नेभिगेशन
दृष्टिकोण

राजनीतिक व्यवस्था र लोकतान्त्रिक दल

पृष्ठभूमि  
राजनीतिक दल लोकतन्त्रको प्राण मानिन्छ । राजनीतिक विचारधारा, जनताको विश्वास आदिका कारण राजनीतिक दल लोकतन्त्रको अपरिहार्य तत्व बन्न पुगेको छ । मानव समुदाय विचार समूहको रूपमा संगठित भए तापनि आधुनिक अर्थको राजनीतिक दलको अस्तित्व १७ शताब्दीदेखि थालनी भएको मानिन्छ । १८ औं एवं १९ औँ शताब्दीतिर उदय भएका नौला–नौला राजनीतिक चिन्तनहरूले दलहरू खुल्ने क्रमको विस्तार हुन थाल्यो । हाल राजनीतिक दलको अभावमा मानव सभ्यता अनुकूल मानिँदैन । निरङ्कुश एवं तानाशाही व्यवस्थाको रूपमा गणना गरिन्छ । हुन त  कतिपय मुलुकले एकमात्र राजनीतिक दलको सर्वोच्चतालाई स्वीकार गरेको पाइन्छ । तर तिनीहरूलाई पनि दल चाहिन्छ । हाल विश्वका कतिपय मुलुकले दलीय व्यवस्था अङ्गीकार गरेको पाइँदैन । विभिन्न कारणले त्यस्ता मुलुकहरू समृद्ध हुन सक्छन् तर विश्वव्यापी रूपमा प्रचलित लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकको रूपमा त्यस्ता मुलुकलाई लिइँदैन । संक्षेपमा दलको स्थापना वा दलको थालनीको इतिहास मानव सभ्यताको दृष्टिकोणले पुरानो मान्न सकिँदैन । मानव जातिको इतिहास लाखौँ वर्ष पुरानो मानिन्छ । त्यसमा पनि राज्य सरकार आदि राजनीतिक संरचनाको इतिहास मान्न हजारौँ वर्ष पुरानो मानिन्छ । यही परिप्रेक्ष्यमा दलको इतिहास भने केही सय पुरानो मान्न सकिन्छ । विचार, विचार समूहको इतिहासलाई प्रतिनिधित्व गर्ने दलको इतिहास भने केही शताब्दी पुरानो नै मान्न सकन्छ । 
आधुनिक दलको महŒव २१ औं शताब्दीमा राजनीतिक दल लोकतन्त्रको प्राण नै हो । राजनीतिक दलको महŒवपूर्ण पक्ष जनतालाई प्रतिनिधित्व गर्नु पनि हो । जनताको विचारको मतको संवाहक हो । राष्ट्रिय एकताको कार्य दलहरूले गर्ने गर्दछन् । राजनीतिक संस्कार प्रशीक्षणको कार्य पनि दलले गर्दछ । यही परिप्रेक्ष्यमा राजनिीतक दलले नेतृत्व चयन निर्माणको कार्य पनि गर्दछ । राजनीतिक दल एक प्रकारले तालिमकेन्द्र पनि हो । सरकार निर्माण, सरकारलाई जवाफदेही बनाउने काम पनि राजनीतिक दलले गर्दछ । राजनीतिक दलले मुद्दाको निर्माण एवं अन्य मुलुकसँग सुमधुर सम्बन्ध पनि बनाउँदछ । आवश्यकताअनुसार निर्वाचनमा भाग लिने, बहिस्कार गर्ने काम पनि गर्दछ । जनमत निर्माण गर्ने, समावेशिता, सहभागिता आदिको काम पनि राजनीतिक दलको महŒवपूर्ण कार्यहरूमध्ये नै हो । 
नेपाल र राजनीतिक दल 
नेपालमा राजनीतिक दलको इतिहास राणा शासनको अन्त्यकाल तिरबाट प्रारम्भ भएको हो । यस अर्थमा नेपालको राजनीतिक दलको इतिहासलाई पुरानो मान्न सकिँदैन । सामन्तवादले गहिरो जरा गाडेको सन्दर्भमा राजनीतिक गतिविधि, लोकतन्त्र एवं दलको परिप्रेक्ष्यमा अत्यन्त शून्य नै रहेको मानिन्छ । विश्वमा दोस्रो विश्वयुद्धताका लोकतन्त्र, साम्राज्यवादीविरोधी भावना, उपनिवेशवादको विरोध, राष्ट्रिय स्वाधीनता आदिको लहर नै चल्यो । खासगरी छिमेकी मुलुक भारतमा उपनिवेशबाट विरोधी आन्दोलनले नेपालमा गहिरो प्रभाव छाड्यो । भारतीयहरूको स्वाधीनताको आन्दोलनले नेपालमा प्रजातन्त्रको आन्दोलनको