नेभिगेशन
दृष्टिकोण

स्थानीय शासनलाई डिजिटल बनाउने प्रयास

घरको भित्तामा टाँसिएको एउटा सानो नम्बर सामान्य चिनारीजस्तो देखिन्छ । हामीमध्ये धेरैका लागि घर नम्बर भनेको हुलाक, ठेगाना वा कसैलाई घर खोज्न सजिलो बनाउने एउटा संकेत मात्र हो । तर त्यही नम्बरलाई सही भौगोलिक स्थान, सडक सञ्जाल, घर तथा जग्गाको विवरण, सामाजिक–आर्थिक सूचना र नगरपालिकाबाट उपलब्ध हुने सेवासँग जोड्न सकियो भने त्यसको अर्थ निकै ठूलो हुन्छ । त्यस अवस्थामा घर नम्बर केवल घर चिनाउने नम्बर रहँदैन; त्यो स्थानीय शासनलाई डिजिटल, व्यवस्थित र तथ्यमा आधारित बनाउने महत्वपूर्ण आधार बन्न सक्छ ।
यही सम्भावनालाई ध्यानमा राखेर बुढानीलकण्ठ नगरपालिकामा जीआइएस आधारित डिजिटल बेस म्याप, मेट्रिक हाउस नम्बरिङ, डिजिटल सामाजिक–आर्थिक प्रोफाइल तथा घर नम्बर प्लेट स्थापनाको काम अघि बढिरहेको छ । यो कामलाई केवल घर–घरमा नम्बर टाँस्ने कार्यक्रमका रूपमा बुझियो भने यसको वास्तविक महत्व छुट्न सक्छ । वास्तवमा यो एउटा यस्तो डिजिटल पूर्वाधार निर्माण गर्ने प्रयास हो, जसले आगामी दिनमा नगरपालिकाको योजना निर्माणदेखि सार्वजनिक सेवा प्रवाहसम्म धेरै क्षेत्रलाई प्रभावित गर्न सक्छ ।
आजको समयमा नगरपालिकासँग आफ्नो क्षेत्रभित्रका घर, सडक, जनसंख्या, सार्वजनिक संरचना, व्यवसाय, खुला क्षेत्र र जोखिमयुक्त स्थानको सही सूचना हुनु अत्यन्त आवश्यक छ । नगरपालिकाले कहाँ सडक सुधार गर्नुपर्छ, कुन क्षेत्रमा फोहोर व्यवस्थापनको माग बढी छ, कहाँ नयाँ स्वास्थ्य वा शैक्षिक सेवा आवश्यक छ, कुन बस्तीमा जनसंख्या तीव्र रूपमा बढिरहेको छ वा कुन क्षेत्रमा विपद्को जोखिम बढी छ भन्ने निर्णय अनुमानका आधारमा होइन, तथ्य र स्थानसँग जोडिएको सूचनाका आधारमा गर्न सकिन्छ । जीआइएसले यही सम्भावनालाई व्यवहारमा उतार्ने माध्यम दिन्छ ।
यस अर्थमा बुढानीलकण्ठको हाउस नम्बरिङ परियोजनाको वास्तविक प्रश्न ‘कुन घरलाई कुन नम्बर दिने?’ मात्र होइन । अझ महत्वपूर्ण प्रश्न हो—‘नगरपालिकाले आफ्नो क्षेत्रभित्रका प्रत्येक घरलाई डिजिटल रूपमा कसरी पहिचान गर्ने, कहाँ छ भनेर तुरुन्त पत्ता लगाउने र आवश्यक सेवा सही ठाउँमा कसरी पु¥याउने ?’
