काठमाडौं । सरकारले कोरला नाकाबाट ३४ करोड रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिका कारण अवरुद्ध बनेको रसुवागढी र तातोपानीको वैकल्पिक नाकाका रूपमा प्रयोग भएको मुस्ताङको कोरला नाकाबाट नेपाल–चीन व्यापार सुरु भएपछि सो नाकाबाट प्राप्त हुने राजस्व संकलन बढेको हो ।
भन्सार विभागले असोज ४ गतेसम्म यो नाकाबाट ३४ करोड ४७ लाख ४५ हजार दुई सय ५२ रुपैयाँ बराबरको राजस्व संकलन भएको जनाएको छ । सरकारले रसुवाको लेहेन्दे खोलामा आएको बाढी र तातोपानी नाकातर्फको कोदारी राजमार्गमा आएको पहिरोले चीनसँगको मुख्य व्यापारिक मार्ग पूर्णरूपमा बन्द भएपछि कोरला नाकालाई वैकल्पिक भन्सार नाका बनाउँदै व्यापार सुचारु गरी राजस्व संकलन बढाएको हो ।
भन्सार विभागका अनुसार कोरला नाका भदौ ३० गतेदेखि पूर्णरूपमा सञ्चालनमा आइसकेको छ । कोरला नाका हुँदै मुस्ताङ भन्सार कार्यालयमार्फत हालसम्म दुई सय नौवटा विद्युतीय गाडी र एक सय सातवटा मालवाहक ढुवानी सवारीसाधन नेपाल भित्रिएका छन् ।
प्राकृतिक विपत्तिले तातोपानी र केरुङ नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प बनेको थियो । त्यसपछि सरकारले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याएको हो । भन्सार विभागका अनुसार, कोरला नाकामा अहिले आधुनिक आशिकुडा प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ । यसले आयात–निर्यात प्रक्रियालाई डिजिटल बनाएको छ ।
नेपाल राष्ट्र बैंकको भदौ ३१ गते जारी गरेको परिपत्रअनुसार उक्त नाकाबाट पनि प्रतितपत्र (एलसी) प्रणालीमार्फत चिनियाँ भू–भागबाट सामान आयात गर्न सकिने व्यवस्था मिलाइएको छ । यससँगै कोरला नाकालाई औपचारिक अन्तर्राष्ट्रिय व्यापारिक नाका बनाउने दिशामा अगाडि बढेको भन्सार कार्यालयले जनाएको छ ।
मुस्ताङका स्थानीय तह र व्यवसायीहरूले पनि यो नाकाबाट व्यापार सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । भौगोलिकरूपमा दुर्गम भए पनि कोरला नाका विकल्प मात्र नभई सम्भावना बोकेको सशक्त वैदेशिक व्यापारिक केन्द्रका रूपमा स्थापित हुन सक्छ ।