नेभिगेशन
अर्थतन्त्र

होटल एक्स्पो गर्दै होटल संघ

काठमाडौं । होटल संघ नेपालले बर्षेनी मनाउने आतिथ्य दिवसको अवसर पारेर आगामी माघ २ र ३ मा दुई दिने ‘होटल एक्स्पो २०२७ आयोजना गर्ने भएको छ ।
नेपालको होटल तथा आतिथ्य उद्योगको समग्र अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको होटल संघ नेपालले जनाएको छ । एक्स्पोमा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाका उत्पादक तथा आपूर्तिकर्ताका सप्लाई चेन मजवुत पार्ने अधिकांश स्टलहरू रहने बताइएको छ । 
एक्स्पोका क्रममा होटल उद्योगले नेपालको अर्थतन्त्र, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा राजस्वमा पु¥याउँदै आएको योगदानलाई उजागर गरिने बताइएको छ । साथै, होटल तथा पर्यटन उद्योगले भोगिरहेका वर्तमान चुनौती, आगामी सम्भावना तथा उद्योगको विकासका लागि आवश्यक नीतिगत विषयमा सरोकारवालाबीच राष्ट्रियस्तरको बहस गरिने संघले जनाएको छ ।
कार्यक्रमकै अवसरमा ६० वर्षअघि २०२२ सालमा स्थापित होटल संघ नेपालको हिरक जयन्ती समारोहको औपचारिक समापन समेत गरिनेछ । हिरक जयन्तीको अवसरमा संघले नेपालको होटल तथा आतिथ्य क्षेत्रको विकासमा संघ र यसका सदस्य होटलहरूले पु¥याएको योगदानलाई समेत विशेष रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
होटल संघ नेपालले नेपालको पर्यटन तथा होटल उद्योगको वर्तमान अवस्था, सम्भावना र चुनौती समेटिएको वार्षिक विशेष पुस्तक ‘होटल एयर बुक २०२७’ समेत प्रकाशन गर्ने तयारी गरेको छ । पुस्तकमार्फत होटल तथा आतिथ्य उद्योगले राष्ट्रिय अर्थतन्त्र र पर्यटन विकासमा पु¥याएको योगदान तथा आगामी दिनमा उद्योगको विकासका लागि आवश्यक विषयलाई दस्तावेजीकरण गरिनेछ ।

यसै क्रममा एक्स्पोको अवसरमा १०८ प्रकारका जैविक तथा आरोग्यमूलक परम्परागत नेपाली परिकार समेटिएको नेपाल हेरिटेज ‘वेलनेस कुकबुक २०२७’ प्रकाशन गरिनेछ । नेपाली मौलिक खाद्य परम्परा, हाम्रा पुर्खाले प्रयोग गर्दै आएका पौष्टिक तथा आरोग्यमूलक खाद्य सामग्री र परिकारलाई आधुनिक आतिथ्य सेवासँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले पुस्तक तयार गर्न लागिएको संघले जनाएको छ ।

यसअघि होटल संघ नेपालको आयोजनामा सम्पन्न गुन्द्रुक राष्ट्रिय कार्यशालाबाट प्राप्त सुझाव, विचार तथा निष्कर्षलाई समेत आत्मसात गर्दै नेपाली मौलिक खाद्य पदार्थ गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन तथा ब्रान्डिङ गर्ने कार्यक्रम पनि सो अवसरमा अघि बढाइने संघले जनाएको छ । गुन्द्रुकको मौलिकता, पोषण तथा आरोग्यमूल्यलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले होटल तथा रेष्टुरेन्टको मेनुमा यसको प्रयोग तथा प्रवद्र्धनलाई थप विस्तार गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्