काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनमा सभापतिका लागि गगन थापासहित ३ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार मंगलबार सभापतिका लागि वर्तमान सभापति थापासहित, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र काठमाडौं–६ का नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीमा ३० जनाको उम्मेदवारी परेको छ ।
थापा र राठौर त्रिचन्द्र क्याम्पसबाटै विद्यार्थी नेताका रुपमा उदाएका हुन् । थापा नेविसंघको महामन्त्री हुँदै पार्टी राजनीतिमा सक्रिय भएका थिए भने राठौर पार्टी विभाजनपछि बनेको कांग्रेस प्रजातान्त्रिकको नेविसंघको अध्यक्ष बनेका थिए । त्रिचन्द्र क्याम्पसमा थापाभन्दा राठौर सिनियर नेता थिए । उनी स्ववियु सभापति हुँदा थापा त्यसमा सदस्य थिए । तर, पार्टी राजनीतिमा भने थापा अघि थिए । कांग्रेसको १४औं महाधिवेशनमा थापा महामन्त्री निर्वाचित हुँदा राठौर सहमहामन्त्री निर्वाचित भएका थिए । थापा र राठौर १४औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाटै पदाधिकारी निर्वाचित भएका थिए । नेविसंघ अध्यक्षमा राठौर विश्वप्रकाश शर्मासँग पराजित भएका थिए । नेविसंघको राजनीतिदेखि नै शर्मा र थापा एक ठाउँमा हुँदा फरक कित्तामा उभिएका राठौर १५औं महाधिवेशनमा पनि अलग कित्तामा उभिएका छन् ।
सभापतिमा उम्मेदवारी दर्तापछि थापाले महाधिवेशनमा आफूले प्यानल नबनाउने बताए । उनले पदाधिकारीमा धेरै नेता प्रतिष्पर्धामा हुँदा पार्टीका लागि आवश्यक नेताहरु केन्द्रीय समितिमा छुट्ने हो की भन्नेमा चिन्ता व्यक्त गरे ।
त्यस्तै, राठौरले विशेष अधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्चले आधिकारिकता दिएपछि रुख र चार तारा छाड्दिन भन्दै संस्थापनपनमै बस्ने निर्णय गरेका थिए । ‘म सभापति भएँ भने पार्टी एक गर्छु । पार्टीलाई न्याय गर्छु,’ राठौरले भने ।
अर्का उम्मेदवार खड्गीले पनि पार्टीलाई एकताबद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । रोचक चाहिँ यो छ की, खड्गी सभापतिका अर्का उम्मेदवार गगन थापालाई सिद्धार्थ वनस्थलीमा अध्ययनरत हुँदा पठाएका गुरुसमेत हुन् । ३ जनाको उम्मेदवारी रहेपनि थापा र राठौरलाई कडा प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।
विश्वप्रकाश र पुष्पा सर्वसम्मत
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुषाल पनि निर्विरोध भएका छन् । शर्मा र भुषाल दुवै विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए । शर्मा विशेष महाधिवेशनका सूत्रधार हुन् भने भुषाल तत्कालीन सभापति शेरबहादुर देउवाको साथ छाडेर विशेष महाधिवेशनको पक्षमा उभिएकी थिइन् ।
सोमबार बन्दसत्रबाट पारित विधानअनुसार वरिष्ठ उपसभापति पद थप गरिएको थियो । उक्त पदमा शर्मा र उपसभापति महिलातर्फ भुषालको मात्र उम्मेदवारी परेको थियो ।
उपसभापतिमा को को छन् मैदानमा ?
