काठमाडौं । बजारमा चिया भनेर बेचिएको पेय पदार्थभित्र ५ प्रतिशत अल्कोहल भेटिएपछि त्यसको लेबल, उत्पादन अनुमति र बिक्री वितरणको वैधानिकतामाथि प्रश्न उठेको छ ।
जावलाखेल डिष्टिलरीले ‘रुस्लान पिच आइस टी’ र ‘रुस्लान लेमन आइस टी’ नाममा २७५ एमएलको बोतलमा यस्तो पेय २२५ रुपैयाँमा बिक्री गरिरहेको छ ।
खाद्य नियामकले भने अल्कोहलिक पदार्थलाई सामान्य ‘आइस टी’को आवरणमा बजारमा लैजान नमिल्ने बताएको छ । बजारमा ‘आइस टी’ अर्थात् चिसो चियाका रूपमा देखिने पेयमा ५ प्रतिशतसम्म अल्कोहल भेटिएपछि त्यसको उत्पादन अनुमति, लेबलिङ, कर तथा बिक्री वितरणको कानुनी आधारमाथि प्रश्न उठेको छ । जावलाखेल डिस्टिलरीले ‘रुस्लान पीच आइस टी’ र ‘रुस्लान लेमन आइस टी’ नाममा बजारमा ल्याएका यी उत्पादनलाई कम्पनीले नै अल्कोहलिक पेयका रूपमा प्रचार गरे पनि ‘आइस टी’ नामले उपभोक्तामा भने सामान्य चियाजन्य पेय भनेर भ्रम पारेको छ ।
२७५ मिलिलिटरको प्याकमा बिक्री भइरहेको उक्त पेयमा ५ प्रतिशत अल्कोहल रहेको उल्लेख छ । बजारमा यसको खुद्रा मूल्य प्रतिप्याक २२५ रुपैयाँ आसपास छ । कम्पनीले यसलाई रेडी टु ड्रिंक अर्थात् सिधै पिउन मिल्ने अल्कोहलिक पेयका रूपमा अघि सारेको छ ।
उत्पादनको नाममा ‘आइस टी’ जोडिए पनि उद्योग विभागको औद्योगिक सम्पत्ति अभिलेखमा रुस्लान पिच आइस्ड टी र रुस्लान लेमन आइस्ड टी भनेर अल्कोहलिक बेभरेज पर्ने वर्गमा राखिएको छ । अर्थात् नाममा चिया भए पनि कानुनी तथा व्यावसायिक वर्गीकरणमा यो सामान्य गैरमादक चिया होइन ।
चिया होइन, मदिरा भए कुन कानुन लाग्छ ?
नेपालमा मदिरा ऐन, २०३१ ले मदिराको उत्पादन तथा बिक्री वितरणलाई नियमन गर्दै आएको छ । मदिरा नियमावली अनुसार मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था छ । उत्पादनको प्रकृति, इजाजतको वर्गीकरण र अन्तःशुल्कसम्बन्धी प्रक्रिया पनि त्यसैअनुसार निर्धारण हुन्छ ।
मदिरा नियमले इजाजतबिना मदिरा उत्पादन तथा बिक्री वितरण गर्न रोक लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने अल्कोहलयुक्त उत्पादनलाई सामान्य ‘आइस टी’को रूपमा मात्र बजारमा प्रस्तुत गर्न नमिल्ने धारणा राखेको छ । विभागका अधिकारीहरूले उत्पादनको वास्तविक प्रकृति, त्यसको अनुमति र लेबल हेरेर मात्र कानुनी अवस्था यकिन गर्नुपर्ने बताएका छन् ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐनले खाद्य पदार्थको सुरक्षा, गुणस्तर, उत्पादन तथा लेबलिङलाई नियमन गर्छ । बजारमा बिक्री हुने खाद्य पदार्थको लेबलमा उपभोक्ताले आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने कानुनी मान्यता छ ।
यसकारण ‘आइस टी’ नाम राखिएको उत्पादनभित्र ५ प्रतिशत अल्कोहल छ भने उपभोक्ताले बोतल वा प्याकेट हेर्नेबित्तिकै त्यो सामान्य चिया नभई अल्कोहलयुक्त पेय हो भन्ने बुझ्न सक्ने अवस्था छ ।
कम्पनीले प्याकेजिङमा अल्कोहोलिक बेभरेज र ५ प्रतिशत अल्कोहोल जस्ता विवरण राखेको भए पनि ती सूचना उपभोक्ताले सजिलै देख्ने र बुझ्ने गरी राखिएका छैनन् ।
खाद्य ऐन, २०२३ दफा ४ ले झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने उल्लेख गरेको छ कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनि वा न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनि ढाँटी वा झुक्याई वा अखाद्य पदार्थ वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरि बिक्री वितरण गर्न नहुने ऐनमा उल्लेख छ ।
यसैगरी दफा ४ विपरीतको कार्य गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । मदिरा ऐन, २०३१ , अन्तःशुल्क ऐन, २०५८ वा अन्तःशुल्क नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई कसैले पनि मदिराको उत्पादन, पैठारी, बिक्री वा सञ्चय गर्न नपाउने उल्लेख छ । कसैले देहायको कसुर गरेमा बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।
‘आइस टी’ भनेर उपभोक्ता झुक्याइँदै
उत्पादनको नामकरण नै यस प्रकरणको सबैभन्दा संवेदनशील पक्ष रहेको सरोकारवाला बताउँछन् ।