नेपालका केही स्थानीय तहले यस्तो अभ्यास सुरु गरिसकेका छन् । विशेषगरी ललितपुर महानगरपालिकाको मेट्रिक हाउस नम्बरिङ प्रणाली बुढानीलकण्ठका लागि उपयोगी सिकाइ हुन सक्छ । त्यहाँ सडक सञ्जाललाई आधार मानेर घर नम्बर निर्धारण गर्ने अवधारणा अघि बढाइएको छ । 
बुढानीलकण्ठले पनि यस्तो अनुभवबाट सिक्न सक्छ । तर यहाँको प्रणाली बुढानीलकण्ठको आफ्नै भौगोलिक र सामाजिक अवस्थासँग मिल्ने हुनुपर्छ । नगरपालिकामा पुराना बस्ती, नयाँ आवासीय क्षेत्र, मुख्य सडक, भित्री सडक, डाँडाकाँडा र तीव्र शहरी विस्तार सबै छन् । आजको घर नम्बर भोलि नयाँ घर बनेपछि, पुरानो घर भत्किएपछि, जग्गा विभाजन भएपछि वा सडकको पहुँच परिवर्तन भएपछि पनि प्रणालीभित्र व्यवस्थित रूपमा अद्यावधिक गर्न सकिने हुनुपर्छ । त्यसैले सुरुदेखि नै यसलाई एकपटक सञ्चालन गरेर सकिने परियोजनाभन्दा निरन्तर अद्यावधिक हुने नगर सूचना प्रणालीका रूपमा विकास गर्नु आवश्यक छ ।
यस प्रणालीको पहिलो ठूलो प्रभाव सार्वजनिक सेवा प्रवाहमा देखिन सक्छ । कुनै नागरिकले फोहोरमैला व्यवस्थापन, सडक मर्मत, खानेपानी, भवन अनुमति, कर, सामाजिक सुरक्षा वा अन्य स्थानीय सेवा माग गर्दा उसको स्थान सही रूपमा पहिचान गर्न सकियो भने सेवा व्यवस्थापन धेरै प्रभावकारी हुन सक्छ । 
यही कारणले जीआइएसलाई केवल नक्सा बनाउने प्रविधिका रूपमा हेर्नु पर्याप्त हुँदैन । यो निर्णय गर्ने प्रणाली पनि हो । नगरपालिकाले आगामी वर्षको बजेट बनाउँदा कुन ठाउँमा कस्तो लगानी आवश्यक छ भन्ने कुरा स्थानगत तथ्याङ्कबाट पहिचान गर्न सक्छ । यसले सीमित स्रोतलाई प्राथमिकताका आधारमा प्रयोग गर्न सहयोग पु¥याउँछ । 
जीआइएस हाउस नम्बरिङको अर्को महत्वपूर्ण सम्भावना स्थानीय राजस्व र सम्पत्ति व्यवस्थापनमा छ । घर, जग्गा, भवनको अवस्था र सम्बन्धित प्रशासनिक विवरणलाई कानुनी तथा गोपनीयताको मापदण्डभित्र व्यवस्थित गर्न सकियो भने कर प्रशासन र सम्पत्ति व्यवस्थापनमा सुधार आउन सक्छ । नागरिकले पनि आफ्नो घर नगरपालिकाको अभिलेखमा कहाँ र कसरी दर्ता छ भन्ने कुरा सहज रूपमा बुझ्न सक्ने अवस्था सिर्जना हुन सक्छ तर यसको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एउटा विपद् व्यवस्थापन पनि हो । भूकम्प, आगलागी, बाढी, पहिरो वा अन्य आपत्कालीन अवस्थामा उद्धार टोलीलाई प्रभावित घरको सही स्थान तुरुन्त पत्ता लगाउन सक्नु जीवन बचाउने विषय बन्न सक्छ । यदि घर नम्बरलाई जोखिम नक्सा, सडक पहुँच, खुला स्थान, स्वास्थ्य संस्था, दमकल र अन्य आपत्कालीन सेवासँग जोड्न सकियो भने नगरपालिकाले विपद् आउनुअघि नै जोखिमयुक्त क्षेत्र पहिचान गर्न सक्छ र विपद्को समयमा उद्धार तथा राहतका लागि प्राथमिकता निर्धारण गर्न सक्छ ।
बुढानीलकण्ठ जस्तो तीव्र रूपमा शहरीकरण भइरहेको नगरका लागि यो पक्ष झन् महत्वपूर्ण छ । नयाँ भवन थपिँदै जाने, बस्ती बाक्लिँदै जाने र सडक तथा पूर्वाधारको स्वरूप परिवर्तन हुँदै जाने अवस्थामा जोखिमको स्वरूप पनि बदलिन्छ । त्यसैले जीआइएस प्रणालीमा राखिएको सूचना स्थिर होइन, समयसँगै परिवर्तन हुने जीवित सूचना हुनुपर्छ तर यहाँ एउटा महत्वपूर्ण सावधानी पनि आवश्यक छ । घर नम्बरिङसँगै सामाजिक–आर्थिक प्रोफाइल तयार गर्ने क्रममा परिवार तथा व्यक्तिसम्बन्धी विभिन्न सूचना संकलन हुन सक्छन् । त्यस्ता सबै सूचना सार्वजनिक रूपमा उपलब्ध गराउनु उचित हुँदैन । कुन सूचना सार्वजनिक गर्ने, कुन सूचना नगरपालिकाका सम्बन्धित कर्मचारीले मात्र प्रयोग गर्ने र कुन सूचना गोप्य राख्ने भन्ने विषयमा स्पष्ट डेटा सुरक्षा र गोपनीयता व्यवस्था आवश्यक हुन्छ । डिजिटल शासनको अर्थ धेरैभन्दा धेरै डेटा सार्वजनिक गर्नु मात्र होइन; सही डेटा सही प्रयोजनमा सुरक्षित रूपमा प्रयोग गर्नु पनि हो ।
