काठमाडौं । नेपालका होटल, एयरलाइन्स, ई–कमर्स, ट्राभल, हस्तकला तथा सूचना प्रविधि व्यवसायले अब विदेशी ग्राहकबाट एप्पल पे र गुगल पेबाटै भुक्तानी लिन सक्ने भएका छन् । एनआईसी एशिया बैंकले आफ्नो साइबरसोर्स पेमेन्ट गेटवेमार्फत नेपालमै पहिलोपटक यी डिजिटल माध्यमबाट हुने भुक्तानी स्वीकार गर्ने सुविधा सञ्चालनमा ल्याएपछि नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय ग्राहकसँग कारोबार गर्ने थप बाटो खुलेको हो ।
नयाँ सुविधासँगै एप्पल पे वा गुगल पेमा भिसा तथा मास्टरकार्ड जोडिएका विदेशी ग्राहकले नेपालका आबद्ध व्यवसायबाट वस्तु तथा सेवा खरिद गर्दा भौतिक कार्ड निकाल्नुपर्ने छैन । मोबाइलमा सुरक्षित रूपमा राखिएको कार्डमार्फत एक–दुई चरणको प्रक्रियाबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
यस सुविधाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यसहित बैंकको साइबर सोर्स पेमेन्ट गेटवेमा आवद्ध भएका र हुन चाहने व्यवसायिक ग्राहकहरुले विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्न सक्ने एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र बहादुर रावलले बताए ।
एप्पल पे र गुगल पे विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन् । जसमा अन्तर्राष्ट्रिय ग्राहकहरुले भौतिक रुपमा कार्ड प्रयोग गर्नु पर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरुलाई एप्पल र गुगल एन्ड्रोइड मोबाइलमा टोकनाइज गरेर सरल तरिकाबाट भुक्तानी गर्न सक्नेछ । यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहक महानुभावहरुले बैंकको ई–कमर्स पेमेन्ट गेटवे साइबर सोर्समा आवद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरुबाट एप्पल पे र गुगल पेमार्फत भुक्तानी लिन सक्ने बताइएको छ ।
यस सुविधाले नेपाली व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित पेमेन्ट अनुभव सुविधा प्रदान गर्न सहयोग पु¥याउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताए । विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पु¥याउने अपेक्षा उनको रहेको छ ।
एनआईसी एशियाका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्यले अन्तर्राष्ट्रिय ग्राहकको बदलिँदो भुक्तानी शैलीलाई ध्यानमा राखेर सुविधा ल्याइएको बताए । उनका अनुसार ग्राहकले आफ्नो कार्ड एप्पल पे वा गुगल पेमा सुरक्षित रूपमा राखेपछि नेपालका आबद्ध मर्चेन्टमा सहजै भुक्तानी गर्न सक्छन् ।
‘एकपटक कार्ड एप्पल पे वा गुगल पेमा सुरक्षित रूपमा राखेपछि ग्राहकले कार्ड विवरण पटक–पटक राख्नुपर्दैन,’ उनले भने, ‘ट्याप एन्ड पे वा ई–कमर्समार्फत एक–दुई चरणमै भुक्तानी गर्न सकिन्छ।’
