नेभिगेशन
नेपाल

एक रुपैयाँसमेत लिएर बनाइएको थियो सिंहदरबार

मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारमा भदौ २४ मा आगो लाग्यो । प्रधानमन्त्री कार्यालयलगायतका केही भवन जलेर ध्वस्त भए । यसअघि २०२९ सालमा पनि सिंहदरबारमा आगलागी भएको थियो । पुरातात्त्विक महत्त्वको भवन पनि आगो लागेको थियो । 

वरिष्ठ वास्तुविद् रञ्जनसिंह शाहका अनुसार तत्कालीन समयमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । उनी त्यतिबेला भवन विभागका प्रमुख थिए । सिंहदरबारमा ७ वटा चोकमध्येको पहिलो चोकको तेस्रो ब्लकबाट आगलागी सुरु भएको रञ्जन सम्झन्छन् ।

आगो लाग्दा तीनवटा चोक जलेका थिए । त्यसपछि राजा वीरेन्द्र त्यहाँ पुगेका थिए । पहिलो चोकमा रहेको बेलायती बैठक जुन कलाको नमूना भएकाले त्यसलाई जोगाउन निकै प्रयास गरिएको थियो । पहिलो चोक ऐतिहासिक बेलायती बैठक भएको र अन्तर्राष्ट्रिय केही हुँदा बैठक बस्ने गरी कलात्मक बनाइएको थियो ।

जलेको भवनका साथै सातैवटा चोक बनाएर सिंहदरबार बनाउने गुरुयोजना बनाइएको थियो । सरकारसँग भवन बनाउने पर्याप्त रकम नभएकाले जनतालाई सहयोगको अपिल वीरेन्द्रले गरेका थिए । सिंहदरबार पुनर्निर्माण समितिको नाममा खाता खोलेर सहयोगको आह्वान गरेका थिए । पुनर्निर्माण समितिका प्रमुख रञ्जन थिए ।

Ranjan-1758588132.jpg
रञ्जनसिंह शाह

‘गुरुयोजना बनाउन एकजना विदेशी बोलाइएको थियो तर उसले एक्लै सकेन । आखिरमा मैले नै गुरुयोजनाको खाका तयार पारें । त्यसमा राजाको निर्देशनबमोजिम काम गरेको थिएँ,’ उनले भने, ‘गुरुयोजना कार्यान्वयनका लागि वरिष्ठ आर्किटेकका रूपमा काम गरेको थिएँ ।’ वीरेन्द्रले संसारमा आएका आधुनिक प्रविधि पछ्याएर बनाउनका लागि ज्ञान लिन विदेश पठाएका थिए ।

सिंहदरबारभित्रै सबै महत्वपूर्ण मन्त्रालय अटाउनेगरी गुरुयोजना बनाएका थिए । ‘राजा वीरेन्द्र निकै विकासप्रेमी होइबक्सन्थ्यो । हरेक विकासका काममा आफै सहभागी भएर सिंहदरबार पुनर्निर्माण प्रोजेक्ट कार्यालय बनाएर काम थालिएको थियो,’ उनले भने ।

त्यसबेला जलेको सिंहदरबार बनाउन एकजना माग्नेले पनि एक रुपैयाँ चन्दा दिएको कुरा रञ्जनले अझै बिर्सेका छैनन् । ‘आगो लागेपछि बनाउन म पनि एक रुपैयाँ दान दिन्छु भन्दै एकजना मगन्ते आउनु निकै मर्मस्पर्शी थियो,’ उनले सम्झना गरे ।

त्यसैले त सिंहदरबारसँग उनको गहिरो र भावनात्मक सम्बन्ध छ । ‘विदेशमा गएर आधुनिक प्रविधि सिकेर बनाएका थियौं,’ उनले भने ‘यो पहिलो चोक’ आफ्नै पुस्तकमा छापिएको तस्बिर पल्टाएर देखाउँदै भने । गुरुयोजनाको क्रममा युरोप, अमेरिका, ल्याटिन अमेरिकामा आधुनिक प्रविधि सिक्न गएका थिए । त्यस क्रममा भूकम्प प्रतिरोधात्मक भवन कसरी बनाउने भन्ने प्राविधिक विषयमा पनि ज्ञान लिएर फर्केका थिए ।

पुरानो मौलिक चोकका आधारमा थपेर प्रारूप तयार गरिएको थियो । आगोले जलेको अगाडिको भागलाई रेट्रोफिटिङ गरिएको थियो ।’ उनलाई साथ दिन एकजना तीर्थमान नामका आर्टिष्टले काम गरेको उनी सम्झन्छन् । भवनको स्ट्रक्चर ज्योति प्रधानले तयार गरेका थिए । ‘माग्नेको समेत रकम लिएर बनाइएको सिंहदरबार जल्दा निकै दुःख लाग्यो,’ भदौ २४ मा जलेपछि उनले भने । 

त्यसैबेला नै वीरेन्द्रले सबै मन्त्रालय राख्नेगरी छुट्याएर नै गुरुयोजना बनाएको उनले बताए । पहिले एउटै ढिकोमा राखिएको थियो । त्यसपछि आगलागीजस्ता विपद्बाट जोगाउन चोक बनाएर छुट्टाछुट्टै भवन बनाइएका थिए । संवाददातासँग कुरा गरिरहँदा उनले धेरैपटक आँसु झारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्