नेभिगेशन
राजनीति
कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

गगन बन्लान् सर्वसम्मत सभापति ?

काठमाडौं । पार्टीको १५औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला छुट्टै गतिविधि गरिरहेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि आफ्नो पक्षमा कार्यकर्ता बढाउँदैछ । धेरैजसो अगुवा नेता–कार्यकर्ता संस्थापन पक्षमा खुलेर आउन थालेपछि सभापति गगन थापालाई सजिलो भएको देखिएको छ । तर, आसन्न महाधिवेशनबाट उनी सर्वसम्मत सभापति बन्लान् भन्नेमा अझै केही प्रश्न छन् । 
प्रश्नहरु देउवाका कारण मात्रै नभई कोइरालाका कारण पनि उठेका हुन् । अघिल्लोपटक विशेष महाधिवेशनका बेला नेता डा. शेखर कोइराला न देउवातर्फ लागे न त विशेष महाधिवेशनको माग गरिरहेकाहरुतर्फ । स्थिति बिग्रिएपछि उनी देउवाकहाँ पुगे, पार्टी फुट्नु हुँदैन भने । यसपटक पनि उनी कतै नलागी आफ्नो धार छुट्टै भएको दाबी गरिरहेका छन् ।
केही अघिसम्म देउवा र कोइरालाको पक्षमा खुलेका नेता–कार्यकर्ता संस्थापनतर्फ आएका छन्, जसले गर्दा पार्टी महाधिवेशन आयोजनामा बल पुगेको देखिएको छ । युवा पुस्ताले ठाउँ नदिएको गुनासो गरिरहेका केही पुराना नेताहरु भने देउवाको साथ छाड्न तयार देखिएका छैनन् । ती नेताहरुका कारण देउवा पुराना कार्यकर्ता आफ्नो पक्षमा आउनेमा आशवादी देखिएका छन् । 
पार्टीको संस्थापन पक्षले महाधिवेशनको तयारी धमाधम अघि बढाएको छ । पार्टी  प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले महाधिवेशनका लागि विभिन्न देशबाट अतिथिहरू आउने क्रम नै सुरु भइसकेको जानकारी दिए । 
काठमाडौंको भृकुटीमण्डपमा मञ्च निर्माण भइरहेको छ । महाधिवेशनबारे जानकारी दिन शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । अधिकांश नेताहरू महाधिवेशनमा सहभागी हुने र केही निजी आकांक्षा राख्नेहरू बाहिर रहने प्रवक्ता चालिसेले बताए । उनको भनाइ अलग अधिवेशनमा लागेका शेरबहादुर देउवा समूहतर्फ थियो । 
नवीन ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै उनले पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आह्वान गरिसकिएको जानकारी दिए । ‘महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने’ सम्भावना रहेको उनले बताए । 
देउवा पक्षको ३१९१ वडामा अधिवेशन
कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर समूहले बिहीबार १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शुरु गरेको छ । देशभरका ३ हजार १ सय ९१ वडामा अधिवेशन सम्पन्न भएको जनाइएको छ । 
संस्थापनले महाधिवेशन उद्घाटनको तयारी गरिरहँदा इतरपक्षको समानान्तर अधिवेशन शुरु भएको हो । आगामी मंसिर २१–२३ मा हुने केन्द्रीय महाधिवेशनका लागि वडा अधिवेशन थालिएको हो । केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार हालसम्म कुल ६७४३ वडामध्ये ३१९१ वडामा अधिवेशन सकिएको छ । 
प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा ५७७, मधेसमा ४०२, बागमतीमा ५६३, गण्डकी ३८६, लुम्बिनी ५५०, कर्णाली २५७ र सुदूरपश्चिम प्रदेशमा ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडाहरूमा आगामी आइतबारसम्म सक्ने  तालिका छ ।  समितिले रसुवा र बागलुङका केही वडामा अधिवेशन स्थगित भएको जनाएको छ । रसुवामा बाढीपहिरो र बागलुङमा पार्टीका नेता मणिभद्र शर्मा कँडेलको श्रीमतीको निधनका कारण आज हुन नसकेको अधिवेशन शुक्रबारका लागि तय गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्