नेभिगेशन
अर्थतन्त्र

काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने

काठमाडौं । काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ । 
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणालीसम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका लागि विहिवारदेखि असोज २६ सम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ । विद्युत प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक कार्य गरिनेछ । विहिवारदेखि क्रमशः सतुंगल बौथली क्षेत्र, मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र, मुलपानी क्षेत्र, गर्जुधारा क्षेत्र, मुलपानी क्षेत्रमा लाइन कटौती हुनेछ । त्यस्तै, असोज २१ मा बलम्बु क्षेत्र, असोज २२ मा कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ मा सिफल क्षेत्र, असोज २५ मा सतुंगल धौलागिरी आवास क्षेत्र र असोज २६ मा धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ । मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् आपूर्ति कटौती गरिने छैन । 
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो । दोस्रो चरणमा काठमाडौं जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको छ । कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टेजका विद्युत् लाइनहरू भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ । भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा अभिवृद्धि हुनुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्नेछ । सडक तथा सहरी क्षेत्रमा विद्युत, टेलिफोन र इन्टरनेट सेवा प्रदायकका तारहरू जथाभावी तथा गुजुल्टिएर रहँदा उत्पन्न हुने अव्यवस्थित दृश्यलाई समेत भूमिगत प्रणालीले व्यवस्थित गर्न सहयोग गर्नेछ । यसबाट काठमाडौं उपत्यकाको सहरी सौन्दर्य अभिवृद्धि हुनुका साथै व्यवस्थित र आधुनिक विद्युत् वितरण प्रणाली निर्माणमा योगदान पुग्ने प्राधिकरणको अपेक्षा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्