नेभिगेशन
राजनीति

कांग्रेसमा ९४ प्रतिशत मतसहित सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन् । थापा र प्रतिस्पर्धी श्यामकृष्ण खड्गीबीच ६ हजार २०९ मतान्तर रह्यो । ७ हजार ३९ मत खसेकोमा थापाले ६ हजार ५८४ र खड्गीले ३७५ मत प्राप्त गरेका थिए । ५४ मत बदर भएको थियो । 
गत पुस अन्तिम साता विशेष महाधिवेशनबाट सभापति बनेका थापा नियमित महाधिवेशनबाट पनि सभापतिमै निर्वाचित भएका छन् । महाधिवेशनमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुषाल र उपत्यका महिला सदस्य अमिता प्रधान सर्वसम्मत भएका छन् । 
सभापति निर्वाचित भएपछि शनिबार केन्द्रीय कार्यालय सानेपा पुगेका थापाले आफूलाई प्राप्त मत जिम्मेवारीका रूपमा लिएको भन्दै नागरिकको विश्वास जित्ने गरी काम गर्ने बताए । थापाले पार्टीको रूपान्तरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको पनि घोषणा गरेका छन् । उनले पार्टीको कार्यशैली परिवर्तन, जिम्मेवारी र जवाफदेहिता बढाउनुपर्नेमा जोड दिएका छन् । ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ । यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ । यो परिवर्तनका लागि गरिएको विश्वास हो । यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौं,’ उनले भने ।
विशेष महाधिवेशनपछि भएको १५औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने पनि उनले बताए । अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने थापाको भनाइ छ । ‘महाधिवेशनमा प्रतिस्पर्धा भयो । कोही जित्छौं, कोही हार्छौं । यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन । अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ उनले भने । वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले पनि थापालाई शुभकामना दिँदै पार्टीभित्रका फरक मत र मनलाई जोडेर देशलाई समुन्नतिको दिशामा अघि बढाउन शुभकामना दिएका छन् । 
पदाधिकारीको मतगणना ढिलाइ
२९७ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा शनिबार पदाधिकारीको मतगणना सुरु भएको छ । मतपेटिका शुक्रबार बेलुकी नै केन्द्रीय कार्यालय सानेपा पु¥याइएको थियो । तर, पदाधिकारीको मतपेटिकामध्ये केहीमा सिल नगरिएको मतपेटिका भेटिएको भन्दै विवाद भएको थियो । दिउँसो १ बजेबाट हुने भनिएको मतगणना विवादमा परेको थियो ।  
पहिलो चरणमा उपसभापति र महामन्त्री पदको मतगणना गर्ने कार्यतालिका थियो । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको हो । मतगणना विवादमा परेपछि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहबरमा मतपेटिका खोलिएको थियो ।  सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन गरी मतगणना थालिएको थियो । सम्पूर्ण मतपरिणाम आउन बीचमा कुनै समस्या नआए दुई दिन लाग्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्