नेभिगेशन
राजनीति
कांग्रेस महाधिवेशन

कार्यतालिका परिवर्तन, अधिवेशनमा कतै सहमति कतै विवाद

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । काठमाडौंमा १८ असोजबाट सुरु हुनेगरी नयाँ तालिका सार्वजनिक गरिएको हो । यसअघि असोज १६ बाट अधिवेशन शुरु गर्ने तालिका थियो । 
पार्टीको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले मंगलबार विज्ञप्ति जारी गर्दै असोज १५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन गर्ने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेसन दर्ता १६ र १७ गते हुनेछ ।  असोज १८ गते दिउँसोको २ बजे खुल्ला मञ्च, टुँडिखेलमा महाधिवेशनको उद्घाटन गरिने उल्लेख छ । 
महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते हुने छन् । कांग्रेसले निर्वाचनको कार्यक्रम असोज २१ र २२ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । देशका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण महाधिवेशन १६ गतेबाट सरेको कांग्रेसले बताएको छ । केन्द्रीय महाधिवेशनमा सात हजारको संख्यामा प्रतिनिधि आउने कांग्रेसले बताएको छ ।
‘कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत वडा र गाउँ नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् । यसै बीच देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी प्राप्त भएको छ,’ निर्वाचन समितिले भनेको छ । यस परिस्थितिलाई मध्यनजर गरी पार्टीसंगको समन्वयमा महाधिवेशनका कार्यक्रमको तालिकामा केही परिवर्तन गरिएको जनाइएको छ । 
कतै हात हालाहाल,कतै तालाबन्दी
महाधिवेशनअन्तर्गत धेरै जिल्लामा नेतृत्व सर्वसम्मत चयन हुँदा केही जिल्लामा भने विवाद देखिएको छ ।  मंगलबार मोरङ, दैलेख, सुनसरी, काभ्रे र सिन्धुपाल्चोकमा निर्वाचन तथा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद देखिएको हो । 
मोरङ–१ मा क्षेत्रीय सभापति चयनका विषयमा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू र सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच मञ्चमै विवाद भएको छ ।  ५ आकांक्षीमध्ये ३ जना पछि हटेपछि अर्जुनकुमार तुम्रुक र चाम्लिङ प्रतिस्पर्धामा थिए । सोमबार तुम्रुकलाई सर्वसम्मत सभापति बनाउने सहमति भए पनि चाम्लिङले सहमति नमान्ने बताएपछि विवाद बढेको हो । सहमति सार्वजनिक गर्ने कार्यक्रममा चाम्लिङलाई लिम्बूले मञ्चबाट हटाउन खोजेपछि भनाभन भएको थियो । लिम्बूले भने अनुमति नलिई मञ्च कब्जा गर्न खोजिएपछि हस्तक्षेप गरेको बताएका छन् ।
दैलेख–२ मा सर्वसम्मतिको नाममा महाधिवेशन प्रतिनिधि चयन गर्न खोजिएको भन्दै उम्मेदवारहरूले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । मनोनयन दर्ता गरेका २२ उम्मेदवारले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै क्षेत्रीय, जिल्ला र केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका छन् । 
त्यस्तै, सुनसरी–४ मा मतदानका क्रममा फर्जी मतपत्र भेटिएको आरोपपछि दुई पक्षबीच हात हालाहाल भएको छ । क्षेत्रीय सभापति ऐयुव अन्सारीले गफार अन्सारी समूहले आक्रमण गरेको आरोप लगाएका छन् भने गफार समूहले अन्सारीले मतपेटिका लात्ताले हानेर निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ ।
काभ्रे–२ मा सहमतिका नाममा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया रोकिएको भन्दै विवाद छ । उम्मेदवारी दर्ता गरेपछि नामावलीसम्म प्रकाशन नै नगरी निर्वाचन सििमतले महाधिवेशन प्रतिनिधि घोषणा गरेको छ । त्यसमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेकाहरुले असन्तुष्टि जनाएका छन् । 
सिन्धुपाल्चोक–२ मा पनि विवाद भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि अधिवेशन नै रोकिएको छ । दुवै पक्षबीच सहमति भएपछि मात्रै मतदान अघि बढ्ने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसका विभिन्न क्षेत्रीय अधिवेशनमा सहमति, निर्वाचन प्रक्रिया र मतपत्रलाई लिएर विवाद देखिएपछि अधिवेशन व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्