नेभिगेशन
राजनीति

उच्चका चार न्यायाधीश सर्वोच्चमा सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा नियुक्तिका लागि उच्च अदालतका चार न्यायाधीशको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिस गरेको हो ।
परिषद् सचिवालयकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार उच्च अदालत पाटनका न्यायाधीश सारु, पाटनकै हेटौंडा इजलासका न्यायाधीश पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डाँगी पनि सिफारिसमा परेका छन् ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का सहभागी थिए । सर्वोच्चमा हाल चार न्यायाधीशको पद रिक्त छ । यसै महिना न्यायाधीश विनोद शर्मा अवकाश हुने भएकाले रिक्त पदको संख्या पाँच पुग्नेछ । पाँचै पदमा सिफारिस गर्न सकिने अवस्था भए पनि परिषद्ले एउटा पद खाली राखेर चार जनाको नाम मात्र सिफारिस गरेको हो ।
सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ तर अहिले १७ जना मात्र कार्यरत छन् । न्यायाधीशको संख्या घट्दा मुद्दाको चाप व्यवस्थापनमा समस्या हुँदै आएको छ । त्यसैले रिक्त पद तत्काल पूर्ति गर्ने तयारी परिषद्ले अघि बढाएको हो । न्याय परिषद्ले गरेको सिफारिस अब संसदीय सुनुवाइ समितिमा जानेछ । समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ गरी अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्तिको संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्