नेभिगेशन
राजनीति

कांग्रेस महाधिवेशनमा मतदान आज

काठमाडौं । कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम पछि सरेको छ । मतपत्र छपाइमा ढिलाइ भएपछि बिहीबार दिउँसो १ बजेबाट थालिने भनिएको निर्वाचन प्रक्रिया सारेर शुक्रबार पुगेको छ । मतदान आज शुक्रबार बिहान ७ बजेदेखि हुने नयाँ तालिका निर्वाचन समितिले जारी गरेको छ । 
महाधिवेशन निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै सबै मतपत्र छपाइ भएर आइसकेको र मतदान केन्द्र तथा निर्वाचनमा खटिने जनशक्ति, स्वयंसेवक र सुरक्षा व्यवस्थासमेत तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । ‘मतदानका लागि मतदाता बिहानैदेखि प्रतीक्षारत रहे पनि रातको समयमा मतदान गराउँदा उचित नहुने सुझाव तथा सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै मतदान भोलि बिहानबाट सुरु गर्ने निर्णय गरिएको’ उनले बताए । 
शुक्रबार मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ । निर्वाचन समितिले बागमती प्रदेशमा १ हजार ४ सय ९१ जना महाधिवेशन प्रतिनिधि रहेको जनाइएको छ । खुलामञ्चमा बाँकी ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने छन् । 
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने छ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।
खुलामञ्चमा बन्दसत्रका लागि तयार गरिएका ३ वटा हलहरूलाई मतदान केन्द्र बनाइएको छ । जनअनुसार तराई–मधेश हललाई कोशी र मधेश प्रदेशका लागि छुट्याइएको छ । हिमाल हलमा गण्डकी प्रदेशका मतदातले मतदान गर्ने छन् । पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने समितिले जनाएको छ ।
निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा एक, खुलामञ्चमा रहेको तराई–मधेश हलमा दुई, हिमाल हलमा एक र पहाड हलमा दुई वटा बुथ स्थापना गरेको छ । एक बुथमा २३ वटा मतपेटिकाहरू राखिएको छ ।
कांग्रेसमा यसपटक २९७ सदस्यीय केन्द्रीय समिति बन्दैछ । जसमा ३ जना सर्वसम्मत भएका छन् । २९४ पदमा निर्वाचन हुँदैछ । एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने सक्ने निर्वाचन समितिको अनुमान छ । निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा एक, खुलामञ्चमा रहेको तराई–मधेश हलमा दुई, हिमाल हलमा एक र पहाड हलमा दुई वटा बुथ स्थापना गरेको छ । एक बुथमा २३ वटा मतपेटिकाहरू राखिएको छ ।
एक जना मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको बताएका छन् । निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरेर ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा लगिने र  आवश्यक प्रक्रिया पूरा गरेलगत्तै  मतगणना सुरू हुने बताएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्