नेभिगेशन
अर्थतन्त्र

दूरसञ्चार सेवाको गुणस्तर खस्क्योः  सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गरेका छन् । 
टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेश गर्न निर्देशन दिए । 
सञ्चारसचिव राजेन्द्रकुमार पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलगायत मन्त्रालय र प्राधिकरणका विभिन्न पदाधिकारी सम्मिलित छलफलका क्रमका सञ्चारमन्त्री डा तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर खस्किँदै गएको उपभोक्ताको बुझाइ रहेको र काठमाडौँ उपत्यकाजस्तो क्षेत्रमा समेत टेलिफोन तथा इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको बताए । 
‘दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेका छैनन् । त्यसमा जसरी पनि सुधार गर्नैपर्नेछ । नागरिकका आकांक्षा पूरा गर्ने गरी काम गर्नुको विकल्प छैन,’ उनले भने ।
‘टेलिफोन सेवाको गुणस्तर कस्तो छ भनेर प्राधिकरणबाट नियमित अनुगमन निरीक्षण भएको देखिएन । तपाईहरुले आफ्नो नियामकीय दायित्व पूरा गरेर गुणस्तरका सवालमा निर्मम भएर कारबाही गर्नुहोस्,’ सञ्चारमन्त्री तिमिल्सिनाले प्राधिकरणलाई भने ।
उनले फोरजी सेवा विस्तार तथा फाइभजी सेवा सुरु गर्ने विषयमा पनि प्राधिकरणले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्ने पनि बताएका थिए ।  फोरजी सेवाको पहुँच विस्तार, विद्यमान सेवाको गुणस्तर सुधार तथा फाइभजी प्रविधि कार्यान्वयनका लागि आवश्यक तयारी र नियामकीय प्रक्रियालाई स्पष्ट कार्ययोजनासहित अघि बढाउनुपर्ने उनले बताए ।
प्राधिकरणका अनुसार गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन तथा ड्राइभ टेस्टका उपकरण पर्याप्त छैनन् । दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न आवश्यक क्षमता र उपकरण प्राधिकरणसँग पर्याप्त नभएको तथा उपकरण खरिदका विगतका केही प्रक्रिया कानुनी विवादमा परेका कारण पनि गुणस्तर परीक्षण तथा अनुगमनमा समस्या रहेको जानकारी गराइएको थियो ।
प्राधिकरणले दूरसञ्चार सेवा गुणस्तरसम्बन्धी मापदण्ड जारी गरिसकेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न नसकेको स्वीकारेको छ । विद्यमान व्यवस्थाअनुसार सेवा प्रदायकले आफैँ ड्राइभ टेस्ट गरी प्रत्येक तीन महिनामा प्राधिकरणलाई गुणस्तरसम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको प्राधिकरणले जानकारी गराएको थियो । सेवा गुणस्तर न्यून भएको पाइएमा सम्बन्धित सेवा प्रदायकलाई सचेत गराउने गरिएको पनि प्राधिकरणले जनाएको छ । सेवा गुणस्तर सुधारका लागि सेवा प्रदायकले पूर्वाधारमा थप लगानी गर्नुपर्ने भए पनि पर्याप्त लगानी हुन नसकेको प्राधिकरणको भनाइ थियो ।
त्यस्तै, प्राधिकरणका पदाधिकारीले दूरसञ्चार सेवामा आवश्यक फ्रिक्वेन्सी पर्याप्त रूपमा उपलब्ध गराउन सकिएमा सेवा गुणस्तरमा सुधार ल्याउन सहयोग पुग्ने जानकारी गराएको थियो । सेवाको माग बढ्दै गए पनि पूर्वाधार र नेटवर्क क्षमतामा सोहीअनुसार लगानी हुन नसक्दा केही क्षेत्रमा गुणस्तरको समस्या देखिएको प्राधिकरणको भनाइ थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तरका विषयमा प्राधिकरणले देशभर नियमित अनुगमन तथा निरीक्षण गरिरहेको जानकारी दिए । उनले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तरको नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए । छलफलमा प्राधिकरणको स्तरीकरण महाशाखाका निर्देशक मिनप्रसाद अर्याल, सेवा गुणस्तर स्तरीकरण शाखाका सहायक निर्देशक सुगन शाक्य, विवेकनाथ महासेठलगायत सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्