काठमाडौं, ६ असोज - भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको निर्माण चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । घिसिङले सोमबार यो सडक आयोजनाको स्थलगत अनुगमन गरी निर्माण कम्पनीसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
सडक आयोजनाको कार्यप्रगति अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरेका छन् । घिसिङले सडक आयोजनाकातर्फबाट गरिदिनुपर्ने कुनै काम बाँकी भएमा त्यस सम्बन्धमा तत्काल निर्णय गरेर निर्माण कार्यलाई गति दिन भनेका छन् ।
‘आयोजनाकोतर्फबाट गरिदिनुपर्ने काम बाँकी छ भने भन्नुहोला । अहिलेसम्म कुन कुराको कमीले काम हुन सकेन, त्यसको समिक्षा गरी अब सडक आयोजनाको काम नतिजा देखिनेगरी हुनुपर्छ,’ छलफलका क्रममा उनले भने ।
घिसिङले सडक आयोजनाको कामलाई गति दिन दक्ष जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्ण रूपमा परिचालन गर्न पनि ठेकेदार कम्पनीलाई निर्देशन दिए । घिसिङले दशैंको समयमा यातायात आवागमन सहज बनाउन पनि निर्देशन दिएका छन् । उनले दशैंको समयमा सडकका खाल्डाखुल्डी मर्मत गरी यातायात आवागमन सहज बनाउन भनेका हुन् ।
हालसम्म सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगा सम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ । साँगादेखि धुलिखेलसम्म पर्ने ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत प्रगति भएको छ ।
सडक आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ । टेवा पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । करिब एक किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । तर, सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको छ ।
बजेटको अभाव हुन नदिने आवश्यक पहल गर्ने घिसिङले छलफलका क्रममा आश्वस्त पारे । सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार आयोजनाका लागि चालू आर्थिक वर्षमा करिब तीन अर्ब बजेट आवश्यक पर्नेमा ५० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ ।
कोदारी राजमार्ग सञ्चालनमा
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका वडा नम्बर २ को कोदारी, इर्कुसहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो ।
चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटोबन्द भए पनि सो पहिरो हटाउन स्थानीयले अवरोध गरेका थिए । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत बुधबार गाउँपालिका वडा नम्बर २ का अध्यक्षलगायत स्थानीय अगुवाहरूलाई बोलाएर बाटो खोल्न सहयोग गर्न आग्रह गरेका थिए ।
त्यसपछि पहिरो सफा गर्ने काम सुरु भएको थियो । सोमबार मन्त्री घिसिङ सहित मन्त्रालय र सडक विभागका अधिकारीहरूले सडकको अवस्थाबारे निरीक्षण गष्रेका थिए । सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौंको संख्यामा रहेका दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आउन थालेका छन् ।