बैंकका अनुसार यो सुविधा तत्कालका लागि नेपालका व्यवसायीले विदेशी कार्डवाहकबाट भुक्तानी प्राप्त गर्ने व्यवस्थामा केन्द्रित छ । नेपालका बैंकले जारी गरेका डेबिट तथा क्रेडिट कार्डलाई एप्पल पे वा गुगल पेमा जोडेर प्रयोग गर्ने सुविधा भने अहिले उपलब्ध छैन ।
विदेशमा जारी भएका कार्ड प्रयोगकर्ताले भने नेपालका साइबरसोर्समा आबद्ध मर्चेन्टबाट सामान तथा सेवा खरिद गर्दा एप्पल पे वा गुगल पे प्रयोग गर्न सक्नेछन् । यसले नेपाल आउने विदेशी पर्यटकसँगै विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवारका लागि अनलाइनबाट सामान तथा सेवा खरिद गर्दा समेत सहज हुने बैंकले जनाएको छ ।
भुक्तानीको झन्झट घट्ने
परम्परागत अनलाइन कार्ड भुक्तानीमा ग्राहकले कार्ड नम्बर, म्याद सकिने मिति, सीभीभी र ओटीपी प्रविष्ट गर्नुपर्ने हुन्छ । यस्तो प्रक्रियामा विवरण प्रविष्ट गर्दा हुने त्रुटि तथा ओटीपी ढिला आउँदा कारोबार अधुरै छाडिने समस्या हुने गरेको बैंकले जनाएको छ ।
नयाँ सुविधामा भने ग्राहकले एप्पल पे वा गुगल पेमा राखेको कार्ड प्रयोग गर्न सक्नेछन् । उपकरणमै बायोमेट्रिक प्रमाणीकरण हुने भएकाले फिंगरप्रिन्ट वा फेस आइडीमार्फत कारोबार स्वीकृत गर्न सकिने बैंकको प्राविधिक टोलीले जनाएको छ ।
बैंकका प्राविधिक प्रतिनिधि बिपिन खत्रीका अनुसार टोकनाइजेसन प्रविधिका कारण ग्राहकको वास्तविक कार्ड नम्बर मर्चेन्टको वेबसाइट वा सर्भरमा भण्डारण हुँदैन । वास्तविक कार्ड विवरणको सट्टा सुरक्षित डिजिटल टोकन प्रयोग हुने भएकाले कारोबारको सुरक्षा बढ्ने उनको भनाइ छ । ‘बायोमेट्रिक प्रमाणीकरण र टोकनाइजेसनका कारण कार्डको वास्तविक विवरण मर्चेन्टको प्रणालीमा पुग्दैन,’ उनले भने ।
साइबरसोर्स पेमेन्ट गेटवेमा भिसा, मास्टरकार्ड र युनियनपेका कारोबारलाई समर्थन गरिएको बैंकले जनाएको छ । सन् २०२० देखि नेपालका विभिन्न व्यवसायलाई साइबरसोर्स सेवा उपलब्ध गराउँदै आएको बैंकका अनुसार हाल ७ सयभन्दा बढी मर्चेन्ट यस प्रणालीमा आबद्ध छन् ।
पर्यटन र निर्यातमा अवसर
बैंकले नयाँ सुविधालाई पर्यटन, आतिथ्य, निर्यात तथा ई–कमर्स व्यवसाय विस्तारसँग जोडेको छ । विदेशी पर्यटकले आफ्नै देशमा प्रयोग गर्दै आएको डिजिटल भुक्तानी माध्यमबाट नेपालका होटल, एयरलाइन्स, ट्राभल तथा ट्रेकिङ कम्पनी र अन्य व्यवसायलाई भुक्तानी गर्न सक्नेछन् ।
हस्तकला तथा अन्य नेपाली वस्तु विदेश निर्यात गर्ने व्यवसायका लागि पनि नयाँ सुविधा उपयोगी हुने बैंकको अपेक्षा छ । विदेशमा रहेका ग्राहकले परिचित भुक्तानी माध्यम प्रयोग गरेर नेपाली व्यवसायबाट सामान खरिद गर्न सक्ने भएकाले अन्तरदेशीय कारोबार विस्तारमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