अर्को चुनौती परियोजना सम्पन्न भएपछि सुरु हुन्छ । घर नम्बर प्लेट राखियो, नक्सा बनाइयो र डाटाबेस तयार भयो भन्दैमा काम सकिँदैन । नयाँ घर बन्न सक्छ, पुरानो घर भत्किन सक्छ, एउटै जग्गा विभाजन हुन सक्छ, नयाँ सडक बन्न सक्छ वा सडकको नाम तथा पहुँच परिवर्तन हुन सक्छ । यदि यी परिवर्तनहरू समयमै डिजिटल प्रणालीमा अद्यावधिक भएनन् भने केही वर्षमै डाटाबेस पुरानो हुन सक्छ । त्यसैले नगरपालिकाले जीआईएस तथा डिजिटल डाटाबेस व्यवस्थापनका लागि स्थायी प्राविधिक क्षमता विकास गर्नुपर्छ ।
यसका लागि वडा कार्यालय, राजस्व शाखा, भवन अनुमति, योजना तथा पूर्वाधार शाखा, सामाजिक विकास, विपद् व्यवस्थापन र जीआइएससँग सम्बन्धित प्राविधिक शाखाबीच नियमित समन्वय आवश्यक हुन्छ । नयाँ भवनको स्वीकृति दिँदा, नयाँ सडक निर्माण गर्दा वा कुनै प्रशासनिक विवरण परिवर्तन गर्दा त्यसको सूचना पनि जीआइएस प्रणालीमा अद्यावधिक हुने व्यवस्था बनाउन सकियो भने प्रणाली लामो समयसम्म उपयोगी रहन्छ ।
बुढानीलकण्ठले यस अवसरलाई आफ्नो दीर्घकालीन डिजिटल नगर विकाससँग जोड्न सक्छ । आज घर नम्बरिङबाट सुरु भएको प्रणाली भोलि डिजिटल नागरिक सेवा, स्मार्ट फोहोर व्यवस्थापन, सडक तथा पूर्वाधार योजना, सम्पत्ति व्यवस्थापन, विपद् पूर्वतयारी, कर प्रशासन, सार्वजनिक सुविधा नक्साङ्कन र तथ्यमा आधारित नीति निर्माणसम्म विस्तार हुन सक्छ। यस अर्थमा घर नम्बर प्लेट एउटा सानो देखिने तर ठूलो सम्भावना बोकेको स्थानीय विकास पूर्वाधार हो ।
यस कामको सफलता कति वटा घरमा नम्बर प्लेट टाँसियो भन्ने संख्याले मात्र मापन गर्नुहुँदैन । वास्तविक सफलता त्यतिबेला देखिन्छ, जब ती नम्बरहरू विश्वसनीय डिजिटल नक्सासँग जोडिन्छन्, नगरपालिकाका विभिन्न शाखाले एउटै सूचनालाई प्रभावकारी रूपमा प्रयोग गर्छन्, नागरिकले सेवा लिन सहजता अनुभव गर्छन् र नगरपालिकाले आफ्नो विकास योजना तथा विपद् व्यवस्थापनमा त्यसबाट उपयोगी सूचना प्राप्त गर्छ ।
बुढानीलकण्ठ आज तीव्र शहरी परिवर्तनको चरणमा छ । यस्तो अवस्थामा नगरपालिकालाई सडक, भवन, खानेपानी र अन्य भौतिक पूर्वाधारसँगै सही सूचना र त्यसलाई प्रयोग गर्ने संस्थागत क्षमता पनि चाहिन्छ । जीआइएस आधारित हाउस नम्बरिङले यही डिजिटल आधार तयार गर्न सक्छ । ललितपुरलगायत अन्य स्थानीय तहका अनुभवबाट सिक्दै, तर बुढानीलकण्ठको आफ्नै आवश्यकता, भूगोल र भविष्यको विकासलाई केन्द्रमा राखेर अघि बढ्न सकेमा यो परियोजना केवल घर नम्बर वितरणमा सीमित नरही स्थानीय शासन सुधारको एउटा महत्वपूर्ण उदाहरण बन्न सक्छ ।
अन्ततः घर नम्बर एउटा अंकको समूह मात्र होइन । सही प्रणालीसँग जोडिएपछि त्यो घरको डिजिटल पहिचान बन्न सक्छ । डिजिटल पहिचानलाई सार्वजनिक सेवा, विकास योजना, राजस्व प्रशासन, विपद् व्यवस्थापन र नागरिक सहभागितासँग जोड्न सकियो भने त्यसको प्रभाव एउटा घरमा मात्र सीमित रहँदैन; पूरै नगरको शासन प्रणालीमा देखिन्छ ।
घरको भित्तामा एउटा नम्बर टाँसिनेछ । तर त्यस नम्बरलाई सही ढंगले डिजिटल प्रणालीसँग जोड्न सकियो भने त्यसले एउटा घर मात्र होइन, पूरै नगरलाई नक्सामा जोड्न सक्छ । यही कारणले बुढानीलकण्ठको जीआइएस हाउस नम्बरिङलाई आजको एउटा प्रशासनिक कामभन्दा भोलिको तथ्यमा आधारित, नागरिकमैत्री र डिजिटल स्थानीय शासनको आधारका रूपमा हेर्न आवश्यक छ ।
(लेखक केसी संकट व्यवस्थापन विषयमा कलम चलाउँछन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्