नेभिगेशन
अर्थतन्त्र

विकास हाइड्रोपावर

गोरखाको धार्चे गाउँपालिकामा निर्माण भएको माथिल्लो माछा खोला जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित चार दशमलव पाँच पाँच मेगावाट क्षमताको सो आयोजना नदीको बहावमा आधारित प्रणालीमा निर्माण गरिएको हो ।
भौगोलिक रुपमा विकट र चुनौतीपूर्ण क्षेत्रमा रहेर पनि आयोजनाले सम्झौतामा उल्लेखित मितिभन्दा पाँच महिना अगावै उत्पादन सुरु गरेर सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । आयोजनाको डिजाइन पचास प्रतिशत पानी उपलब्धताको सम्भावनाका आधारमा गरिएको छ । यसको पानीको बहाव क्षमता दुई दशमलव छ तीन घनमिटर प्रतिसेकेन्ड रहेको छ भने कुल उचाइ दुई सय उन्नाइस दशमलव पाँच मिटर रहेको छ ।
आयोजनाको वार्षिक उत्पादन क्षमता एकतीस दशमलव एक पाँच गिगावाट घण्टा रहेको छ । जसमध्ये हिउँदको समयमा बाह्र दशमलव शून्य पाँच गिगावाट घण्टा र वर्षाको समयमा उन्नाइस दशमलव एक शून्य गिगावाट घण्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनाको प्लान्ट लोड फ्याक्टर अठहत्तर प्रतिशत रहेको छ, जसलाई प्राविधिक रुपमा अत्यन्त सबल मानिन्छ ।
उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न आयोजनास्थलबाट पच्चीस किलोमिटर टाढा रहेको बासेरीस्थित तेत्तीस केभी सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरी राष्ट्रिय ग्रिडमा जोडिएको छ । छिटो र गुणस्तरीय निर्माण सम्पन्न हुनु नै यस आयोजनाको मुख्य विशेषता भएको कम्पनीले जनाएको छ । यसले ऊर्जा संकट न्यूनीकरणका साथै स्थानीय पूर्वाधार विकासमा समेत प्रत्यक्ष टेवा पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्