काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ । कारागार कार्यालय नख्खुले शनिवार जारी गरेको पत्रअनुसार कारागार व्यवस्थापन विभागको निर्देशनमा भट्टलाई सक्कल फाइल तथा आवश्यक कागजातसहित सुरक्षाका साथ सिन्धुपाल्चोक कारागार पठाइएको हो ।
नख्खु कारागारका कारागार प्रशासक दीर्घराज उपाध्यायले हस्ताक्षर गरेको पत्रमा भट्टको बन्दी परिचय नम्बर ८४७३६१७ उल्लेख छ । पत्रमा उनलाई ‘थुनुवा’का रूपमा वर्गीकृत गर्दै मुद्दाको विवरणमा सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा उल्लेख गरिएको छ । पत्रको बोधार्थ उच्च अदालत पाटन, विशेष अदालत काठमाडौं, कारागार व्यवस्थापन विभाग तथा कारागार सुरक्षामा खटिएका सुरक्षा निकायलाई दिइएको छ ।
भट्टको कारागार स्थानान्तरण त्यतिबेला भएको हो, जतिबेला उनको थुनाको वैधतामाथि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट विचाराधीन छ ।
भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले असोज ८ मा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनेको थियो । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विशेष अदालत, प्रहरी प्रधान कार्यालय तथा केन्द्रीय अनुसन्धान ब्युरोलगायतलाई भट्टलाई थुनामा राख्नुको कानुनी आधार र कारण खुलाउन आदेश गरेको थियो ।
सर्वोच्चले भट्टसँग सम्बन्धित अन्य मुद्दाका मिसिलसमेत झिकाएर हेर्न आदेश दिएको थियो । त्यसैले कारागार स्थानान्तरणपछि सर्वोच्चमा विचाराधीन बन्दीप्रत्यक्षीकरण रिटको आगामी प्रक्रियालाई पनि चासोका साथ हेरिएको छ ।
एउटा मुद्दामा धरौटी, अर्कोमा थुना
भट्टमाथि एउटै प्रकृतिको होइन, विभिन्न कसुरसँग सम्बन्धित मुद्दा विभिन्न अदालतमा चलिरहेका छन् । धितोपत्र तथा बिमा कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको भए पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी तत्काल थुनामुक्त हुन सकेनन् ।
यसले भट्टको कानुनी अवस्थालाई जटिल बनाएको छ । एउटा मुद्दामा धरौटी पाए पनि अर्को मुद्दामा थुना आदेश कायम रहेसम्म त्यसबाट स्वतः रिहाइ हुने अवस्था हुँदैन ।
भट्ट र सुलभ अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि चलेको छ । विभिन्न वित्तीय कारोबार, कर्जा उपयोग तथा सेयर कारोबारसँग जोडिएका आरोपमा अनुसन्धानपछि मुद्दा दायर भएको हो। ती आरोपहरू अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेका छैनन् ।
प्रश्न सम्पत्तिको स्रोतमा
भट्टमाथि चलेको सम्पत्ति शुद्धीकरण मुद्दाको मूल प्रश्न भनेको उनको सम्पत्तिको स्रोत, त्यसको संरचना र विभिन्न कम्पनी तथा लगानीमार्फत भएको कारोबारसँग सम्बन्धित छ ।
अभियोगपत्रमा भट्टमाथि ठूलो रकम बराबरको बिगो मागदाबी गरिएको छ । अनुसन्धान निकायले उनको बैंकिङ कारोबार, कम्पनीमा रहेको स्वामित्व, सेयर लगानी, घरजग्गा तथा विभिन्न व्यावसायिक कारोबारलाई अनुसन्धानको दायरामा ल्याएको छ ।
यसै सन्दर्भमा भट्टको परिवारका सदस्य तथा उनीसँग सम्बन्धित व्यक्तिको नाममा रहेको सम्पत्ति र कम्पनीको स्वामित्व संरचनासमेत अनुसन्धानको विषय बनेको छ ।
श्रीमती र बुवाको नाममा सम्पत्तिको दाबी
भट्टको सम्पत्तिसम्बन्धी अनुसन्धानमा उनकी श्रीमती तथा बुवाको नाममा रहेको घरजग्गा र कम्पनीमा भएको स्वामित्वबारे प्रश्न उठाइएको दाबी गरिएको छ । परिवारका सदस्य तथा उनीसँग व्यावसायिक रूपमा जोडिएका व्यक्तिलाई कम्पनीको सेयर संरचनामा राखेर सम्पत्ति व्यवस्थापन गरिएको आरोप पनि भट्टमाथि लागेको छ ।
तर यस्तो आरोप आधिकारिक कागजात, अनुसन्धान प्रतिवेदन वा अदालतबाट भने भइसकेको छैन । त्यसैगरी, आदित्य आनन्दलगायत व्यक्तिलाई कम्पनीको सेयरधनी बनाइएको भन्ने दाबी पनि स्वतन्त्र रूपमा कम्पनी रजिस्ट्रारको अभिलेखबाट पुष्टि हुन बाँकी रहेको छ ।
सरकारी जग्गासम्बन्धी दाबी पनि अनुसन्धानकै विषय
भट्टसँग जोडिएका विभिन्न परियोजनामा सरकारी जग्गा प्रयोग वा अतिक्रमणको दाबीसमेत उठाइएको छ । लामाटार, गोदावरी, लप्सीफेदी तथा रामशाहपथमा प्रस्तावित विभिन्न परियोजनामा सरकारी जग्गा समावेश भएको भन्ने आरोप लगाइएको छ ।
