नेभिगेशन
राजनीति

देउवापक्षको महाधिवेशन प्रक्रिया आजबाट सुरु

उत्साहका साथ सहभागी हुन शशांकको अपील

काठमाडौं । कांग्रेसको इतर पक्षले बिहीबारबाट १५औं महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ ।  १५ औं महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबारबाट शुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन अपील गरेका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च मनोबल, उत्साह, जिम्मेवारीबोध र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु ।’
कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बिहीबारबाट प्रारम्भ हुने वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महŒवपूर्ण चरण भएको उनले बताएका छन् । कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५ औं महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।  
कांग्रेस संस्थापन पक्षले वडा र अधिकांश पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति संस्थापनको आजसम्म छ । यही असोज १८ गते २ बजे खुलामञ्च टुँडिखेलमा महाधिवेशन उद्घाटन गर्ने संस्थापनको कार्यसूची छ । 
संस्थापन महाधिवेशनको अन्तिम चरणमा पुग्दा इतरपक्षको भने अधिवेशन बल्ल शुरु भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्दैछन् । कोइरालाले बुधबार वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्नेगरी जिल्ला संयोजक तोकेका छन् । सबै जिल्लामा केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृत जिल्लाहरुमा पठाइएका छन् । 
देउवा पक्षीय अधिवेशनमा कोइराला पक्षलाई खुला
कांग्रेसमा पार्टी र देउवा पक्षको छुट्टछुट्टै महाधिवेशन आयोजना भएका बेला नेता शेखर कोइराला भने तटस्थ बस्ने भएका छन् । उनको सचिवालयका अनुसार कोइराला संस्थापन र देउवापक्ष कतैको अधिवेशनमा पनि सहभागी हुने छैनन् । कोइरालानिकट नेता कार्यकर्ताहरू भने संस्थापन र संस्थापनइतर पक्षको महाधिवेशनमा स्वविवेकका आधारमा सहभागी हुने छन् । कोइरालासँगै रहेका नेताहरु बलबहादुर केसी, बद्री पाण्डे, सञ्जय गौतमलगायत पनि पार्टी एकताका पक्षमा उभिएका छन् । संस्थापनको अधिवेशनमा सहभागी नभएका उनीहरु इतरको अधिवेशनमा पनि सहभागी नहुने तयारीमा छन् । ‘हामी केही नेताहरू दुवै महाधिवेशनमा सहभागी हुँदैनौं,’ कोइराला निकट नेता गौतमले भने, ‘नेता–कार्यकर्ताहरूलाई यो महाधिवेशनमा भाग लेऊ, अर्कोमा नलेऊ भनेर पनि भन्दैनौं, भनेका छैनौं । बरू स्वविवेकका आधारमा आफै निर्णय लिनुहोस् भनेका छौं ।’
कोइरालानिकट कतिपय नेता–कार्यकर्ता संस्थापन पक्षले असोज ३ देखि सुरू गरेको वडा अधिवेशनमा सामेल भएका थिए भने बिहीबारबाट शुरु हुर्ने वडा अधिवेशनमा पनि कोइरालानिकट कार्यकर्ताहरू सहभागी हुने देखिएको छ । उनीहरु अधिवेशनमा सहभागी हुन जिल्ला पुगिसकेका छन् । नेता शेखर कोइराला दुवै पक्षले अधिवेशन गर्दा पार्टी विभाजन हुने र आफू विभाजनको पक्षमा नरहेको भन्दै तटस्थ बसिरहेका छन् । उनले आफू पार्टी  एकताको पक्षमा सक्रिय हुने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्