सामान्यतया ‘आइस टी’ भन्नाले चिया, पानी, चिनी, फलफूलको स्वाद वा अन्य सामग्रीबाट बनेको गैरमादक चिसो पेय भन्ने बुझाइ हुन्छ । बजारमा पाइने अधिकांश आइस टी त्यही प्रकृतिका छन् । त्यही नाम र स्वादको शैलीमा ५ प्रतिशत अल्कोहल भएको पेय बजारमा आएपछि उपभोक्ताको बुझाइमा फरक पर्ने उपभोक्ताहरु बताउँछन् ।
विशेषगरी उत्पादनको प्याकेजिङ सामान्य सफ्ट ड्रिंक वा आइस टीसँग मिल्दोजुल्दो भएमा उपभोक्ताले त्यसमा अल्कोहल भएको कुरा पहिलो नजरमै नबुझ्न सक्छन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्तालाई भ्रमित पार्ने र ठग्ने भएकाले सरकारले नियन्त्रण र नियमन गर्नुपर्ने बताए । ‘कसैले पनि आफ्नो उत्पादन उपभोक्तालाई झुक्याएर बेच्न राखिनु हुँदैन । उपभोक्ता झुक्यानमा पार्ने लेबलिङका उत्पादनमाथि नियमनकारी निकायले कडाइ गर्नुपर्छ,’ उनले भने ।
यसलाई विज्ञापन पनि गर्न नपाउने र जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कुरा सह्य नहुने उनको भनाइ छ ।
नयाँ पुस्तालाई लक्षित बजार, अभिभावक झुक्याउने रणनीति
रुस्लान आइस टीलाई कम्पनीले नयाँ पुस्ताको स्वाद र जीवनशैलीसँग जोडिएको रेडी टु ड्रिंक पेयका रूपमा बजारमा अघि सारेको छ । यसले मदिरा वर्जित परिवारका युवा पुस्तालाई बिगार्ने सम्भावना बढेको छ । आमाबुबालाई कोल्ड टी भनेर झुक्याएर मदिरा सेवन गराउने नियत जावलाखेल डिष्टिलरीले राखेको बताइएको छ ।
परम्परागत ह्विस्की, रम, भोड्का वा बियरभन्दा फरक स्वाद, प्याकेजिङ र सेवनको सहजताका कारण यस्ता उत्पादनले मदिराको नयाँ उपभोक्ता समूह आकर्षित गर्ने यसले सम्भावना हुन्छ । यही कारणले यसको बजार विस्तारसँगै नियामकको चासो पनि बढ्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरूको तर्क छ ।
विशेषगरी चिया वा सफ्ट ड्रिंकको स्वरूपमा देखिने तर भित्र अल्कोहल भएको उत्पादन बजारमा आउँदा बालबालिकासमेत विग्रिने महासचिव तिमिल्सिनाको भनाइ छ ।
मुख्य सञ्चालक राजबहादुर शाह सम्पर्कविहीन
‘रुस्लान आइस टी’का नाममा अल्कोहलयुक्त पेय पदार्थ बजारमा बिक्री गरेको विवादमा तानिएको जावलाखेल डिष्टिलरीका प्रबन्ध निर्देशक राजबहादुर शाह अहिले प्रहरीको सम्पर्कमा नरहेको तथ्यले घटनालाई थप गम्भीर बनाएको छ ।
शाहमाथि ‘आइस टी’ उत्पादन र बिक्रीको विषयमा मात्र प्रश्न उठेको भने होइन । उनी यसअघि बिचौलिया दीपक भट्टको विवादास्पद सेयर कारोबार र बीमा कम्पनीको रकम दुरुपयोगसम्बन्धी अनुसन्धानमा समेत जोडिएका छन् ।
धितोपत्र बोर्डको अनुसन्धानले शाहसहित केही व्यवसायीले नेपाल रिइन्स्योरेन्सलगायत कम्पनीको सेयर उधारोमा खरिद गरी मूल्य बढाउन सहयोग गरेको देखाएको थियो । बोर्डले थप अनुसन्धानका लागि प्रहरीलाई पठाएको प्रतिवेदनमा शाहको नामसमेत उल्लेख छ ।
त्यसपछि बीमा कम्पनीसँग सम्बन्धित आर्थिक अनियमितताको अनुसन्धानमा पनि शाह प्रतिवादीका रूपमा सिफारिस भएका छन् । सीआईबीको अनुसन्धान विवरणअनुसार भृकुटी स्टक ब्रोकिङमार्फत बीमा कम्पनीको रकम प्रयोग गरी शाहको नाममा सेयर खरिद गरिएको र उनको नाममा करिब ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ बराबरको लाभ पुगेको दाबी गरिएको छ ।
नेपाल रिइन्स्योरेन्सको सेयर करिब १ अर्ब ४१ करोड ८० लाख रुपैयाँमा खरिद गरिएकामा शाहले करिब ५२ करोड ५० लाख रुपैयाँ मात्र ब्रोकरलाई भुक्तानी गरेका थिए ।
उनी अहिले नेपालमा नभएको र थाइल्यान्डमा रहेको स्रोतहरुले बताएको छ ।
जावलाखेल डिष्टिलरीका सञ्चालक राजबहादुर शाहको अगुवाइमा कम्पनीले ‘रेडी टु ड्रिंक’ (आरडीटी) श्रेणीको भन्दै चिया भनेर ५ प्रतिशत अल्कोहल भएको पेय पदार्थ बेचबिखन गरिरहेको हो ।
जावलाखेल डिष्टिलरीले २७ भन्दा बढी प्रकाशका अल्कोहलिक उत्पादन गर्छ । रुस्लान भोड्का उसको लोकप्रिय उत्पादन हो ।
‘प्रचलित कानुनअनुसार आइस टी भनेर अल्कोहल बेच्न पाइँदैन, तर प्रडक्ट कस्तो छ, अनुमति कसरी लिएको छ भनेर पनि हेर्नुपर्ने हुन्छ । तर सामान्यतया आइस टी अनअल्कोहलिक हो,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले भने ।