विकासमा गहिरो प्रभाव पा¥यो । राणाहरूको निरंकुश शासन व्यवस्थाको अन्त्यको लागि विभिन्न दल खुल्न थाले । यस क्रममा १९९३ जेठ २० गते टंकप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजा परिषद्को स्थापना काठमाडौँमा भयो । दशथर चन्द, धर्मभक्त, गंगालाल, शुक्रराज आदिहरू पनि सहभागी थिए । यसलाई नै नेपालको पहिलो संगठित राजनीतिक दल मानिन्छ । यसपछि नेपालमा राजनीतिक दलहरू खुल्न थाले । राणाहरूले दशरथ, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ एवं शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएपश्चात् नेपाली जनतामा राणाशासनको निरङ्कुशताप्रति घृणा एवं आक्रोश बढ्न थाल्यो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना २००३ साल माघ १२ गते कलकत्तामा बीपीको नेतृत्वमा स्थापना भयो । नेपाली प्रजातान्त्रिक कांग्रेसको स्थापना २००४ साल शुवर्ण शमशेरको नेतृत्वमा स्थापना भयो । यी दुवैको एकीकरण २००६ साल चैत्र २७ गते नेपाली कांग्रेसको नामबाट हुन गयो । यही क्रममा नेपाली कम्युनिस्ट पार्टीको स्थापना पुष्पलालको नेतृत्वमा २००६ कलकत्तामा भयो । राणा शासनको निरंकुश विरोधमा र सुरुमा केही दलहरू खुले तापनि २००७ सालपश्चात् राजनीतिक दलहरू खुल्ने क्रम बढ्न थाल्यो । मातृकाप्रसाद कोइरालाले १९५२ मा राष्ट्रिय प्रजा पार्टी, के.आई. सिंहले २६ जुलाइ मा संयुक्त प्रजा पार्टी, भरत शमशेरको नेतृत्वमा १९५२ मा गोर्खा परिषद् आदिहरू दलको रूपमा स्थापना भएको मानिन्छ । 
राष्ट्रिय स्वतन्त्र पार्टी 
हाल नेपालमा दलहरूको सङ्ख्या सयौँमा रहेको पाइन्छ । २०८२ सालको फागुन २ गते भएको निर्वाचनमा दलहरूले भाग लिएको कुरा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । दलहरूको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ दलकै रूपमा लिइन्छ । हुन त बिहान एउटा पार्टी साँझसम्म अर्को पार्टीमा सहभागिता हुने र अनुकूल अनेकौं पार्टी एउटै मोर्चामा आबद्ध भएको पाइन्छ । ठेगान गर्न गाह्रो भए तापनि नेपालमा दलहरू खुल्ने क्रम ज्यादै अनिश्चित एवं अकल्पनीय छ । जे होस् राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ दलकै रूपमा लिइन्छ । यसको स्थापना २०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा भएको हो । सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, जिम्मेवारी, जवाफदेहिता, राज्य सञ्चालनमा सकारात्मक परिवर्तन आदि आदिको नारा लिएर यो दल २०७९ को निर्वाचनमा भाग लियो । प्रत्यक्ष एवं समानुपातिक गरी रास्वपाले २० सिट प्राप्त ग¥यो । यसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरेर जम्मा २० सिट प्राप्त गरी प्रतिनिधिसभामा चौथो दलको रूपमा स्थापित भयो । कम्युनिस्टहरूको गठबन्धन एमाले माओवादी समाजवादी आदि गरी बनेको सरकारमा यसका संस्थापक अध्यक्ष गृहमन्त्री भए । रवि लामिछानेमाथि मुद्दा लाग्यो । सांसद पद गयो तर लगत्तै भएको उपनिर्वाचनमा रास्वपाले निर्वाचनमा भाग लिएर एउटा सिट बढाएर आफ्नो मत २१ पु¥यायो । रवि लामिछानेले पुनः चितवनबाट भारी मतले निर्वाचन जिते । स्वर्णिम वाग्ले पनि तनहुँबाट निर्वाचित भए । नेपालको राजनीतिमा देउवा, ओली र प्रचण्डबिचको सम्बन्ध अनौठो मानिन्छ । ओली, प्रचण्ड एवं देउवाको सत्तामोहले भ्रष्टाचार, अनैतिकता, निरङ्कुशताले सीमा नाघ्यो । यहीबीच रास्वपाका रवि लामिछानेलाई अनेकौं बहानामा मुद्दामा राख्ने जेल पठाउने काम केपी ओलीले गरिराखे । शेरबहादुरको मौन स्वीकृतिमा के.