नेभिगेशन
राजनीति

कांग्रेसको १५औं महाधिवेशन आज

हालसम्मकै धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेसमा अन्ततः १५औं महाधिवेशनको आइतबार (आज) काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने भएको छ । महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजेदेखि सुरु हुनेछ । शनिबार बेलुकासम्म महाधिवेशन उद्घाटनको आवश्यक तयारी पूरा भएको पार्टीले जनाएको छ । 
विशेष महाधिवेशनबाट नेतृत्वमा आएको केन्द्रीय समितिलाई पूर्वसभापति शेरबहादुर देउवासँगै उनका समर्थक एक दर्जन हाराहारी पुराना नेताले ‘अमान्य’ भनिरहँदा पनि सभापति गगन थापा र उनको टिमले पार्टीलाई अन्ततः महाधिवेशन हुने अवस्थामा ल्याएका हुन् । महाधिवेशनसँगै कांग्रेस लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयनको नियमिततामा फर्किने भएको छ । भदौ २३ को अप्रत्याशित गोलीकाण्ड र २४ को जेनजी विद्रोहपछि यसपटक राष्ट्रिय राजनीतिमा एकाएक नयाँ दल रास्वपा शक्तिशाली भएर उदाउँदा कांग्रेसलाई आफ्नो शक्ति सञ्चय सजिलो देखिएको छैन । निर्वाचनले पुराना दलहरुको जनमत खुम्चिएको देखाउँदा पनि पुराना दलका अग्रज नेताहरु अझै पनि युवालाई नेतृत्वका लागि अघि सार्न उदार देखिएका छैनन् । यस्तो अवस्थामा ठूलो चुनौती लिएर सभापति थापा र उनको कार्यसमिति महाधिवेशनसम्म आइपुगेको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी,  प्रतिपक्षमा रहेका दलहरु एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, श्रम संस्कृति पार्टी लगायतका दलहरूलाई आमन्त्रण गरेको छ । यस्तै, छिमेकी देश भारत र चीनसँगै अमेरिका लगायतका आधा दर्जन बढी मुलुकहरूबाट पाहुना आमन्त्रण गरेको छ ।
महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारबाटै सुरू भएको छ । केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरू भएको हो । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औं महाधिवेशनको झोला पाउने छन् । नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ । महाधिवेशन प्रतिनिधिहरूको सहभागिता ऐतिहासिक रहने प्रवक्ता देवराज चालिसेले बताए ।  ‘७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू यसपटकको महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ । जुन नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो हो,’ उनले भने ।  शनिबार खुल्लामञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशनलाई नीति चयनको अधिवेशनका रुपमा परिणत गर्ने प्रयत्न गरिने बताए । ‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौं,’ उनले भने । 
यस्तो छ कार्यसूची
आइतबार उद्घाटन हुने महाधिवेशनको बन्दसत्र सोमबार र मंगलबार दुई दिन चल्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नेछन् । ती प्रतिवेदनमाथि भूगोलका आधारमा समूह विभाजन गरी तीन फरक हलमा डिजिटल बोर्डमार्फत छलफल गरिनेछ । यस्तै, निर्वाचन समितिले असोज १९ गते अपराह्न २ बजेदेखि ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा शुभेच्छुकहरूका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा निजी सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ भने ठुला बसहरूका लागि माइतीघरदेखि भद्रकाली खण्डको एक लेन तोकिएको छ ।
कांग्रेसले केही क्षेत्रमा अधिवेशन हुन बाँकी रहेको र त्यो संख्या १० भन्दामुनि नै रहेको पनि प्रवक्ता चालिसेले बताए । अधिवेशन सबैतिर ढिलामा पनि शनिबार रातिसम्म लगभग टुंगिने उनले प्रष्ट पारे । चालिसेले भने, ‘सिंगल डिजिटमा मात्रै अधिवेशन हुन बाँकी छ ।’
खाना पार्टीको, होटल खर्च आफ्नै 
कांग्रेसले यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिहरुका लागि खाना र आवासको व्यवस्था गर्ने गरेको थियो । तर, यसपटक महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूका लागि पार्टीले खानाको मात्रै व्यवस्था गरेको छ । प्रवक्ता चालिसेका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ ।
