नेभिगेशन
अर्थतन्त्र

१०२ मेगावाटको मध्य भोटेकोशी

सिन्धुपाल्चोकको सबैभन्दा ठूलो जलविद्युत आयोजना १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना एउटा गर्विलो आयोजनाका रूपमा स्थापित भएको छ ।
भोटेकोशी नदीमा निर्माण भएको यो आयोजना बागमती प्रदेशको बाह्रबिसे नगरपालिका–५ र भोटेकोशी गाउँपालिका–१ र ५ मा फैलिएको छ । रन–अफ–रिभर मोडलमा बनेको यस आयोजनाको ग्रस हेड २३५ मिटर र डिजाइन डिस्चार्ज ५०.८ घनमिटर प्रति सेकेन्ड रहेको छ । कम्पनीका अनुसार यसबाट वार्षिक ५४ करोड २३ लाख युनिट विद्युत उत्पादन हुनेछ ।
यो आयोजना चिलिमे जलविद्युत कम्पनीको नेतृत्वमा बनेको हो । यसमा चिलिमेको ३७ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत र बाँकी सिन्धुपाल्चोकबासी, सर्वसाधारण तथा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी रहेको छ । यसले गर्दा यो आयोजनालाई जनताको शेयरमा बनेको राष्ट्रिय गौरवको आयोजना मानिन्छ ।
कम्पनी स्रोतका अनुसार ७.२ किलोमिटर लामो हेडरेस सुरुङ र बाँधको परीक्षण सम्पन्न भइसकेको छ । अब ४ किलोमिटर लामो २२० केभी प्रसारण लाइन मार्फत बाह्रबिसे सब–स्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जोडिनेछ ।
नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता अनुसार प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद गर्नेछ । आयोजना सञ्चालनमा आएपछि वार्षिक अर्बौं रुपैयाँको विद्युत आयात प्रतिस्थापन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्