नेभिगेशन
विश्व

जे हुनु त्यो १४ मिनेटमा भयो

गत बुधबार बिहान दुबईबाट तेलअभिभतर्फ उडेको फ्लाईदुबईको एफजेड–१०७३ विमान केही घण्टासम्म सामान्य यात्रामै थियो । बोइङ ७३७ म्याक्समा १७४ जना यात्रु र चालकदलका सदस्य थिए । विमान करिब ३४–३५ हजार फिट उचाइमा साउदी अरबको आकाश पार गरिरहेको थियो । अचानक भएको घटनाले विमानलाई दुर्घटनाको मुखमा पु¥यायो । 
यात्रुका लागि त्यो केही मिनेटको घटना थियो । तर उडान निगरानीको तथ्यांकमा देखिएको करिब १४ मिनेटको उक्त अवधि अहिले संसारभर चासोको विषय बनेको छ । विमानको ट्रयाकिङ हराएको समयदेखि फेरि संकेत देखिनेसम्म वास्तवमा के भयो भन्ने सबै विवरण अझै अनुसन्धानकै क्रममा छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यात्रुका भनाइ, उडान तथ्यांक र अधिकारीका विवरण जोडेर के र कस्तो घटना थियो भन्ने कथानक बनाइरहेका छन् ।
फ्लाईदुबईको उक्त विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दा करिब साढे दुई घण्टा स्थिति सामान्य थियो । विमान क्रमशः ३४ हजार फिटभन्दा माथि पुग्यो । यात्रुहरू आ–आफ्नै धुनमा थिए । अचानक विमानको उचाइ तीव्र रूपमा घट्न थाल्यो । 
यो गति परिवर्तन अवतरणको सामान्य प्रक्रियाजस्तो थिएन । फ्लाइट ट्र्याकिङ तथ्यांकअनुसार विमान केही मिनेटमै हजारौं फिट तल पुग्यो ।  रोयटर्सका अनुसार विमान करिब ३० सेकेन्डमा १४ हजार फिटभन्दा बढी तल झरेको थियो । यात्रु अल्मोग इटालीले विमान केही समय २०–३० सेकेन्डसम्म तीव्र गतिमा झरेको र फेरि सन्तुलित भएको बताए । त्यसपछि फेरि झर्ने क्रम दोहोरिएको उनको भनाइ छ । 
यात्रुहरूले सुरुमा के भएको भन्ने भेउ पाएनन्, न अनुमान गर्न सके । तर केही बेरमै उनीहरूले अगाडिबाट अरु यात्रुहरू दौडिरहेको देखे । विमानको ककपिटमा केही गम्भीर भइरहेको थियो । को–पाइलटले मुख्य पाइलट स्मित मच्छरलाई  चक्कु प्रहार गरेका थिए । रगताम्य अवस्थामा ककपिटभित्रै ढलेका स्मितले सकीनसकी ककपिटको ढोका खोले । 
इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानका अनुसार ढोका खुलेपछि अगाडिका यात्रु र चालकदलका सदस्यहरू ककपिटभित्र पसे । कन्ट्रोल प्यानलतिर उभिएका को–पाइलटलाई नियन्त्रणमा लिए । 
उक्त विमानमा फ्लाईदुबईको अतिरिक्त चालकदल पनि यात्रा गरिरहेको थियो । ककपिटमा भएको संघर्ष नियन्त्रणमा आएपछि त्यही दलले विमानको नियन्त्रण सम्हाल्यो । उनीहरूले विमानलाई स्थिर बनाए र सुरक्षित अवतरणका लागि बाटो परिवर्तन गरे । 
यात्रुका अनुसार घटनाका बेला केहीबेर विमान माथि उठेजस्तो हुन्थ्यो, फेरि अचानक तल झथ्र्यो । सबै डराएका थिए । कोही चिच्याए, केही यात्रु उठेर ककपिटतिर दौडिए । त्यसरी दौडिएकाले स्थिति नियन्त्रणमा लिन सफल भए ।
यता जमिनमा भने अर्को तहको चिन्ता भइसकेको थियो । उडानको आपत्कालीन संकेत परिवर्तन भएको थियो । अल जजिराका अनुसार विमानले पहिले सामान्य आपतकालीन संकेत ७७०० र त्यसपछि अवैध हस्तक्षेप जनाउने ७५०० संकेत प्रसारण गरेको थियो । त्यसपछि विमान अपहरणको आशंका बढ्यो । इजरायली पक्षले लडाकु विमानसमेत परिचालन गरेको विवरण सार्वजनिक भयो । 
अतिरिक्त चालकदलले नियन्त्रण लिएपछि विमान साउदी अरबको तबुकतर्फ मोडियो । केहीबेर जोर्डनको आकाशमा प्रवेश गरेर फेरि साउदी हवाई क्षेत्रमा फर्कियो । अन्ततः तबुक विमानस्थलमा सुरक्षित अवतरण भयो । त्यसपछि यात्रु र चालकदल ओर्लियो । घाइतेलाई अस्पताल लगियो । 
अवतरणपछि मात्रै यात्रुहरूले आफूहरू कति ठूलो संकटबाट जोखिएको हो भन्ने प्रष्ट थाहा पाए । यात्रुमध्येका इटालीले विमान साउदीमा अवतरण भएपछि आफूहरूलाई चिकित्सकीय सहायता, खाना र अन्य आवश्यक सहयोग दिइएको बताएको रोयटर्सले उल्लेख गरेको छ । उनका अनुसार घटना निकै डरलाग्दो थियो, तर यात्रुहरूबीच एकअर्कालाई सहयोग गर्ने वातावरण थियो । 
स्मितको साहसको यतिबेला प्रशंसा भइरहेको छ । स्मित मच्छर भारतीय नागरिक एवं फ्लाईदुबईका बोइङ ७३७ विमानका क्याप्टेन हुन् । उनी सन् २०२२ देखि उक्त वायुसेवामा कार्यरत छन् । त्यसअघि करिब ११ वर्ष स्पाइसजेटमा काम गरेका मच्छरसँग ९ हजार ७५० घण्टाभन्दा बढी बोइङ ७३७ उडान अनुभव रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी स्पाइसजेटमा वरिष्ठ कमान्डर र उडान प्रशिक्षकसमेत थिए । उपचार भइरहेका उनको अवस्था स्थिर रहेको रोयटर्सले जनाएको छ ।
आक्रमणकारी भनिएका को–पाइलटको नाम सार्वजनिक गरिएको छैन । घटनाको उद्देश्य के थियो भन्ने निष्कर्ष आउन बाँकी छ । इजरायली अधिकारीहरूले विमान दुर्घटनाग्रस्त बनाउने प्रयास भएको बताएका छन् । तर फ्लाई दुबई र यूएईका अधिकारीहरूले अनुसन्धान पूरा नभएसम्म अनुमान नगर्न आग्रह गरेका छन् । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्