लामाटार क्षेत्रमा ठूलो क्षेत्रफलमा टाउनसिप विकास गर्ने योजना, लप्सीफेदीमा प्रस्तावित परियोजना तथा रामशाहपथमा कर्पोरेट पार्क निर्माणसम्बन्धी दाबीहरू सार्वजनिक चर्चामा आएका छन् ।
चार मुद्दा, चार अदालत
भट्टमाथि अहिले मुख्यतः चार प्रकृतिका मुद्दा विचाराधीन छन् । सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा, बैंकिङ कसुरको मुद्दा उच्च अदालत पाटनमा तथा धितोपत्र र बिमा कसुरका मुद्दा काठमाडौं जिल्ला अदालतमा छन् । यीमध्ये प्रत्येक मुद्दामा कानुनी प्रक्रिया र थुनाको अवस्था फरक छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टसहित ३९ जना प्रतिवादी बनाइएका छन् । अभियोगपत्रअनुसार भट्टमाथि मात्रै करिब २६ अर्ब ६३ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । हिमालयन रि–इन्स्योरेन्स तथा सम्बन्धित सहायक कम्पनीबाट रकम दुरुपयोग, सेयर खरिद र वित्तीय कारोबारमार्फत सम्पत्ति शुद्धीकरण गरेको आरोप अभियोगपत्रमा लगाइएको छ । आरोप प्रमाणित भइसकेको भने होइन र मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
यही मुद्दामा असार ३ मा विशेष अदालतले भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतले जटिल वित्तीय कारोबार, सेयर बजारसँग जोडिएको कारोबार तथा ठूलो बिगो दाबीलाई थुनछेकको निर्णयका आधारमध्ये समेटेको विवरण सार्वजनिक भएको छ । त्यसयता दुवै डिल्लीबजार कारागारमा छन् ।
धरौटीमा छुटे पनि थुनामुक्त भएनन्
भट्ट र अग्रवालले अर्को कानुनी बाटो पनि पाएका थिए । धितोपत्र तथा बिमा कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । तर सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेकाले जिल्ला अदालतको धरौटी आदेशबाट उनीहरू तत्काल कारागारबाट बाहिरिन सकेनन् ।
यसले उनीहरूको मुद्दामा एउटा महत्वपूर्ण कानुनी अवस्था देखाउँछ । एउटा मुद्दामा धरौटी पाएर मात्र सबै मुद्दाबाट थुनामुक्त हुन नसकिने अवस्था देखिएको छ । एउटा मुद्दामा थुना कायम रहेसम्म अर्को मुद्दामा भएको धरौटी आदेशले तत्काल रिहाइको बाटो खोल्दैन ।
बैंकिङ कसुरमा पनि थुना
भट्ट र सुलभ अग्रवालसहित चार जनाविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा दायर भएको छ । अभियोगपत्रमा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ ७ पैसा बिगो मागदाबी गरिएको छ । आरोपअनुसार जगदम्बा स्टिल्सका नाममा लिइएको सहवित्तीयकरण कर्जा अन्य प्रयोजनमा प्रयोग गरी भट्टको इन्फिनिटी होल्डिङ्समा सेयर लगानी गरिएको थियो ।
यस मुद्दामा पनि उच्च अदालत पाटनले असार ५ गते भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । अर्थात् सम्पत्ति शुद्धीकरण मुद्दामा भएको थुना आदेशबाहेक बैंकिङ कसुरको मुद्दाले पनि उनीहरूको कानुनी अवस्थालाई थप जटिल बनाएको छ ।
सेयर कारोबारको अर्को फाइल
काठमाडौं जिल्ला अदालतमा विचाराधीन धितोपत्रसम्बन्धी मुद्दामा भट्टसहित करिब ८१ जना प्रतिवादी छन् । अभियोगपत्रमा भृकुटी स्टक ब्रोकिङमार्फत करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार, कृत्रिम कारोबार, उधारो सेयर खरिद–बिक्री तथा बजार हेरफेरको आरोप लगाइएको छ । यस मुद्दामा करिब १ अर्ब १४ करोड रुपैयाँ बिगो दाबी गरिएको विवरण सार्वजनिक भएको छ । आरोपहरू अदालतबाट प्रमाणित भइसकेका छैनन् ।
बिमा कसुरमा पनि छुट्टै मुद्दा काठमाडौं जिल्ला अदालतमा छ । हिमालयन रि–इन्स्योरेन्स तथा सम्बन्धित कम्पनीको रकम दुरुपयोगसँग जोडिएको आरोपमा भट्टसहित दर्जनौंलाई प्रतिवादी बनाइएको छ ।
अग्रवालको अवस्था पनि उस्तै
सुलभ अग्रवालको अवस्था पनि भट्टसँग मिल्दोजुल्दो छ । सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि करिब २५ अर्ब ५९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । विशेष अदालतले भट्टसँगै उनलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
धितोपत्र तथा बिमा मुद्दामा भने काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । तर सम्पत्ति शुद्धीकरणसम्बन्धी थुना आदेश कायम रहेकाले उनी तत्काल थुनामुक्त हुन सकेनन् ।