नेभिगेशन
अर्थतन्त्र

बडादसैंमा महँगीको मार

मासुदेखि चामल–तेलसम्मको बढ्यो भाउ

काठमाडौं । बडादसैंमा परिवार र आफन्तसँग बसेर मीठोमसिनो खाने, पाहुना बोलाउने र परिकार बनाउने तयारीमा रहेका उपभोक्तालाई यसपालि महँगीले थप दबाब दिएको छ । राँगाको मासु प्रतिकिलो ४ सय रुपैयाँबाट बढेर ७ सय रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ । खसीको मासु गत वर्षको दसैंको तुलनामा प्रतिकिलो २ सय रुपैयाँसम्म महँगिएको छ । कुखुरा, बंगुर र माछाको मूल्य पनि बढेको छ । मासुमा मात्रै सीमित नरहेको मूल्यवृद्धिले चामल, खानेतेल, दाल, चिउरा, चिनी, अन्डा र तरकारीसमेत महँगिएका छन् ।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार भदौको तुलनामा दसैंको मुखमा खाद्यान्नको मूल्य प्रति किलो ५ देखि ३० रुपैयाँसम्म बढेको छ । नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार भदौमा प्रतिकिलो १९० रुपैयाँ रहेको ताइचिन चिउरा असोजमा २०० रुपैयाँ पुगेको छ । यसैगरी रहर दाल २२० बाट २३० रुपैयाँ र मासको दाल २१५ बाट २२० रुपैयाँ पुगेको छ । 
यसले चाडपर्वका लागि मासु र खाद्यान्न एकैपटक किन्नुपर्ने परिवारको खर्च बढाएको छ । दसैंमा पाहुनालाई खुवाउने, टीकापछि आफन्तकहाँ जाने र घरमा विभिन्न परिकार बनाउने चलनका कारण मासु, चामल, चिउरा, तेल र चिनीको माग बढ्ने गर्छ । तर यसपालि माग बढेको समयमा आपूर्ति अवरोध र ढुवानी खर्चसमेत बढ्दा बजार मूल्यमा थप दबाब परेको व्यवसायी तथा उपभोक्ताकर्मीको भनाइ छ ।
दैनिक उपभोगको प्रमुख खाद्यान्न चामलको मूल्यवृद्धिले उपभोक्तालाई सबैभन्दा बढी प्रभावित गरेको छ । काठमाडौं उपत्यकामा २० किलोको जिरा मसिनो चामलको बोरा २ हजार ४ सय रुपैयाँबाट बढेर २ हजार ६ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । यसअनुसार उपभोक्ताले एउटै बोरामा २०० देखि ३०० रुपैयाँसम्म थप तिर्नुपरेको छ । केही बजार विवरणमा मूल्यवृद्धि ५०० रुपैयाँसम्म पुगेको उल्लेख छ । 
अध्यक्ष बज्राचार्यका अनुसार खाद्यान्न व्यवसायीले आयात लागत र ढुवानी खर्च बढेको कारण मूल्यवृद्धि भएको बताए । नेपालमा खपत हुने चामलको ठूलो हिस्सा स्वदेशी उत्पादनबाट आपूर्ति हुने भए पनि बजारको माग पूरा गर्न भारतबाट धान तथा चामल आयात गरिंदै आएको छ । आयात लागत, ढुवानी र थोकदेखि खुद्रा बजारसम्मको मूल्य अन्तरले उपभोक्ताले तिर्नुपर्ने रकम बढाएको व्यवसायीको भनाइ छ ।
खानेतेलको मूल्यवृद्धि पनि उपभोक्ताको भान्सामा प्रत्यक्ष परेको छ । काठमाडौं उपत्यकामा सूर्यमुखी तेलको मूल्य प्रति लिटर २४५ रुपैयाँबाट बढेर ३०० रुपैयाँ पुगेको एक व्यवसायीले बताए । दुई सातामै ६० रुपैयाँसम्म बढेको आफूले पाएको उपभोक्ता रत्ना श्रेष्ठले बताइन् । साल्ट ट्रेडिङका अनुसार गत वर्ष प्रति लिटर २५० रुपैयाँ रहेको सूर्यमुखी तेल अहिले ३०५ रुपैयाँ पुगेको छ । 
तेलको मूल्य बढ्दा दसैंमा सेलरोटी, अर्सा, अनरसा र अन्य परिकार बनाउने परिवारको खर्च थप बढेको छ । तेलको मूल्यमा अन्तर्राष्ट्रिय बजारको लागतसँगै आयात, ढुवानी र बजार वितरण खर्चको प्रभाव पर्ने व्यवसायीको भनाइ छ । 
दैनिक खानामा प्रयोग हुने दालको मूल्य पनि उकालो लागेको छ । नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार रहर दाल भदौको प्रतिकिलो २२० रुपैयाँबाट असोजमा २३० रुपैयाँ पुगेको छ । मासको दाल २१५ बाट २२० रुपैयाँ पुगेको छ । 
बजार विवरणअनुसार कालो दाल प्रतिकिलो १८० रुपैयाँबाट बढेर २०० रुपैयाँ पुगेको थियो । बेसारको मूल्य ४५० बाट ५२५ रुपैयाँ पुगेको थियो । 
दसैंमा मिठाई, सेलरोटी र अन्य परिकार बनाउन आवश्यक चिनीको मूल्य पनि बढेको छ । चिनीको मूल्य प्रतिकिलो १०० रुपैयाँबाट बढेर १४० रुपैयाँ नाघेको थियो । केही उपभोक्ताले १५० देखि १७० रुपैयाँसम्म तिर्नुपरेको बताएका थिए । 
सरकारी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले भने सहुलियत पसलमार्फत चिनी बिक्री गरिरहेको जनाएको छ । कम्पनीका अनुसार काठमाडौं उपत्यकामा चिनी प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री भइरहेको छ । खुला बजारमा चिनीको मूल्य १२५ देखि १३० रुपैयाँ आसपास रहेको कम्पनीको भनाइ छ । सहुलियत पसलमा दाल, चामल र खानेतेलमा पनि प्रतिकिलो वा प्रतिलिटर पाँच रुपैयाँ छुट दिइएको छ । 
अन्डाको मूल्य पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्ष प्रतिक्यारेट ४५० रुपैयाँ रहेको अन्डा अहिले ६०० रुपैयाँ पुगेको छ । 
तरकारीको मूल्यमा पनि वृद्धि भएको छ । काठमाडौं उपत्यकामा नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ ।  आलुको थोक मूल्य ५३ रुपैयाँ, करेला ६५ रुपैयाँ पुगेको छ । 
खाद्यान्नसँगै दसैंको प्रमुख परिकार मानिने मासुको मूल्य पनि बढेको छ । खसीको मासु गत वर्ष प्रतिकिलो १ हजार ४५० रुपैयाँ रहेकामा अहिले १ हजार ६५० रुपैयाँ पुगेको छ । केही बजारमा १ हजार ७०० रुपैयाँसम्म बिक्री भएको विवरण पनि सार्वजनिक भएको छ । जिउँदो खसीको मूल्य गत वर्षको ६८० रुपैयाँबाट बढेर ८०० रुपैयाँ पुगेको व्यवसायीले बताएका छन् । 
राँगाको मासु प्रतिकिलो ४०० रुपैयाँबाट बढेर ७०० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ । कुखुराको तयारी मासु प्रतिकिलो ४४० देखि ४६० रुपैयाँसम्म बिक्री भएको र बंगुर तथा माछाको मूल्य पनि बढेको उपभोक्ता बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्