काठमाडौंको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रका होटल ‘बुकिङ’ गरिएको छ । 
केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समिति सदस्य रहेका नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लीलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौंका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको बताएका छन् ।
कोशी र मधेश प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलंकीमा बस्ने व्यवस्था गरिएको छ ।
यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ । महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैंले बेहोर्नुपर्ने छ । विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले बेहोर्ने छ । 
पदाधिकारीको संख्या बढाउने तयारी
महाधिवेशनको उद्घाटनसत्र सुरु हुनुअघि नै कांग्रेसले पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ । विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुला केन्द्रीय सदस्यको संख्या बढाउन सुझाव आएको बताइएको छ । समितिले पार्टीका संरचना र भ्रातृ संस्थाहरूलाई विधान संशोधनका लागि सुझाव आह्वान गरेको थियो ।
प्राप्त सुझावहरू एकीकृत गर्ने कार्य भएको र समितिको बैठक गरेर पार्टीमा पेस गर्ने मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलले जानकारी दिए । पदाधिकारीमा महिला संख्या थप्नुपर्ने, उपसभापतिमा एक जना महिला हुनुपर्ने विधानमा नै व्यवस्था गर्नुपर्ने विषय पार्टीमा उठेको छ । हालको विधानको व्यवस्था अनुसार दुई उपसभापति हुने प्रावधान छ । पदाधिकारीमा सहमहामन्त्री माथिका पदमा महिला कोटा छुट्टै हुने व्यवस्था गरिएको छैन ।
कांग्रेसको अहिलेको विधानअनुसार समावेशिताको आधारमा  ११ जना हुने व्यवस्था छ । सहमहामन्त्रीमा ३ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ । सहमहामन्त्री समावेशी क्लस्टरअनुसार जनजाति, महिला, खस आर्य, दलित, मधेसी, थारु र पिछडिएको क्षेत्र गरेर ८ जना निर्वाचित गर्ने हालको व्यवस्था छ । सह–महामन्त्री पदमा पनि खुला प्रतिस्पर्धाको व्यवस्था राख्नुपर्ने माग छ ।
खुला केन्द्रीय सदस्यको संख्या बढाउनु पर्ने विषय पनि कांग्रेसमा उठेको छ । खुला केन्द्रीय सदस्य ३५ जना हुने विधानको व्यवस्था छ । 
२३१ सदस्यीय केन्द्रीय समिति हुने गरी विधान संशोधन गरिएको छ । पदाधिकारी १७ सदस्यीय हुने व्यवस्था गरिएको छ । ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था राखिएको छ । ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य हुनेछन् । महामन्त्री गुरुराज घिमिरेले समितिले तयारी गरेपछि बन्दसत्रको हलबाट पारित भएपछि विधान संशोधन हुने बताए ।
केन्द्रमा हार्ने तल्लो तहको नेतृत्वमा स्वतः अयोग्य 
कांग्रेसको १५औं महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा गर्ने लहर देखिएको छ । पार्टीले केन्द्रीय कार्यसमितिमा हारेका नेताहरूले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ विज्ञप्ति जारी गर्दैै विधानको व्यवस्थालाई स्मरण गराएका छन् ।  केन्द्रीय कार्यसमितिका लागि आइतबारदेखि महाधिवेशन सुरु हुँदै छ भने जिल्ला र प्रदेश कार्यसमितिका लागि महाधिवेशनपछि निर्वाचन हुनेछ । हालसम्म जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिको अधिवेशन तोकिएको छैन । 
जिल्ला र प्रदेश समिति गठन हुँदा त्यहाँ रोकिन सक्नेहरु पनि अहिले केन्द्रीय समितिमा उम्मेदवार आकांक्षी देखिएका छन् । कतिपयले केन्द्रमा प्रयास गर्ने र नभए प्रदेश र जिल्लामा उम्मेदवार हुने बताइरहेका थिए ।  यसैलाई ध्यानमा राखेर निर्वाचन समितिले विधानको व्यवस्था स्मरण गराएको बताइएको छ । 
‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा सो भन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था छ,’  विधानमा छ । यही व्यवस्थाअनुसार, केन्द्रमा हारेका नेताले जिल्ला र प्रदेशमा पनि उम्मेदवार बन्न पाउने छैनन् । 
