काठमाडौं – समाजसेवी विष्णुप्रसाद पोखरेलले श्रीराम आधारभूत विद्यालय पासिकोटमा १ लाख १ हजारको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको आन्तरिक खर्च जुटाउन सहयोग पुगोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको पोखरेलले जानकारी दिए ।
आठ कक्षासम्म पढाइ हुने बूढानीलकण्ठ नगरपालिका – ४ स्थित सो विद्यालयमा १ सय ६५ जना विद्यार्थी पढ्छन् । विद्यालयमा अक्षयकोष राखिदिने पोखरेल पहिलो व्यक्तित्व रहेको प्रधानाध्यापक जानुका दाहाल निरौलाले बताइन् । सरकारी विद्यालयमा अतिरिक्त खर्चका लागि आवश्यक स्रोत जुटाउन कठिन छ । यस्तो अवस्था चिर्न समुदायको सहयोग अपरिहार्य रहने निरौलाको भनाइ छ ।
‘समुदायमा कसरी प्रभावकारी रुपमा जाने भन्ने छलफल चलिरहँदा उहाँले स्कुललाई सहयोग गर्ने मनासाय व्यक्त गर्नुभयो र अक्षय कोष निर्माणको उपाय सुझ्यो’, उनले भनिन् । अक्षयकोष बापतको रकम बैंकमा मुद्दती खातामा जम्मा गरिने र त्यसबाट आएको रकमले छात्रवृत्ति, स्टेसनरीको जोहो गरिने उनले बताइन् ।
महोत्तरीको बिजलपुरामा जन्मिएर सर्लाहीको बरहथवामा लामो समय बिताएका ८६ वर्षीय पोखरेलले विगतमा पनि बिजलपुरामा जनता उच्च माध्यमिक विद्यालय स्थापना गर्न आफ्नो जग्गा र सम्पत्ति दान दिएका थिए । सर्लाहीको सहिद गङ्गालाल चक्रबहादुर अमात्य मावि स्थापनामा पनि उनले सम्पत्ति दान दिएका थिए । पोखरेलले रेडक्रस भवन र अन्य सामाजिक संस्थालाई पनि सहयोग गर्दै आएका छन् ।
‘सरकारी स्कुलमा भौतिक पूर्वाधार राम्रो हुने र शिक्षक कर्मचारीलाई सरकारले तलब दिए पनि दैनिक प्रशासन चलाउन बजेटको अभाव हुने समस्या देशैभरि छ’, पोखरेलले भने, ‘सरकारी स्कुललाई समुदायकातर्फबाट सानोतिनो सहयोग गर्दा पनि ठूलो भरथेग हुने भएकाले अक्षयकोष राखिएको हो । भोलिका दिनमा अरू पनि जोडिनुहोला भन्ने आशा छ ।’
पोखरेल आफ्नो जीवनीलाई पुस्तकाकार कृतिका रूपमा ल्याउने तयारीमा छन् । उनले आफ्नो पुस्तकमा आफूले पचास वर्षअघि गाउँमा स्कुल स्थापनाको अनुभवदेखि हालको नेपालको शिक्षाको केही कमजोरीबारे पनि टिप्पणी प्रस्तुत गरेका छन् ।
‘देश बनाउने हो भने सिंगापुरले जस्तै शिक्षामा लगानी गर्नुपर्छ’, पोखरेलले भने, ‘हाल चीनको प्रगतिको आधार पनि शिक्षामा लगानी नै हो । हामीले पनि अब शैक्षिक गुणस्तरमा ध्यान नदिने हो भने देशको वास्तविक विकास हुन सक्दैन ।’