काठमाडौं । कांग्रेसका सभापति गगन थापाले विगतका कमजोरी पहिचान गरेर हटाउदै दलहरू अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा पार्टीको १५औं महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले कांग्रेस अब अझ बलियो भएर अगाडि आउने उद्घोष गरे । विगतका राजनीतिक भागबण्डालाई जनताले नरुचाएको दलहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउँदै उनले कांग्रेसलाई जनअपेक्षाअनुसारको बाटोमा अघि बढाउने बताए ।
आफ्नो सम्बोधनमा उनले सरकार र संसद्को प्रभाविकारितामाथि पनि प्रश्न गरे । दुई तिहाइ नजिकको बलियो सरकार र प्रधानमन्त्री बालेन शाहमाथि प्रश्न उठाए । आफ्नो सम्बोधनमा उनले कांग्रेसको भावी कार्यदिशा, सरकार, संसद् र प्रधानमन्त्रीबारे चर्चा गरे ।
उनले खुला मञ्चमा उभिएर सम्बोधन गर्दै ‘यस्तै खुलामञ्च संसद्देखि सामाजिक सञ्जालसम्म चाहिएको’ बताए । प्रधानमन्त्री शाहको अनुपस्थितिले संसद् खुला नरहेको सन्देश दिइरहेको थापाको भनाइ थियो । उनले भने, ‘संसद् खुला छैन । संसद् बन्द छ, किनकी जुन संसद्ले, जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति र आफूलाई नबनाउने सांसद्का निम्ति पनि, यो संसद्को गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन । त्यो दिनसम्म संसद् खुला भएको हुँदैन ।’ संसद्भित्र सबै विचार व्यक्त हुने र फरक विचार पनि सुन्ने अभ्यास हुने गरी खुलामञ्च चाहिएको उनको भनाइ थियो । समुदायभित्र, पार्टीहरूभित्र र सामाजिक सञ्जालमा समेत यस्तो खुला मञ्च चाहिएको थापाले बताए ।
सभापति थापाले आफ्नो सम्बोधनमा जेनजी आन्दोलनको सन्दर्भमा पनि चर्चा गरे । पालैपालो मन्त्री, प्रधानमन्त्री भइरहने विगतको म्युजिकल चियरको प्रवृत्तिको परिणाम भदौ २३ र २४ गतेको घटना भएको आरोप उनले लगाए ।
सभापति थापाले अब कांग्रेसले लोकतन्त्रको कुरा मात्रै गरेर नपुग्ने भन्दै पार्टीलाई डेमोक्रेसी र डेलिभरिबीचको पुल बनाउने उद्घोष गरे । लोकतान्त्रिक व्यवस्थालाई जनताको दैनिक जीवन, रोजगारी, आर्थिक अवसर र सेवा प्रवाहसँग जोड्नुपर्ने भन्दै उनले भने, ‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ । पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ । यही संकल्प गर्छ ।’
‘३५ वर्षदेखि युद्ध किन बेहो¥यौं ? शान्ति प्रक्रियामा पनि यहीँ भयो । यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए । किन रोजगारी भएन ? युवा किन पलायन भयो ?’ लगायतका प्रश्नको सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने पनि थापाले बताए ।
गगनप्रति प्रचण्डको भरोसा, अरू नेताले के भने ?
