नेभिगेशन
अर्थतन्त्र

अपी पावरको शक्ति

नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको अग्रणी कम्पनी अपी पावर कम्पनी लिमिटेडले पछिल्लो समय आक्रामक विस्तार गर्दै सकारात्मक फड्को मारेको छ । कम्पनीले हालसम्म ५६.५ मेगावाट जलविद्युत र ६ मेगावाट सौर्य ऊर्जा गरी कुल ६२.५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।
कम्पनीद्वारा संचालित प्रमुख आयोजनाहरुमा दार्चुलाको ८.५ मेगावाट नौगड गाड, ८ मेगावाट अपर नौगड गाड, ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा मधेस प्रदेशका ढल्केबर १ मेगावाट, सिमरा १ मेगावाट र चन्द्रनिगाहपुर ४ मेगावाट सोलार परियोजनाहरु रहेका छन् । यी तीनै सोलार परियोजनाले महेन्द्र राजमार्ग आसपासका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति सहज बनाएका छन् ।
अपी पावरले लमजुङको बेसीशहरमा रहेको ५० मेगावाटको मस्र्याङ्दी बेसी जलविद्युत परियोजना निर्माण गरेको छ । कम्पनीले यस परियोजनाको इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति र जडानका लागि इटालीको विश्वप्रसिद्ध ट्रोयर एजी र ट्रोयर हाइड्रो प्रालिसँग सम्झौता गरेको छ । करिब १० अर्ब रुपैयाँ लगानी रहने यस आयोजनाको उपकरण २ वर्षभित्र जडान भइसक्ने र ३ वर्षभित्र व्यावसायिक उत्पादन सुरु हुने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत १३२ केभी उदीपुर सबस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
यस परियोजनाका लागि कम्पनीले दिव्य ज्योति हाइड्रोपावर लिमिटेडलाई पूर्ण रुपमा अधिग्रहण गरेको छ, जसले कम्पनीको वित्तीय र प्राविधिक क्षमतालाई प्रष्ट पार्छ ।
कम्पनीले आफूलाई जलविद्युतमा मात्र सीमित राखेको छैन । इङवा हाइड्रोपावर, दार्चुला पावर, लटिनाथ पावरजस्ता कम्पनीमार्फत नयाँ आयोजना विकास गरिरहेको छ भने अपी हाइड्रो मेकानिकल लिमिटेडमार्फत हाइड्रोपावरका उपकरणहरु स्वदेशमै उत्पादन गर्ने काम थालेको छ । त्यस्तै अपी इन्फ्रा लिमिटेडमार्फत रियल स्टेट र अपी स्प्रिङ प्रालिमार्फत अपि हिमालको प्राकृतिक मुहानको पानीको व्यवसाय समेत सुरु गरेको छ ।
सौर्य र जलविद्युत दुवैमा लगानी बढाउँदै र आफ्नै टावर निर्माण जस्ता संस्थागत संरचना बलियो बनाउँदै जानुले अपी पावर नेपालको ऊर्जा आत्मनिर्भरताको अभियानमा सबैभन्दा भरपर्दो निजी कम्पनीका रुपमा स्थापित हुँदै गएको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्