नेभिगेशन
अर्थतन्त्र

बुटवलबाट अपाचे रेस एक्सपेरियन्सका तीन फाइनलिस्ट चयन

बुटवल । जगदम्बा मोटर्स प्रालिले बुटवलमा आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ क्वालिफायर्सबाट १६० सीसी वर्गका तीन राइडर फाइनलका लागि छनोट भएका छन् ।
तिलोत्तमा–५ स्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा शनिबार भएको क्षेत्रीय छनोटमा धीरज बिक प्रथम भए । उनले ३४ दशमलव ०७ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । अभिषेक पन्थी ३४ दशमलव ६२ सेकेन्डसहित दोस्रो र अरिक श्रेष्ठ ३४ दशमलव ८७ सेकेन्डसहित तेस्रो भए ।
बुटवल चरणमा सहभागी हुन ७६ राइडरले दर्ता गरेका थिए । सहभागीको संख्या बढेपछि आयोजकले दर्ता प्रक्रिया रोकेको थियो । आयोजकका अनुसार यसले बुटवलमा मोटरस्पोट्र्सप्रतिको बढ्दो आकर्षण देखाएको छ ।
प्रतियोगिताअघि सहभागीलाई राष्ट्रिय स्तरका रेसर सुजन थापा मगर र नवाङ मोक्तानले प्रशिक्षण दिएका थिए । थापा मगर पूर्वएआरई जीपी नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता हुन् । मोक्तान ट््याक तथा टार्मेक रेसिङमा चार पटककी राष्ट्रिय च्याम्पियन हुन् ।

प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोलबारे सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो । प्रशिक्षकको निर्देशनमा सहभागीले ट्र्याकमा विभिन्न ड्रिलसमेत गरेका थिए ।
बुटवलबाट छनोट भएका धीरज, अभिषेक र अरिकले अब एआरई जीपीको राष्ट्रिय ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराबाट छनोट भएका राइडरसँग प्रतिस्पर्धा गर्नेछन् ।
बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा मोटरस्पोट्र्सप्रति उत्साह बढेको बताए । ‘७६ जनामा दर्ता रोक्नुपर्नुले यहाँको उत्साह देखाउँछ । धेरै राइडर पहिलोपटक ट्र्याकमा उत्रिएर राष्ट्रिय च्याम्पियनबाट प्रशिक्षण लिए,’ उनले भने ।
ग्रान्ड फिनालेको १६० सीसी र २०० सीसी वर्गमा प्रथम हुने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनीहरूले ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । यात्रा र आवास खर्च आयोजकले व्यहोर्ने जनाएको छ ।
जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोट्र्सको आधार विस्तार गर्ने उद्देश्यले एआरई कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमअन्तर्गत ट्रयाक प्रशिक्षण, पाँच क्षेत्रीय रेसिङ क्वालिफायर्स र राष्ट्रिय ग्रान्ड फिनाले आयोजना हुँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्