कांग्रेसमा उपसभापति र महामन्त्रीमा प्रतिस्पर्धीको संख्या धेरै छ । निर्वाचन समितिका अनुसार २ उपसभापति खुला पदका लागि ९ जनाको उम्मेदवारी परेको छ । डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा.मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । पाण्डे गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् भने रिजाल पूर्वसञ्चारमन्त्री हुन् । त्यस्तै, चालिसे विशेष महाधिवेशनपछि पार्टी प्रवक्ता बनेका थिए । गुरुङ पूर्व उपसभापति हुन् भने भण्डारी १४औं महाधिवेशनमा उपसभापतिकै उमेदवार बनिसकेका व्यक्ति हुन् । आचार्य, गिरी र भट्टराई पूर्व केन्द्रीय सदस्य हुन् । उपसभापतिमा धेरै उम्मेदवार रहेकाले कसले बाजी मार्ला भन्न नसकिने अवस्था बनेको कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु बताउँछन् ।
त्यस्तै, समावेशी उपसभापतितर्फ पनि ‘हेभिवेट’ भिडन्त हुने भएको छ । एक पदका लागि हुने निर्वाचनमा ५ जनाको उमेदवारी परेको छ । पूर्वसहमहामन्त्रीहरु फर्मुल्लाह मन्सुर, जीवन परियार र पूर्व केन्द्रीय सदस्य विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरुङले उम्मेदवारी दिएका छन् । १४औं महाधिवेशनमा मन्सुर मुस्लिम र परियार दलित क्लष्टरबाट सहमहामन्त्री निर्वाचित भएका थिए । त्यस्तै, महिला उपसभापतिको एक पदमा पुष्पा भुसाल निर्विरोध भइसकेकी छन् ।
महामन्त्रीमा कडा टक्कर
महामन्त्री पदमा पनि कडा प्रतिस्पर्धा हुने भएको छ । खुलातर्फका २ महामन्त्री पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । अहिलेका महामन्त्रीहरु प्रदीप पौडेल र गुरुराज घिमिरेले पुनः महामन्त्रीमै उम्मेदवारी दिएका छन् । नैनसिंह महर, अमरसिंह पुन, उदयशमशेर राणा, शंकर तिवारी, सुनिल शर्मा र सन्तोष उपाध्यायले पनि महामन्त्रीमा उम्मेदवारी दिएका छन् । राणा पूर्व सहमहामन्त्री हुन् भने महर पूर्व केन्द्रीय सदस्य हुन् । तिवारी पूर्व नेविसंघ नेता हुन् भने शर्मा पूर्व सांसद हुन् । पुन १४ औं महाधिवेशनपछि लुम्बिनी प्रदेशका पार्टी सभापति थिए ।
त्यस्तै, महामन्त्री महिलातर्फको १ पदका लागि ३ नेतृ मैदानमा छन् । डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन् । संग्रौला विशेष महाधिवेशनपछि महिला क्लष्टरबाट सहमहामन्त्री बनेकी थिइन् भने उपाध्याय १४औं महाधिवेशनमा निवार्नचित सहमहामन्त्री हुन् । दुवै पूर्वसांसद समेत हुन् । खनाल महिला संघकी पूर्व नेतृ हुन् । केही समय कांग्रेस परित्याग गरेकी खनाल विशेष महाधिवेशनपछि कांग्रेस फर्किएकी थिइन् । शेखर कोइराला निकट मानिने संग्रौला विशेष महाधिवेशनमा लागेकी थिइन् भने उपाध्याय १५ औं महाधिवेशनको प्रक्रिया शुरु भएपछि शेरबहादुर देउवाको साथ छाड्दै संस्थापनपक्षमा फर्किएकी थिइन् ।
सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा पनि कडा प्रतिस्पर्धा हुने भएको छ । खसआर्यतर्फ १ पदका लागि जगदीशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेदवारी परेको छ । केसी नुवाकोटमा पूर्व सभापति हुन् । आचार्य नेविसंघका पूर्व महामन्त्री हुन् भने बस्नेत शंकरदेव क्याम्पसमा नेविसंघबाट निर्वाचित पूर्वसभापति हुन् ।
आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । गुरुङ पूर्व स्वास्थ्य राज्यमन्त्री हुन् भने लामा बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।
मधेसीतर्फ महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्तकुमारी यादवले उम्मेदवारी दिएका छन् ।
दलित सहमहामन्त्रीको १ पदका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली चुनावी मैदानमा छन् । थारु सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । अल्पसँख्यक तथा अपाङ्गता समूहबाट नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले उम्मेदवारी दिएका छन् । कुमाल संविधानसभा सदस्य हुन् भने गौचन हाल सांसद छन् ।
मुस्लिमतर्फको १ सहमहामन्त्री पदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानबीच प्रतिस्पर्धा हुने भएको छ । सहमहामन्त्री खुलातर्फ डिल्लीराम सुवेदी, देवेन्द्रराज कँडेल, अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला र विमलराज क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
पिछडिएको क्षेत्रतर्फ पनि १ पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले उम्मेदवारी दिएका छन् । महिला सहमहामन्त्रीको १ पदका लागि नानु बस्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा हुने भएको छ ।
मनोनयन दर्तासँगै कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि औपचारिक प्रतिस्पर्धा सुरु भएको छ । केही पदमा निर्विरोध नेतृत्व चयन भए पनि अधिकांश महŒवपूर्ण पदमा धेरै उम्मेदवार मैदानमा उत्रिएपछि निर्वाचन थप रोचक बनेको छ । मतदान बिहीबार हुनेछ । महाधिवेशनबाट कांग्रेसले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दैछ । यस पटक विधान संशोधनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने छ ।