नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

युवा अपेक्षा सम्बोधनको चुनौती

नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई नेतृत्व चयन गर्ने नियमित सांगठनिक अभ्यास त हुँदै हो साथमा यो महाधिवेशन कांग्रेसभित्र केही समयदेखि चर्किंदै आएको नेतृत्व संघर्ष, पुस्तान्तरणको दबाब, वैधानिकताको विवाद र बदलिँदो नेपाली राजनीतिको शक्ति सन्तुलनसँग जोडिएको निर्णायक मोड पनि हो । गगन थापा सभापति बन्ने सम्भावना बलियो देखिए पनि प्रश्न गगनले जित्छन् कि जित्दैनन् भन्ने मात्र यसपटक देखिँदैन  । कांग्रेस त्यसपछि गगन कांग्रेस र देउवा कांग्रेसका रूपमा दुई राजनीतिक धारमा विभाजित हुन्छ कि भन्ने पनि हो ।
गत वर्ष भदौको जेनजी आन्दोलनले नेपाली राजनीतिमा पुस्तान्तरण र सुशासनको प्रश्नलाई असाधारण रूपमा अगाडि ल्यायो । पुरानो राजनीतिक नेतृत्वप्रति बढ्दो वितृष्णा र नयाँ पुस्ताको राजनीतिक हस्तक्षेपले कांग्रेसभित्र पनि नेतृत्व परिवर्तनको दबाब बढायो । त्यही राजनीतिक परिस्थितिमा शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेका बेला विशेष अधिवेशनमार्फत गगन थापा सभापति बने । अहिलेको महाधिवेशन त्यस निर्णयलाई संस्थागत र वैधानिक रूप दिने प्रयासका रूपमा अघि बढेको हो ।
तर यहीँबाट एउटा अर्को प्रश्न पनि उठेको छ कि विशेष परिस्थितिमा गरिएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले अनुमोदन गर्नु र पार्टीको सम्पूर्ण संस्थागत प्रक्रियालाई नयाँ ढंगले परिभाषित गर्नु एउटै कुरा हो कि होइन ? देउवा पक्षले उठाउने मुख्य प्रश्न यही हुन सक्छ । यदि विशेष अधिवेशनको प्रक्रियामै वैधानिकता, प्रतिनिधित्व वा पार्टी विधानको व्याख्याबारे विवाद छ भने त्यसलाई ‘पुरानो नेतृत्व कि नयाँ नेतृत्व’को संघर्ष भनेर पन्छाउन मिल्दैन । लोकतान्त्रिक पार्टीको शक्ति नै विधि र संस्थामा हुन्छ । विधि कमजोर बनाएर पुस्तान्तरण गरियो भने भोलि त्यही नजिर अर्को नेतृत्वविरुद्ध पनि प्रयोग हुन सक्छ ।
अर्कोतर्फ, देउवा पक्षले मंसिरमा अर्को महाधिवेशन गर्ने अडान लिएमा संकट अझ गहिरिनेछ । एउटै पार्टीभित्र दुईवटा महाधिवेशन, दुईवटा नेतृत्व र दुईवटा वैधानिकताको दाबी भयो भने कांग्रेसको विवाद अदालत, निर्वाचन आयोग र सार्वजनिक बहस हुँदै स्थानीय संगठनसम्म पुग्नेछ  । त्यसपछि यो नेतृत्वको झगडाका रूपमा मात्र रहने छैन, यसले त पूरै कांग्रेसको अस्तित्वमाथिको संकट बन्न सक्छ ।
गगन पक्षले यसलाई पुरानो नेतृत्वको निरन्तरताविरुद्ध नयाँ राजनीतिक पुस्ताको निर्णायक हस्तक्षेपका रूपमा प्रस्तुत गर्न सक्छ । यो तर्कमा दम पनि छ । नेपाली कांग्रेसले पटक–पटक नेतृत्व परिवर्तनको आवश्यकता स्वीकार गरे पनि व्यवहारमा पुरानै शक्ति संरचना कायम राख्दै आएको आरोपबाट मुक्त हुन सकेको छैन । जेनजी आन्दोलनपछि उठेको पुस्तान्तरणको मागलाई कांग्रेसले सम्बोधन गर्न सकेन भने नयाँ पुस्ता यो पार्टीबाट अझ टाढिने सम्भावना छ ।
तर गगन नेतृत्व पनि प्रश्नबाट मुक्त छैन । नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने दाबी आफैंमा उपलब्धि होइन । सुशासन, संगठन सुधार, भ्रष्टाचार नियन्त्रण र राजनीतिक जवाफदेहितामा ठोस परिणाम दिन नसके, जनताको सशक्त आवाज बन्न नसके, ‘नयाँ नेतृत्व’ पनि केही समयपछि पुरानै राजनीतिक संस्कारको अर्को संस्करण ठहरिन सक्छ । कांग्रेसका कार्यकर्ता र मतदाताले अनुहार मात्र नयाँ होइन, कार्यशैली र परिणाम पनि सशक्त परिवर्तन खोजिरहेका छन् ।
यही ठाउँमा प्रतिपक्षी राजनीतिक शक्तिका लागि अवसर सिर्जना हुन्छ । कांग्रेस दुई चिरामा विभाजित भयो भने त्यसको सबैभन्दा ठूलो लाभ संगठन विस्तारको खोजीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउने छ । केन्द्रको विवाद स्थानीय तहसम्म पुग्दा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता विभाजित हुनेछन् । टिकट, संगठन र उम्मेदवार छनोटमा हुने असन्तुष्टि विद्रोहमा परिणत हुन सक्छ । कांग्रेसको परम्परागत मताधारमा आएको सानो परिवर्तनले पनि स्थानीय निर्वाचनमा ठूलो परिणाम दिन सक्छ ।
उता रास्वपाले कांग्रेसको कमजोरीबाट लाभ उठाउनु र त्यो लाभलाई स्थायी राजनीतिक शक्तिमा बदल्नु एउटै कुरा होइन । कांग्रेसको संगठन कमजोर हुनु मात्र रास्वपाको संगठन बलियो हुनु होइन । रास्वपाले स्थानीय तहमा विश्वसनीय नेतृत्व, संगठनात्मक निरन्तरता र जनतासँगको प्रत्यक्ष सम्बन्ध निर्माण गर्न सक्यो भने मात्र कांग्रेसको विभाजन उसको दीर्घकालीन राजनीतिक अवसर बन्नेछ ।
यस पटकको महाधिवेशनमा एउटा रोचक पाटो पनि देखिएको छ । हिजोसम्म राजनीतिमा खासै सक्रिय नदेखिएका, देखिए पनि खासै पहिचान बनाउन नसकेका युवाहरूले पनि पार्टी महाधिवेशनमा आफूलाई उपल्लो तहमा देख्न खोजिरहेका छन् । ती पराजित हुँदा उनीहरूले त्यही अवसर देउवा पक्षको महाधिवेशनमा खोज्ने सम्भावना पनि उत्तिकै छ । नयाँ पुस्ता मात्र किन, महाधिवेशनमा न्यून र धेरै मत ल्याएर पराजित भएकाहरूले पनि देउवाको ओत खोज्ने प्रयास गर्नेछन् र यसबाट देउवा पक्ष अझ बढी हौसिने सम्भावना छ । 
समग्रमा कांग्रेसको यो महाधिवेशनले गगन थापालाई अझ बढी सशक्त नेताका रूपमा स्थापित गर्नेछ तर हालसम्मकै कमजोर पार्टी संरचनालाई उनले कसरी पुनः उठाउने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्