्ने अवस्था सिर्जना हुँदा जलविद्युत् आयोजनाको विद्युत् प्रणालीमा योगदान रोकिएको छ ।
प्राधिकरणले क्षतिग्रस्त संरचनाको तत्काल मर्मत, प्रसारण लाइन पुनःस्थापना तथा अवरुद्ध पहुँचमार्ग खुलाउने कामलाई प्राथमिकता दिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाढी–पहिरोले एकैपटक उत्पादन, प्रसारण र वितरण संरचनामा क्षति पु¥याएकाले पुनःस्थापनाको काम सामान्य मर्मतभन्दा जटिल बनेको छ ।
यसपटकको क्षतिले नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तारसँगै प्रसारण संरचना, पहुँच सडक, जोखिमयुक्त नदी करिडोरमा आयोजना निर्माण र विपद्पछिको आपत्कालीन पुनःस्थापना क्षमतालाई पनि समान प्राथमिकता दिनुपर्ने अवस्था देखाएको उनले बताए ।