यससँगै महाधिवेशनमा पदेन प्रतिनिधिले पनि उम्मेदवार हुन नपाउने सदस्यसचिव कटुवालले बताए । ‘पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

पार्टीभित्र गगन थप मजबुत  
कांग्रेसको २५४औं महाधिवेशनबाट गगन थापालाई नै सर्वसम्मत सभापति बनाउने तयारी छ । गत पुस अन्तिम साता विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई १५औं महाधिवेशनले थप बलियो बनाएको छ । उनको  नेतृत्वमा बनेको समितिको वैधताको प्रश्न उठाइरहेकाहरु नै अन्तिममा नेतृत्व स्वीकार गरेर केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । १५औं महाधिवेशनको उद्घाटनसत्रसम्म पुग्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका ५० जनाभन्दा बढी केन्द्रीय नेता र हजारौं स्थानीय नेता–कार्यकर्ता समेट्न थापा सफल भएका छन् । 
उसो त अहिले पनि देउवा समूह भने बाहिर नै छ । थापाका लागि देउवा पक्षको गतिविधि भने चुनौतीकै रुपमा छ । तर, सभापति दोहोरिने थापाको चाहनामा भने चुनौती देखिएको छैन । पार्टीका महामन्त्री गुरुराज घिमिरे सभापतिका लागि थापालाई चुनौती नभएको ठान्छन् । उसो त विगतमा देउवासँग निकट रहेका बालकृष्ण खाँण, पुष्पा भुषाललगायतका नेताहरुले सभापतिको गगनको विकल्प नभएको बताएका छन् । तर, देउवा समूहमा लामो समय रहेका नेता किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । उनले थापालाई सर्वसहमत हुन रोकेपनि जितबाटै रोक्न नस्क्ने थापा निकट नेताहरुको दाबी छ । 
‘मलाई लाग्छ सभापतिलाई चुनौती छैन । कतिपय साथीहरूले किशोरसिंह राठौरजीको नाम पनि अघि सार्नुभएको छ । उहाँ पनि पुरानो साथी हुनुहुन्छ । उहाँले सभापतिमा उठ्ने इच्छा व्यक्त गर्नुभएको छ,’ महामन्त्री घिमिरेले भने, ‘तर मेरो आग्रह उहाँले चुनाव नलडेर गगनजीलाई सर्वसम्मत बनाउन प्रयत्न गर्दा राम्रो हुन्छ भन्ने हो । उहाँले अप्ठ्यारो समयमा हामीलाई साथ दिनुभएको छ । अर्को खेमाबाट आउनुभएको भए पनि विशेष महाधिवेशनमा सहभागी नभइकन पनि ‘म यहीँ बस्छु, अद्यावधिक गर्छु र चुनाव लड्छु’ भन्नुभएको छ । यो पनि राम्रो कुरा हो । तर मेरो आग्रह गगन थापालाई सर्वसम्मत बनाउन साथ दिनुहोस् भन्ने हो । चुनाव लड्नुभयो भने हामी रोक्न सक्दैनौँ ।’
विशेष महाधिवेशनबाट आएको नेतृत्व नै कांग्रेसको महाधिवेशनमा हाबी देखिँदा महाधिवेशनले थापालाई नै सभापतिमा अनुमोदन गर्नेमा थापा पक्ष ढुक्क छ । उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसहितका नेताहरु समेत थापाको निरन्तरताकै पक्षमा देखिँदा थापाको पल्लाभारी देखिएको छ । पार्टीमा सजिलोसँग थापाले नेतृत्वमा आउन पाएका होइनन्, युवालाई पालो दिन अनुदार ‘दाईहरुको’ पार्टीमा नयाँ पुस्ताको नेतृत्वको दाबेदारी चाहनेहरुले विशेष महाधिवेशनबाट आएकाहरुलाई अगाडि बढाउनुपर्ने लेखेका छन् ।  
उसो त अहिले अधिवेशनमा सहभागी भएर भूमिका नपाएका वा असन्तुष्ट बन्नेहरु देउवा पक्षले मंसिरमा गर्ने महाधिवेशनमा सहभागी हुनसक्ने सम्भावना भने जीवितै छ । देउवा पक्षका नेता प्रकाशशरण महत भन्छन्, ‘धेरै साथीहरू भ्रममा परेर उताको अधिवेशनमा सहभागी भएका साथीहरू पनि फटाफट, होइन हामीले त यो गलत गरेछौँ भनेर हाम्रो यो अधिवेशनको प्रक्रियामा वडादेखि नै संलग्न हुन थाल्नुभएको छ ।’ न्यायालयबाट न्याय पाएपछि पार्टीलाई मूल सिद्धान्त र आदर्शलाई केन्द्रबिन्दुमा राखेर अघि बढाइने बताए ।’ शेरबहादुरजीको नेतृत्वमा जुन १४ औँ अधिवेशन सम्पन्न भयो र उहाँ निर्वाचित हुनुभयो । उहाँले नै अब १५ औँ अधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने हो,’ उनले भने, ‘अहिले स्वतःस्फूर्त रूपमा देशैभरि पार्टीका साथीहरू यो अभियानमा जुट्नुभएको छ ।’
देउवापक्षको समानान्तर गतिविधि, आफैसँग रहेकाहरुको असन्तुष्टि र सर्वोच्च अदालतमा निस्सा पाएको विशेष महाधिवेशनको वैधताको प्रश्न भने गगनका लागि चुनौती बन्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्