नेभिगेशन
नेपाल

थप विद्युत् लैजान भारतलाई आग्रह

काठमाडौं (संवाददाता) - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले थप विद्युत् निर्यातको अनुमति दिन भारतसमक्ष आग्रह गरेका छन् । घिसिङले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग आइतबार ऊर्जा मन्त्रालयमा भएको भेटमा थप चारवटा जलविद्युत् आयोजनाको विद्युत् लैजान आग्रह गरेका हुन् ।

मन्त्री घिसिङलेले दशैं, तिहारमा उद्योग कलकारखाना बन्द हुने हुँदा आन्तरिक विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन भनेका हुन् । अहिले नेपालले बंगलादेशमा ४० मेगावाटसहित भारततर्फ एक हजार एक सय ६५ मेगावाट विद्युत् निर्यातको लागि स्वीकृति पाएको छ । थप चार आयोजनाको एक सय ३८ मेगावाट विद्युत् निर्यातको स्वीकृतिका लागि भारत समक्ष प्रस्ताव पेश गरिएको छ ।

राजदूत श्रीवास्तवले निर्माण प्रस्तावित ४०० केभी इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको अध्ययन सम्पन्न भएको जानकारी गराएका छन् । यस्तै, जेनजीको आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परे सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवले बताएको मन्त्रालय स्रोतले बताएको छ ।

भारतको लगानीमा नेपालमा अगाडि बढेका पूर्वाधार आयोजनाको प्रगतिको अवस्थाबारे राजदूत श्रीवास्तवले चासो व्यक्त गरेका छन् । विभिन्न चरणमा अगाडि बढिरहेका आयोजनाको अवस्थाबारे बुझेका हुन् । 

उनले नेपाल–भारतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा भइरहेको सहकार्यका विषयमा छलफल गरेका छन् । भेटमा उनले भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा घिसिङलाई सोधेका थिए ।

मन्त्री घिसिङ र राजदूत श्रीवास्तबीच ऊर्जा तथा जलस्रोत क्षेत्रका द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण) को नहरबाट नेपालतर्फ पानी पठाउने विषयमा पनि छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तर्देशीय प्रसारण लाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायतका विषयमा पनि छलफल भएको छ ।

भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरू चिरञ्जीवी चटौत, सन्दीप कुमार देव, परराष्ट्र मन्त्रालय दक्षिण एसिया महाशाखाका शाखा अधिकृत प्रतिक कार्कीको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्