नेभिगेशन
विश्व

आइम्याक्स प्रविधि लोकप्रिय बनाउने डेभिड रहेनन्

आइम्याक्स प्रविधिलाई विश्वव्यापीरूपमा हलिउडसम्म पुर्‍याउने अग्रणी व्यक्तिमध्ये एक डेभिड बेडफर्ड कीघ्लीको ७७ वर्षको उमेरमा गएको अगस्ट २८ मा प्रोस्टेट क्यान्सरका कारण निधन भयो । उनले आफ्नो करिअरभर ५०० भन्दा बढी आइम्याक्स चलचित्रमा प्राविधिक योगदान दिएका थिए र कम्पनीको पहिलो चिफ क्वालिटी अफिसरका रूपमा चिनिएका थिए ।

१९४८ अप्रिल १२ मा टोरोन्टोमा जन्मेका कीघ्ली, सानो उमेरदेखि नै फोटोग्राफीमा आकर्षित थिए । पारिवारिक कथाअनुसार, आठ वर्षको उमेरमा विवाह समारोहमा मुख्य भूमिकामा हुँदा पनि उनी फूलवाली पाट्रिसिया फाटभन्दा बढी आफ्नै नयाँ कोडाक ब्राउनी क्यामेरामा तल्लीन भएका थिए । पछि उनै पाट्रिसिया जीवनसाथी बनिन् । दम्पतीले १९७० मा विवाह गरे र त्यसपछि चलचित्र क्षेत्रमा सहयात्रा सुरु गरे ।

१९७१ मा ओन्टारियो सरकारले पर्यटन प्रवर्द्धनका लागि बनाएको डकुमेन्ट्री ‘नर्थ अफ सुपेरियर’ले कीघ्लीको जीवन बदल्यो । टोरोन्टोको सिनेस्फेयर थियटरमा प्रदर्शन गरिएको यो पहिलो आइम्याक्स चलचित्र थियो । त्यतिबेलाका दर्शकमध्ये भविष्यका प्रख्यात निर्देशक जेम्स क्यामरुन पनि थिए । कीघ्लीले त्यसपछि आइम्याक्स फिल्म ’क्याच द सन’मा सहायक निर्देशकका रूपमा काम पाए ।

उनी र पाट्रिसियाले पछि अन्तरिक्ष, प्रकृति, संगीत र सांस्कृतिक विषयमा आधारित सयौं आइम्याक्स फिल्म उत्पादन गरे । उनीहरूको कम्पनी डेभिड केली प्रोडक्सन्स १९८८ मा आइम्याक्सले खरिद गरेपछि उनीहरू स्थायीरूपमा कम्पनीभित्रै सामेल भए ।

आइम्याक्स प्रविधि सुरुमा डकुमेन्ट्रीमा सीमित थियो । तर १९९० दशकमा हलिउडले यसप्रति चासो देखाएपछि कीघ्ली अग्रणी सम्पर्क व्यक्ति बने । जेम्स क्यामरुनसँग मिलेर उनले द टाइटानिक र अवतारजस्ता फिल्मलाई विशाल पर्दामा ल्याउन सहयोग गरे । विशेषगरी, उनी निर्देशक क्रिस्टोफर नोलनसँग नजिक भए । 

२००८ को द डार्क नाइट फिल्ममा पहिलोपटक आइम्याक्स क्यामेरामा हलिउड फिचर फिल्म खिचिँदा, प्राविधिक समाधान खोज्ने जिम्मेवारी कीघ्लीकै थियो । उनी मृत्यु हुनुभन्दा तीन हप्ताअघिसम्म पनि नोलनको आगामी फिल्म द ओडेसीको दैनिक फुटेज जाँचिरहेका थिए ।

नोलनले श्रद्धाञ्जली दिँदै भनेका छन्, ‘डेभिड मेरा आइम्याक्स गुरु थिए । उनको अनुभवले हामीलाई यो जटिल तर अद्भुत ढाँचालाई हलिउड कथा भन्न प्रयोग गर्न सम्भव बनायो ।’

कीघ्ली केवल प्रविधि र उत्पादनमै सीमित रहेनन् । आइम्याक्स चलचित्रको अन्त्यमा देखिने सन्देश उनको इमेलमा आउँथे । कृपया आइम्याक्सको गुणस्तरका बारेमा हाम्रा चिफ क्वालिटी अफिसरलाई बताउनुस् । त्यसपछि उनलाई पठाइने इमेल ठेगाना पनि दिइएको हुन्थ्यो । 

आएका इमेल उनी स्वयंले पढ्थे । ध्वनि, रङ वा सिनेमा हलका कुर्सीको असजिलोजस्ता गुनासोसमेत उनले व्यक्तिगत रूपमा जवाफ दिने गर्थे । उनकी श्रीमती पाट्रिसियाले भनिन्, ‘डेभिडले आफ्नो जीवनभर दर्शककै लागि काम गरे ।’

जेम्स क्यामरुनले भनेका छन्, ‘डेभिडको ठूलो क्षमता भनेको फिल्मलाई दर्शकको नजरले कल्पना गर्ने थियो । हामी निर्माता–निर्देशकहरूले सयौंपटक देखिसकेका हुन्छौं, तर उनी भने हरेकपटक पहिलो अनुभवलाई सम्झने कोसिस गर्थे । यही कारण उनले सधैं बाल्यकालको विस्मयलाई जीवित राखे ।’ 

डेभिड कीघ्ली पछाडि उनकी पत्नी पाट्रिसिया, छोराहरू जफ र क्रिस, छोरी जेनिफर बाँकी छन् । उनीसँगै आइम्याक्स प्रविधिमा गरेको योगदानलाई फिल्म उद्योगले ‘स्वर्णयुगको आधार’ भनेर सम्मान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्