नेभिगेशन
अर्थतन्त्र

करिब ६ महिना रहेको भुक्तानी अवधि हाल एक महिनाभित्र

काठमाडौं । दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाएको जनाएको छ ।
किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले गत वर्ष सोही अवधिमा करिब ६ महिना रहेको भुक्तानी अवधि हाल एक महिनाभित्र झारेको दावी गरिएको छ । आगामी असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य लिइएको छ ।
दूधको गुणस्तर सुधारका लागि फ्याट तथा एसएनएफको मापदण्ड परिमार्जन गरी उच्च गुणस्तरको दूध खरिदलाई प्राथमिकता दिइएको छ । ७ दशमलव ८ प्रतिशतभन्दा कम एसएनएफ भएको दूधमा सहकारी सञ्चालनबापत दिइने टीएस रकम रोकिएको छ ।
बजारीकरणतर्फ अघिल्लो आर्थिक वर्षको श्रावणको तुलनामा मोहीको बिक्री १३३ प्रतिशत, याक चिज ५० प्रतिशत र फ्रेश मिल्क २१ प्रतिशतले वृद्धि भएको छ । दैनिक बिक्री राजस्व करिब ९० लाख रुपैयाँ पुगेको छ भने काठमाडौं उपत्यकामा २२ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । संस्थानले दैनिक बिक्री राजस्व १ करोड २० लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ ।
त्यस्तै, खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार श्रावणको अन्तिममा ४२० केजी घिउ निर्यात गरिएको संस्थानले जनाएको छ ।
संस्थानले खर्च नियन्त्रणका लागि कम दूध संकलन हुने चिस्यान केन्द्रलाई नजिकका केन्द्रमा गाभ्ने, सहकारी संघबाट सिधै दूध खरिद गर्ने तथा वित्तीय र प्रशासनिक सुशासनमा जोड दिने नीति अघि बढाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्