पी. अत्यन्त निरङ्कुश हुन थाले । रास्वपा संसदलगायतले सडकमा प्रतिवाद गरिराखेका थिए । यही क्रममा भाद्र २३ को घटना घट्यो । के.पी. भाग्नुप¥यो । हेलिकप्टर चढेर ज्यान जोगाउन सफल भए । २४ गतेको निन्दनीय घटना घट्यो । अन्तरिम सरकार बन्यो । प्रतिनिधिसभा विघटन भयो । साथै फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तय गरियो । फागुन २१ गते अनुमान विपरीत अत्यन्त पारदर्शी, निष्पक्ष, स्वतन्त्र एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न भयो । निर्वाचन बिथोल्न अनेकौँ प्रकारको षड्यन्त्र भएका थिए । सरकार आफ्नै दलले बनाउने घोषणा दलहरूले गर्दै थिए तर सबैको अनुमान विपरीत रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार बनायो । यो बहुमत भ्रष्टाचारको विरोधमा थियो, निरंकुशताको समाप्तिका लागि थियो, कुशासनको अन्त्यका लागि थियो । नयाँ उमङ्ग, जोश, आशा, उत्साह एवं भविष्यका लागि थियो । जनताको यो अभिमतमा पनि कम्युनिस्ट एवं अन्य दलहरूले अन्तर्राष्ट्रिय षड्यन्त्र देखे । जनताले तिरस्कार गरेको बुझ्न चाहेनन् । दल र सरकारबीचको सम्बन्ध अत्यन्त संवेदनशील हुन्छ । यसको तुलना गर्न पनि अत्यन्त कठिन हुन्छ । दल एवं सरकारको अभ्यास पनि मुलुकैपिच्छै अलग–अलग पाइन्छ । चीनमा कम्युनिस्ट पार्टीको महासचिव राष्ट्रपति हुन्छ । दल एवं सरकार एकाकार भएको पाइन्छ । अमेरिका, फ्रान्स, बेलायतमा कार्यशाली प्रमुख नै दलको प्रमुख जस्तो मानिन्छ । अर्थात् सिङ्गो दललाई राष्ट्रपति एवं प्रधानमन्त्रीले नै प्रतिनिधित्व गरेको पाइन्छ । अन्य अभ्यासमा दल एवं सरकारबीचको सम्बन्ध सरकार होस् वा पृथक् तर मूल कुरा के हो भने दल एवं सरकारबीच अत्यन्त गहिरो सम्बन्ध हुन्छ । दल सकिएको दिन सरकारको कुनै अर्थ हुँदैन तर शरीर सक्रिय छउन्जेल प्राणको जीवन्तता पनि हुन्छ । तसर्थ यी दुवैबीचको उचित सन्तुलित, उपयोगी स्नेही, विश्वासिलो, आत्मीय, पारदर्शी सम्बन्ध हुनुपर्छ । त्यसबेलासम्म शरीर एवं प्राण दुवै जीवन्त रहेको मानिन्छ । एउटाको प्रतिबद्धता अर्काको कार्यान्वयन दल र सरकारबीचको आत्मीय सम्बन्धको कसी यही नै हो । 
रास्वपा एवं वर्तमान सरकार 
नेपालमा हाल रास्वपाको सरकार छ । सरकार प्रमुख बालेन्द्र शाह छन् । शासनको केन्द्रबिन्दु निश्चय पनि बालेन्द्र हुन् तर रवि लामिछाने यस केन्द्रबिन्दुको धड्कन नै हुन् । सरकार निर्माण भएको दिनदेखि नै त्यसको पदावधि अन्त्यको थालनी हुन्छ । अन्त्य नकारात्मक नै हुन्छ भन्ने ठान्नु अत्यन्त गलत हुन्छ । अर्थात् आवधिक परिप्रेक्ष्यमा निर्माणसँगै अन्त्यको थालनी हुन्छ, यो स्वाभाविक प्रक्रिया हो । प्राकृतिक रूप हो । नेपालको सन्दर्भमा बालेन्द्रको नेतृत्वमा सरकार बनेको दिनदेखि यसलाई हटाउनका निमित्त षड्यन्त्रको थालनी हुन थाल्यो । सरकारले आफ्नो प्रतिबद्धता अभिव्यक्त ग¥यो । एमाले प्रवृत्तिकाहरू जनतिरस्कृत अवस्थामा पनि त्यही दिनदेखि अनेकौं षड्यन्त्रमा संलग्न भएको पाइन्छ । 
