नेभिगेशन
प्रदेश

चहलपहल बढाउन दशैं बजार

भैरहवा, ६ असोज - स्थानीय उपभोक्तालाई एकैथलोबाट स्वदेशी उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित भैरहवामा दशैं बजार संचालनमा गरिने भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्वार्थ उद्योग वाणिज्य संघले दशैं बजार संचालन गर्न लागेको हो । सोमबार संघले पत्रकार सम्मेलन गरी असोज ८ देखि १२ गतेसम्म ५ दिन सस्तो बजार सञ्चालन गरिने जनाएको हो । 

स्वदेशी तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न संघको हलमा बजार सञ्चालन गरिने अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए । यस्तो बजारले उचित मूल्यबारे उपभोक्तालाई सचेतना बढाउने संघले जनाएको छ । संघले संचालन गर्न लागेको यो चौथो दशैं बजार हो । 

यसअघि संघले २०५८, २०५९ र २०७९ मा पनि दशैं बजार संचालन गरेको थियो । मुलुकको प्रतिकूल अवस्थामा उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु एकैथलोमा उपलब्ध गराउने उद्देश्यले बजार सञ्चालन गर्न लागिएको अध्यक्ष आचार्यले जनाए । 

उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउन निःशुल्क स्टल उपलब्ध गराइने छ । बजारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएर राखिने पनि उनले जनाए । 

संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ र पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले दशैंको अवसरमा आयोजना गरिने बजारमा उपभोक्ताले बाहिरको तुलनामा समान सस्तो मूल्यमा खरिद गर्न पाउने बताए । 

जसरी हुन्छ उपभोक्तालाई राहत दिने उद्देश्य रहेको र बजारमा स्वदेशी उत्पादन मात्र राखिने हुँदा उद्योगलाई पनि हौसला मिलेको उनीहरूले बताए । यसले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उनीहरूको भनाइ छ । मुलुकमा प्रतिकूल अवस्था र संघले सञ्चालन गर्ने ठूलो महोत्सव नभएका वर्ष दशैं बजार सञ्चालन गरिंदै आएको संघले जनाएको छ । 

दशैं बजार प्रत्येक दिन बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ । बजारले दशैं, तिहार र छठ लगायत पर्वमा उपभोक्तालाई स्वदेशी सामान खरिद गर्न प्रेरित गर्ने विश्वास गरिएको छ । पाँच दिन सञ्चालन हुने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादनका १४ वटा स्टल रहनेछन् । 

यस बजारबाट ५० देखि ६० लाख रुपैयाँको कारोबार हुने संघले अपेक्षा गरेको छ । संघले सधैं स्वदेशी उत्पादन र गुणस्तरीय वस्तु उपभोग गर्न प्रेरित गरिरहेको जनाएको छ । दशैं बजारमा उपभोक्ताको सहजता र सुरक्षाका लागि सीसीटीभी जडान, शुद्ध खानेपानी उपलब्ध गराउने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्