नेभिगेशन
नेपाल

शेयरबजारमा आन्दोलन बिर्साउने ११९ अंकको बढोत्तरी

काठमाडौं, ५ असोज -  गतसाता बिहीबार एकैदिन ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २५११.१९ विन्दुमा झरेको नेप्से यस साताको पहिलो कारोबार दिन भने उच्च अंकले बढ्यो । जेनजी आन्दोलनका कारण भदौ २४ देखि बन्द रहेको बजार बिहीबारदेखि खुलेको हो । आन्दोलनबाट निजी उद्योग व्यवसायमा ठूलो क्षति पुगेपछि लगानीकर्ताले शेयरको बिक्री बढाएका थिए । त्यहीकारण बिहीबार सूचकमा तीनपटकसम्म नकारात्मक सर्किट लागेर निर्धारित समयअगावै कारोबार बन्द भएको थियो ।

एक दिनमै उच्च अंकले बजार घट्दा तनावमा रहेका लगानीकर्तालाई आइतबारको कारोबारपछि भने राहत मिलेको छ । नेप्से ४.४४ प्रतिशत अर्थात् ११९.७० अंकले बढेर २६२३.६२ विन्दुमा फर्किएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले शेयरबजार सुधार कार्यदल गठन गरेर बजारप्रति सकारात्मक रहेको संकेत गरेपछि लगानीकर्ताको मनोबल बढेको हो । यस्तै शनिबार नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको कारोबारको औसत सूचक गणना गर्ने विधि खारेज गरिदिएकाले पनि लगानीकर्ता सकारात्मक देखिएका हुन् । कारोबार सुरु भएको केही मिनेट तिव्र उतारचढाव भएको बजार त्यसपछि सम्हालिँदै उच्च अंकले बढेर बन्द भयो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । जेनजी आन्दोलनअघि दैनिक औसत पाँच अर्बको कारोबार भइरहेकोमा आइतबार नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको दुई करोड ३२ हजार २२४ कित्ता शेयर किनबेच भएको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ४.३७ प्रतिशत बढेको छ । त्यस्तै साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक ४.३६ प्रतिशत, सेन्सिटिभ फ्लोट सूचक ४.१९ प्रतिशत बढेको छ ।

व्यापार समूह सर्वाधिक ८.६६ प्रतिशत बढेको छ । यो समूहमा रहेको विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन् । विशाल बजार कम्पनीको शेयरमूल्य ८.६१ प्रतिशत र साल्ट ट्रेडिङको ९.३० प्रतिशत बढेको छ ।

व्यापार समूहपछि लगानी समूहमा सबैभन्दा धेरै ७.६८ प्रतिशत बढेको छ । त्यसपछि विकास बैंक ६.०७, जलविद्युत् समूह ५.८३, जीवन बीमा ५.६६, फाइनान्स ५.५४, उत्पादन तथा प्रशोधन ४.८५, बैंकिङ ४.५२, लघुवित्त ३.६९ र होटल तथा पर्यटन २.३३ प्रतिशत बढेका छन् ।

जेनजी प्रदर्शनका कारण २० अर्ब बढीको दाबी परेपछि लगानीकर्ताले निर्जीवन बीमा कम्पनीहरूको शेयर बिक्री बढाएका छन् । निर्जीवन बीमा समूह ४.०२ प्रतिशत घटेको छ । कारोबारमा आएका १३ निर्जीवन बीमा कम्पनीहरूमध्ये ११ वटाको शेयरमूल्य घटेको छ भने दुई वटा बढेका छन् ।

एनएलजी र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य बढेको हो । यसदिन म्युचुअल फण्ड समूहमा पनि गिरावट आएको छ । कारोबार भएका २५२ कम्पनीमध्ये २२४ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । बजार बढे पनि यसदिन २८ कम्पनीका शेयरधनीले गुमाएका छन् । बजार बन्द हुँदासम्म नौवटा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । बाँकी २१ कम्पनीको शेयरमूल्य नौ प्रतिशतभन्दा धेरै बढेको छ । 

सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गुडवील फाइनान्स, शिवम् सिमेन्ट्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपी पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर बन्द भएको छ ।

सर्वाधिक मूल्य घट्ने पाँच कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटल छन् ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ८३ करोड १३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्सको ४८ करोड २६ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख, शिवम् सिमेन्ट्सको २७ करोड एक लाख र हिमालयन डिस्टिलरीको २४ करोड सात लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेडको नौ लाख १४ हजार ३६ कित्ता शेयर खरिदबिक्री भएको छ लगानीकर्ताको सम्पत्ति एक दिनमै एक खर्ब ८६ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ८५ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ६३ अर्ब रुपैयाँ बढेर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्