रास्वपाको सरकार निर्माणलगत्तै १०० बुँदे कार्यक्रम जनसमक्ष ल्यायो । तर यस सरकारले केही त्रुटिहरू पनि थालनीदेखि गर्न थाल्यो । के.पी., लेखक समातिनु अत्यन्त स्वाभाविक पक्ष हुँदाहुँदै पनि प्रमाणको अभावमा उनीहरूलाई सर्वोच्चले छाड्ने आदेश दिनु न्यायप्रेमी जनताको विश्वासमा ठूलो कुठाराघात भयो । सरकारको तयारी यसका लागि त्रुटिपूर्ण मान्न सकिन्छ तर नियम राम्रो थियो । यसैगरी अध्यादेश ल्याउने तर केही अध्यादेश कानुन बनेन । भत्काउने काममा शीघ्रता भयो तर निर्माणको काममा ढिला भयो । राजदूत, शिक्षा क्षेत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ । विष्णु पौडेल र विराटनगरको व्यापारीको धरपकड पनि विवादित बन्यो । सुकुम्बासी, सहकारी, मिटर ब्याजी आदि घटनाहरू घटित भए । उद्योगी, व्यापारी, राजनीतिक क्षेत्र, शिक्षा, पेशागत संगठनका कर्मचारी आदि–आदि क्षेत्रमा आतङ्कको निर्माण भयो । संसदमा रास्वपाका सदस्यहरूको परिपक्वताको अभाव देखियो । प्रतिपक्षीहरूले नराम्रो काम देख्न थाले र न्वारनको शक्ति लगाएर सरकारको विरोधमा लाग्न थाले । जनतिरस्कृत नेता एवं दलहरूले मोर्चा बनाउन थाले । हिजो सरकारमा भएको बेला गरेको अनेकौँ कुकर्म, अनियमिततालाई बिर्सिँदै कम्युनिष्टहरू एकताबद्ध हुन थाले । हनिमुन पिरियडको संसदीय अभ्यासलाई पनि बिर्से । रास्वपाका सांसदहरूले जनताहरूको सम्बन्ध संसदमा कसरी र के बोल्ने बारेमा अन्योल, दक्ष एक सरकारबीचको सम्बन्धलाई हेक्का राख्न सकेनन्, मन्त्रीहरू हटाउन प¥यो । यस्ता केही कमजोरीहरू सरकारबाट हुन पुग्यो । यो अपरिपक्वता अनुभवहीनताको परिणाम थियो । सँगैसँगै सरकारका अत्यन्त राम्रा कामहरू पनि भए । उपरोक्त कमजोरीका बाबजुद जनतालाई सरकारप्रति अगाध आस्था एवं विश्वासमा ह्रास आउनुको सट्टा झन् विश्वास बढ्न गयो । १०० बुँदे प्रतिबद्धता लागू गर्ने सरकारको नियत एवं प्रयासप्रति जनताले खुलेर समर्थन गरे । सुकुम्बासी, मिटरव्याजी, सहकारी क्षेत्रमा सार्थक सक्रियताको आभास भई कर्मचारीतन्त्रमा सकारात्मक सन्देश गयो । भ्रष्टाचारका घटनाहरू सुनिन छाडे । केही कामहरूको सन्देश राम्रो गएन तर राम्रा कामहरू भएको कारणले रास्वपा एवं सरकारप्रति जनताको विश्वास यथावत् नै रहेको स्थिति छ । 
दल र सरकार 
सरकारले गरेका कामहरूको मूल्याङ्कन निरपेक्ष रूपमा प्रतिपक्षले नकारात्मक गरेको पाइन्छ । जुत्ता, लुगा एवं चस्मामा केन्द्रित आलोचनाले प्रतिपक्षको स्तर प्रष्ट पारेको छ । सत्तामा हुँदा लेखा समितिको सभापति पनि सरकारकै दलको हुनुपर्ने, ३५ वर्षसम्म एकलौटी कुशासन, भ्रष्टाचार, निरंकुशतामा चुर्लुम्म डुबेका दलहरू रास्वपा सरकार निर्माण हुनासाथ एकै दिनमा एकै पटकमा सबै काम गर्नुपर्ने वकालत, शङ्खनाद प्रतिपक्षी दलहरूले गर्न थाले । प्रधानमन्त्रीको उत्तरदायित्व संसदप्रति हुनैपर्छ यसमा विवाद छैन तर प्रधानमन्त्री कार्यकारी प्रमुख पनि हो । मुलुकको शान्ति, सुरक्षा, आर्थिक मामिला, परराष्ट्र सम्बन्ध, प्रशासनिक कार्य, विभिन्न भेटघाट, विभिन्न कार्यहरूमा प्रधानमन्त्री व्यस्त रहनुपर्छ ।  