नेभिगेशन
प्रदेश

चाडपर्व लागेसँगै घर फर्किदै परदेशी

झापा, ६ असोज - नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं लागेसँगै भारतलगायत तेस्रो मुलुकमा रोजगारी, पढाइ तथा अन्य कारणले बसेका नेपाली धमाधम घर फर्किन थालेका छन्। 

झापाको काँकरभिट्टा नाकामा अहिले स्वदेश फर्कनेहरूको भीडभाड देखिन्छ । यस नाकामा अहिले बिहानदेखि बेलुकासम्म सिटी सफारी र पैदल यात्रु दुवैको घुइँचो हुने गरेको छ । 

जेनजीको आन्दोलन साम्य भएसँगै जनजीवन सामान्य बन्दै जाँदा काँकरभिट्टा नाका हुँदै नेपालीहरू भारतलगायत तेस्रो देशबाट स्वदेश फर्किरहेका छन् ।

काँकरभिट्टा नाकाबाट दशैं लगायतका चाडपर्वहरू मनाउन भारतका सहरहरू दिल्ली, मुम्बई, बेङ्गलोर, चेन्नई, कोलकाता, असम, सिक्किम र दार्जिलिङसँगै भुटान, बंगलादेश लगायतबाट दैनिक सयौंको संख्यामा नेपालीहरू फर्किने गरेका छन्। 

झापा माइत घर भइ हाल दिल्लीमा बसोबास गरिरहेकी राधिका निरौला आफू दशैं मनाउन नेपाल आएको बताइन्। दशैं लागेसँगै आफू माइत आएको उनको भनाइ छ । भारतमा भन्दा नेपालमा दशैंमा रमाइलो हुने भएको कारण आफू चाडपर्व मनाउन नेपाल आएको उनी बताउँछिन् । 

त्यस्तै झापा घर भई हाल बंगलादेशमा अध्ययन गरिरहेका डाक्टर रवि झा पनि आफन्तसँगै दशैं मनाउन घर फर्किएको बताउँछन् । अब चाडपर्व मनाएर मात्रै अध्ययनका लागि बंगलादेश उनी बताउँछन् । 

नेपाल–भारतबीचको प्रमुख नाका पूर्वी क्षेत्रमा पर्ने भएकाले यहाँबाट झापा मात्र होइन, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङदेखि उदयपुरसम्मका यात्रु यही बाटो हुँदै घर फर्किने गर्छन्। 

यस्तै पूर्वमा घर भई दुबई लगायतका खाडी मुलुकमा रोजगारीमा गएकाहरू पनि चाडपर्व मनाउन भारतको बाटो हुँदै काँकरभिट्टा नाकाबाट स्वदेश फर्किने गरेका छन् । काठमाडौं हुँदै पूर्व आउन असहज भएपछि सिधै दुबईबाट सिलगढीको बागडुग्रा एयरपोर्ट हुँदै स्वदेश आएको झापाका देवीप्रसाद दाहाल बताउँछन् ।

दशैं नेपालीहरूको सबैभन्दा ठूलो चाड मात्र होइन, परिवार मिलनको महोत्सव पनि हो। वर्षभरि परदेशमा संघर्ष गर्ने नेपाली यस समयमा घर फर्केर परिवारसँग बस्न चाहन्छन्। यही कारणले दशैंलाई ‘घर फर्किने चाड’ पनि भनिन्छ। काँकरभिट्टा नाकामा देखिएको यात्रुको भीड त्यसकै प्रत्यक्ष उदाहरण हो।

अहिले यो नाकाबाट भारततर्फ जानेभन्दा स्वदेश फर्किने नेपालीहरूको संख्या धेरै रहेको नाकामा खटिएका सुरक्षकर्मी बताउँछन् । 

दशैं लागेसंगै अहिले दैनिक रुपमा स्वदेश फर्कने नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको उनीहरूको भनाइ छ । चाडपर्वमा नाकाबाट अवैध सामानको तस्करी बढ्ने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा सुरक्षामा प्राथमिकता दिइरहेको जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्