सूचना प्रविधि तथा सफ्टवेयर सेवा निर्यात गर्ने व्यवसायले पनि अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी लिन यो प्रणाली प्रयोग गर्न सक्नेछन् । बैंकले यसबाट नेपाली व्यवसायलाई विदेशी ग्राहकसँग कारोबार गर्न थप सहज हुने जनाएको छ ।
बैंकका अनुसार साइबरसोर्समा ई–कमर्ससँगै एयरलाइन्स, होटल, ट्राभल तथा ट्रेकिङ, हस्तकला र सफ्टवेयर निर्यातसँग सम्बन्धित व्यवसाय आबद्ध छन् । दराज, फुडमान्डु, बुद्ध एयर, यती एयरलाइन्स र हिमालय एयरलाइन्सलगायत विभिन्न व्यवसायले साइबरसोर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका छन् ।
नयाँ सुविधा साना तथा ठूला दर्ता भएका व्यवसायले समेत लिन सक्ने बैंकले जनाएको छ । व्यवसायीले बैंकसँग आवश्यक सम्झौता तथा ग्राहक पहिचानसम्बन्धी प्रक्रिया पूरा गरेपछि आफ्नो वेबसाइट वा मोबाइल एपमा सेवा जोड्न सक्नेछन् ।
हाल बैंकले नयाँ सुविधाको एकीकरण शुल्क निःशुल्क गरेको जनाएको छ । मर्चेन्टलाई भने कारोबारको प्रकृति र परिमाणअनुसार मर्चेन्ट डिस्काउन्ट रेट लाग्नेछ । बैंकका अनुसार यस्तो शुल्क सामान्यतः कारोबार रकमको ३ देखि ४ प्रतिशतसम्म हुन सक्छ । ग्राहकलाई भने भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।
नेपाली कार्डका लागि अझै प्रतीक्षा
नयाँ सुविधा सुरु भए पनि नेपाली बैंकले जारी गरेका कार्डबाट एप्पल पे वा गुगल पे प्रयोग गर्ने व्यवस्था भने तत्काल सुरु भएको छैन । बैंकका अनुसार त्यसका लागि कार्ड टोकनाइजेसन तथा सम्बन्धित नियामकीय र प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
बैंकका अनुसार नेपाली कार्डवाहकले अहिले विदेशी ई–कमर्स प्लेटफर्ममा एप्पल पे वा गुगल पे प्रयोग गर्ने सुविधा पनि यस सेवाअन्तर्गत पर्दैन । हालको व्यवस्था नेपालका मर्चेन्टले विदेशी कार्ड प्रयोगकर्ताबाट भुक्तानी स्वीकार गर्नेमा सीमित छ ।
एप्पल पे वा गुगल पेले आफैंमा इसेवा वा खल्तीजस्ता स्थानीय भुक्तानी वालेटको भूमिका निर्वाह नगर्ने बैंकले स्पष्ट पारेको छ । यी माध्यममा प्रयोगकर्ताले आफ्नो कार्डलाई सुरक्षित डिजिटल रूपमा राख्ने र त्यसैमार्फत भुक्तानी गर्ने व्यवस्था हुन्छ ।
भुक्तानी प्रक्रिया भने सम्बन्धित कार्ड नेटवर्कमार्फत हुने बैंकले जनाएको छ । एप्पल पे वा गुगल पेले उपकरणमा ग्राहकको प्रमाणीकरण गर्न सहयोग गर्छन् । त्यसपछि कारोबार भिसा वा मास्टरकार्डजस्ता कार्ड नेटवर्कबाट प्रक्रिया हुन्छ र मर्चेन्टको खातामा रकम जम्मा हुन्छ ।
बैंकका अनुसार कारोबार फिर्ता गर्नुपरे मर्चेन्टले साइबरसोर्स पोर्टल वा एपीआईमार्फत पूर्ण वा आंशिक रिफन्ड गर्न सक्छन् । भिसाका नेपाल कन्ट्री म्यानेजर मनोज सराफले नयाँ सुविधाले नेपाली व्यवसायलाई विश्वभरका ग्राहकसँग जोड्न सहयोग गर्ने बताए । उनका अनुसार विश्वभर ग्राहकले दैनिक प्रयोग गर्ने सुरक्षित र सहज माध्यमबाट भुक्तानी गर्न चाहिरहेका छन् ।