यो कुराको हेक्का राख्नुपर्ने ठाउँमा प्रधानमन्त्रीको उपस्थितिलाई मुख्य मुद्दा बनाएर हिँड्ने काम गरियो । हिजोका प्रधानमन्त्रीहरूको तुलनामा वर्तमान प्रमुखको अवस्था, स्थिति, उत्तरदायित्व आदि फरक छ भन्ने कुराको हेक्का राखिएको एमाले कांग्रेसले गरेको बेल घेराउ बिर्सेर रास्वपाले गरेको विरोधको आलोचना मात्र गरियो । रास्वपाका सांसदहरू प्रतिपक्षी जस्ता देखिए । सरकारको कामको मूल्याङ्कन गर्दै टिप्पणी गर्नु, ध्यानाकर्षण गराउनुको सट्टा आफ्नै दलको सरकार ढाल्ने गरी संसद्मा प्रस्तुत हुने, उत्तेजनामा आउनु जस्ता अत्यन्त आपत्तिजनक एवं अनुभवहीनताको काम भयो । 
निष्कर्ष 
राजनीतिमा सधैँ चमत्कार हुँदैन । एउटै व्यक्तिको चमत्कार सधैँ कायम नरहन पनि सक्छ । दुर्घटना पनि घट्न सक्छ । दशकौंदेखि नेपाली राजनीतिमा देखा परेको पुराना अनुहारप्रति जनताको वितृष्णा छ, यो कुरा सबैले बुझ्नैपर्छ । थोरै आशा जगाएको छ तर मूल कुरा चामत्कारिक व्यक्तित्वको गतिले निर्भरता, नेतृत्वको नीति, व्यवहार एवं कार्यमा भरपर्दछ । नेल्सन मण्डेला विश्वकै लागि उदाहरणीय छन् । लेलिन, माओ, ली कुवान, महाधीर, बीपी, मनमोहन, मदनहरू उदाहरण हुन् तर यी सबै नेता दलभन्दा माथि थिएनन् । व्यक्तित्व बहुआयामिक थियो, त्यसकारण रास्वपालाई विभाजित गर्न अनेकौँ प्रकारको षड्यन्त्र भइराखेको छ । पार्टीमा भिन्न मत, विभिन्नता अत्यन्त स्वाभाविक कुरा हो । व्यक्तित्वको फरक अस्तित्व पनि प्राकृतिक कुरा नै हो तर सबैभन्दा महŒवपूर्ण पक्ष समन्वय, समझदारी, सहनशीलता, प्राथमिकता, सम्मान, आदर, धैर्यता, त्याग नै हो । तसर्थ पार्टीभन्दा माथि प्रधानमन्त्रीले ठान्नु र सर्वेसर्वा “म” नै हो सभापतिले ठान्नु अत्यन्त घातक हुन्छ । नियमित भेटघाट, अन्तरक्रिया, छलफल, प्रशिक्षण अत्यन्त आवश्यक छ । स्थानीय, प्रदेशको निर्वाचन नजिक छ । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै एमाले, नेपाली कम्युनिष्ट पार्टी एवं राप्रपाको गठबन्धनले संसार हँसाएको छ । गगनले सरकारमा नबस्ने निर्णय गरे, यो स्वागतयोग्य छ । जनताले कम्युनिस्टहरूलाई तिरस्कृत गरिसके । अझ गर्ने नै छन् । तसर्थ यस पृष्ठभूमिमा दल एवं सरकार एकअर्काप्रति अत्यन्त सकारात्मक, रचनात्मक ढङ्गले मिलेर रास्वपा एवं सरकार बन्नुपर्छ । प्राकृतिक विपत्तिलगायत सबै प्रकारको बाधा–अवरोधलाई चिर्दै यो सरकार अघि बढिराखेको छ । यसकारणले नेपाली जनताको आशा एवं भरोसा रवि, बालेन्द्र अर्थात् रास्वपा एवं यसको सरकारप्रति बढेको छ । आउँदो निर्वाचनमा जनताको सहयोग पाउने अनुमान गरिएको छ । तसर्थ पार्टी सदस्य शुभेच्छुक एवं नेपाली जनताको आशा, भरोसा एवं विश्वासलाई कायम राख्न रवि एवं बालेन सफल होऊन् शुभकामना ।
(लेखक राजनीतिशास्त्री समाजका अध्यक्ष हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्