नेभिगेशन
अर्थतन्त्र

करोडौँ खर्चिएको नगरपालिका भवन प्रयोगविहीन

सर्लाही । मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र परेको छ । अत्यधिक भिडभाड, साँघुरा कोठा तथा सेवा प्रवाहमा असहज भएपछि सर्लाही सदरमुकाम मलंगलामा आधुनिक सुविधा सहितको नयाँ भवन निर्माण गरिएको थियो । तर उक्त भवनमा नगरपालिकाको कार्यालय अझै सरेको छैन । 
मलंगवा नगरपालिका वडा नम्बर २ स्थित शिक्षा विकास समन्वय इकाई अगाडि निर्माण गरिएको तीनतले भवन निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सर्लाहीको मलंगवा नगरपालिकाले भ्याटबाहेक चार करोड बीस लाख बढी लागतमा भवन ड्रागन शिवालय जेभी, काठमाडौंले निर्माण गरेको सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको हो । नगरपालिकाका इन्जिनियरका अनुसार भवन निर्माण कार्य २०८०÷०८१ सालमै सम्पन्न भएको नगरपालिकाका इन्जिनियर सन्तोष सिंह बताए ।
मलंगवा नगरपालिकाको पुरानो भवनमा अत्यधिक भिडभाड, साँघुरा कोठा तथा सेवा प्रवाहमा असहज भएपछि मलंगवा नगरपालिका आधुनिक सुविधा सहितको नयाँ भवन निर्माण गरिएको थियो । तर उक्त भवनबाट हालसम्म सेवा सुरु भएको छैन । हाल मलंगवा नगरपालिकाका अधिकांश वडा कार्यालय भाडाका घर तथा अन्य सरकारी भवनबाट सञ्चालन हुँदै आएका छन् । जिल्लाकै पुरानो नगरपालिका मानिने मलंगवा नगरपालिका २०४७ सालमा स्थापना भएको हो । नगरपालिका स्थापना भयको ३६ वर्ष भयो । अहिले पनि पुरानो भवनबाट सेवा सञ्चालनका कार्य हुँदै आएका छन् । सेवाग्राहीको चाप बढ्दै जाँदा पुरानो भवन अपर्याप्त बनेपछि नयाँ भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भइसके पनि  प्रयोगमा नआएर वा हस्तान्तरण नभएर अलपत्र परेका भवनहरूले राज्यको ठूलो लगानी खेर फालिरहेका छन् ।
आवश्यक फर्निचर व्यवस्थापन तथा भवन परिसरमा कम्पाउड वाल निर्माण हुन नसक्दा कार्यालय सार्ने प्रक्रिया रोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झंकनाथ ढकालले बताए । भवनमा आवश्यक फर्निचर खरीद गर्न ठूलो रकम आवश्यक छ । साथै सुरक्षा व्यवस्थापनका लागि कम्पाउन्ड वाल निर्माण गर्नुपर्ने भएकाले तत्काल कार्यालय सार्न नसकिने बताए । नागरिक समाजका अगुवाहरू करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको भवन लामो समयसम्म प्रयोगमा नआउँदा जीर्ण बन्दै गएको बताउँछन् । उनीहरूले जनताको करबाट निर्माण गरिएका संरचना समयमै सञ्चालनमा नआउँदा भवन प्रयोगविहीन बनेको स्थानीय शिवचन्द्र चौधरीले बताए ।
मलंगला नगरपालिका अनुसार नयाँ भवनमा नगर कार्यपालिकाको कार्यालय सार्ने र हाल प्रयोग भइरहेको पुरानो भवनमा वडा नम्बर ३ र ९ को कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ । तर निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा नयाँ भवनबाट सेवा सञ्चालन रोकिएको हो ।
करोडौँ रुपैयाँ लगानी भइसकेको भवन लामो समयसम्म प्रयोगमा नआउँदा लगानीको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ । स्थानीयवासीले निर्माण सम्पन्न भइसकेको भवनलाई आवश्यक व्यवस्थापन गरी तत्काल सञ्चालनमा ल्याउन स्थानीय कैमूल हुसेनले नगरपालिकासँग माग गरेका छन् । जनताको सेवा सहज र प्रभावकारी बनाउन निर्माण गरिएको भवन नै प्रयोगविहीन अवस्थामा रहनु दुःखद् भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्