नेभिगेशन
प्रदेश

एक सय पन्ध्र मिटरको चुनरी यात्रा

पर्सा, ६ असोज - नेपालमा पहिलोपटक वीरगञ्जमा दुर्गा भगवतीको १ सय ५१ मिटर लम्बाईको चुनरी (पछ्यौरी) यात्रा निकालिएको छ । 

बडा दशैँको पहिलो दिन घटस्थापनामा विश्व हिन्दु परिषद् नेपालको आयोजनामा चुनरी यात्रा निकालिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माईस्थानस्थित एतिहासिक शक्तिपीठ गहवामाई मन्दिरबाट निकालिएको चुनरी यात्रा नगर परिक्रमा गरी पुनः मन्दिर परिषरमा विषेश पूजाआजाका गरी समापन भएको हो ।

यात्रामा करिब १ हजार ५ सय महिला भक्तजनहरूले चुनरी बोकेर नगर परिक्रमा गरेका थिए । नेपालको इतिहासमै पहिलोपटक वीरगञ्जमा भव्य चुनरी यात्राको आयोजना भएको परिषदका अध्यक्ष ज्योति रुंगटाले दाबी गरे । 

अहिलेको विषम परिस्थितिमा शक्तिको प्रतीक माता भवानीले सबैमा कृपा गरुन् र मुलुकमा शान्ति कायम होस् भन्ने कामना गर्दै यो यात्रा निकालिएको उनले बताए । यसका लागि कतैबाट पनि आर्थिक सहयोग नलिई सम्पूर्ण खर्च आफूहरूले व्यहोरेको अध्यक्ष रुंगटाले बताए । 

पछिल्लो समय वीरगञ्जमा धार्मिक तथा सांस्कृतिक गतिविधिहरू बढ्दै गएको छ । वीरगञ्जमा विभिन्न चाडपर्वहरूको अवसरमा कलश यात्रा, चुनरी यात्रा, रथ यात्रा, डोली यात्रा लगायतका गतिविधिहरू बढ्दो छ । 

यसले वीरगञ्ज केवल आर्थिक मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण नगरको रुपमा स्थापित हुँदै गएको यहाँका बद्धिजीवीहरूले बताएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्