कांग्रेस महाधिवेशनलाई शुभकामना दिँदै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताए । उनले सँगै मन्त्रिपरिषद्मा काम गरेको सन्दर्भमा चर्चा गर्दै देशके नेतृत्व गर्ने बाटोमा अघि बढ्न थापालाई सुझाव दिए । ‘यो क्रमभंग हो । निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ उनले भने ।
आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति प्रचण्डले खुसी व्यक्त गरे । ‘गगनजीलाई बधाई छ । गगनजीमा नेतृत्व गर्ने क्षमता छ । अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ । आज त्यही देखिरहेको छु,’ दाहालले भने, ‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौं ।’ प्रचण्डले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्न थापालाई सुझाव पनि दिए ।
उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलले पनि अहिले लोकतन्त्र संकटमा रहेको बताए । उनले विगतको लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेका दलहरूबीच पुनः सहकार्य आवश्यक रहेकोमा जोड दिए । ‘पहिले निरंकुशताको अन्त्यका लागि कांग्रेसले वामपन्थीसँग सहकार्य गरेको थियो । लोकतन्त्रको रक्षाका लागि अब सहकार्य गर्छ वा गर्दैन भन्ने प्रश्न आएको छ,’ उनले भने ।
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताए । राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हे¥यौं । नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ उनले भने । कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको राईले बताए । ‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणका निम्ति सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो,’ राईले भने ।
त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मान्छे फेरेर मात्रै समस्याको समाधान नहुने बताए । ‘अहिले पनि नेता र राजनीतिप्रति वितृष्णा र घृणामा अझै सुधार भएको छैन,’ उनले भने,‘यो बीचमा केही अनुहार त परिवर्तन भयो । अहिले पनि देशको अवस्था जहाँको तहीँ होइन । झन् ओरालो लागेको छ ।’
‘जनमतको अपमान नगरौं’
सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले सरकारको बचाउ गरेका छन् । कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनसत्रमा अन्य राजनीतिक दलका नेतृत्वले सरकारमाथि प्रश्न उठाएपछि लामिछानेले प्रतिरक्षा गरेका हुन् । उनले ‘सरकार ढल्छ, ढल्छ भनेको सुनेको भन्दै बरु सरकार ढल्छ भन्नेहरू ढल्लान् तर, सरकार नढल्ने’ बताए ।
‘पार्टीको गतिविधि, काम सभापतिले हेर्ने, सरकारको काम प्रधानमन्त्रीले हेर्ने भनेर हामीले काम बाँडेका छौं । त्यसकारण पार्टीको बैठकमा प्रधानमन्त्री नआउने कुराहरूलाई अस्वाभाविक रुपमा अतिरञ्जित नगरिदिन आग्रह गर्दछु,’ लामिछाने भने, ‘आन्दोलनले सरकार ढाल्छौँ, आँधीबेहरीको कुरा पनि सुनिरहेको छु । आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ । अब चुनावबाट मात्रै सरकार फेरौँ । चुनावले सरकार फेराउँछ ।’ लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिने बताए ।
उनले जनताले दिएको अपार मतलाई अपमान नगर्न पनि चेतावनी दिए । रास्वपाले पाएको अपार जनमतलाई विदेशीले बनाएको, सेनाले भोट प्रभावित गरेको भन्दै यो जनमतलाई कमजोर पार्ने काम नगर्न पनि चेतावनी दिए । ‘व्यक्ति बचाउन लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला, व्यक्ति फसाउन पनि लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला,’ उनले भने । कांग्रेस, एमाले र नेकपाका नेताहरूले सरकार स्वेच्छाचारी हुन खोजेको हो की भन्दै व्यक्त गरेको आशंकातर्फ लक्षित गर्दै उनले लोकतन्त्रमा कुनै सम्झौता नहुने भन्दै आश्वस्त पार्ने प्रयास पनि गरे ।
बन्दसत्र आज
कांग्रेस १५औं महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुने भएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्षको प्रतिवेदन पेस हुने तालिका छ । सोमबार र मंगलबार खुलामञ्चमै बन्दसत्र चल्नेछ । त्यसपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ । आगामी बुधबार र बिहीबार नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।
निर्वाचनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्य आउनेछन् । काठमाडौंका ७ ठाउँमा मतदान केन्द्र तोक्ने तयारी छ । केही पदाधिकारी बन्दसत्रबाट थप गर्ने कांग्रेसको तयारी छ । सात प्रदेशका लागि बेग्लाबेग्लै स्थान रहने गरी, एक केन्द्रमा एक हजार मतदाताले मत हाल्न मिल्ने गरी व्यवस्थापन मिलाउने तयारी भएको जनाइएको छ । केन्द्रीय समितिमा पछि सभापतिले समावेशी सिद्धान्तका आधारमा ६१ जना मनोनीत गर्नेछन् ।
केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष र तीन सहमहामन्त्री मनोनीत हुनेछन् । नयाँ विधानअनुसार प्रदेश सभापतिहरू पनि स्वतः केन्द्रीय सदस्य रहनेछन् र २३१ सदस्यीय कार्यसमिति बन्नेछ । यसअघि १६८ सदस्यीय कांग्रेस केन्द्रिय कार्यसमिति थियो ।
