काठमाडौं, ६ असोज - आन्दोलनका कारण शेयर कारोबारमा मनोबल गिरेको भन्दै लगानीकर्ताले अर्थमन्त्री रामेश्वर खनालसमक्ष बजार सुधारका लागि सुझाव पेस गरेका छन् ।
शेयर लगानीकर्ताको संस्थाहरू शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरूले अर्थमन्त्रीलाई भेटेर बजार सुधारका लागि तत्काल गर्नुपर्ने भन्दै सात बुँदे सुझाव पेस गरेका हुन् ।
‘पूर्वतयारी बिना बजार खुलेकै दिन नेप्से सूचकांकमा १६० भन्दा बढी गिरावट भई करिब ६ प्रतिशतले नकारात्मक सर्किट लाग्नु र ७२ करोड मात्र कारोबार भई करिब तीन खर्ब पुँजीकरणमा ह्रास आउनु लगानीकर्तासँगै राष्ट्रको समेत चिन्ताको विषय बनेको छ,’ लगानीकर्ताले दिएको सुझाव पत्रमा उल्लेख छ । यो घटनापछि आफूहरू मनोवैज्ञानिक रुपमा निराश बनेको अर्थमन्त्रीलाई सुनाएका छन् ।
शेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहजै कारोबार गर्न दिने व्यवस्था गर्न माग गरेका छन् । बैंकहरूले सर्वसाधारणबाट संकलन गरेको निक्षेप सिधै दोस्रो बजारमा लगानी गर्ने व्यवस्था गर्न लगानीकर्ताले माग गरेका हुन् । अर्थशास्त्रीहरूले भने यस्तो व्यवस्था गरिए बैंकका निक्षेपकर्ताको निक्षेप जोखिममा पर्नसक्ने बताएका छन् ।
लगानीकर्ताले हाल कायम छोटो अवधिको लाभमा ७.५ प्रतिशत र लामो अवधिको लाभमा ५ प्रतिशत पुँजीगत लाभकर खारेज गरी ५ प्रतिशत र ३ प्रतिशत कायम गर्न माग गरेका छन् । यस्तै, शेयर बिक्री गर्दा अल्पकालीन र दिर्घकालीन नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर मानेर आर्थिक ऐनमार्फत स्पष्ट व्यवस्था गरी अन्योलता हटाउन पनि माग गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट एकल परिवारलाई ऋण प्रवाह गर्ने २५ करोडको सीमा र लघुवित्तले २५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था खारेज गर्न माग गरेका छन् ।
यस्तै गैर–आवासीय नेपालीलाई पुँजीबजारमा कारोबार गर्न दिने व्यवस्था गर्न र नेपाल धितोपत्र बोर्डको स्वायत्तता सुनिश्चित गर्न पनि माग गरेका छन् ।