नेभिगेशन
अर्थतन्त्र

घूस लिँदालिँदै इन्जिनियर र सुपरभाइजर पक्राउ

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर सहायकलाई एक लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा पक्राउ पर्नेमा इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर सहायक चौथो तहका कौशलकुमार मधुकर छन् ।
निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको उजुरी आएपछि निगरानीमा अख्तियारको बर्दिवासस्थित कार्यालयबाट टोली खटिएको थियो । टोलीले यादव र मधुकरलाई सेवाग्राहीबाट घुसबापत लिएको एक लाख रुपैयाँसहित मंगलबार नियन्त्रणमा लिएको हो । नगरपालिकाको कार्यालयबाट पक्राउ गरिएका उनीहरूको साथबाट स्रोत नखुलेको थप ३३ हजार ७ सय पाँच रुपैयाँसमेत बरामद भएको छ । 
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै जनामाथि घूस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । बुधबार  विशेष अदालतको आदेशबाट हिरासतमा राख्ने म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्