नेभिगेशन
दृष्टिकोण

गुरुकुलीय शिक्षा र प्राकृतिक चिकित्सा

आज शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रहरू निष्काम सेवाको आदर्श छाडेर व्यापारिक केन्द्र बनेका छन् । आधुनिक स्कुलहरू ज्ञान र संस्कार बाँड्ने थलो बन्नुपर्दछ । त्यहाँ बालबालिकाले ज्ञान होइन, मानसिक र शारीरिक यातना पाइरहेका छन् । अर्कातिर, ‘चिकित्सालय’ नामका बिरामीको उपचार गर्न होइन, उसको कमजोरीका  फाइदा उठाएर जीवनभर ओखतीको दास बनाउने र घरको पुख्र्यौली सर्वस्व रित्याउने काम भइरहेको छ । एकातिर शुल्क र बिलको अचाक्ली भारले अभिभावकहरू पीडित छन् भने अर्कातिर सन्तानको कुण्ठित भविष्य र बिरामीको छटपटी देखेर उनीहरूको छाती दिनहुँ चिन्ताको आगोमा भुटिएको छ ।
यो सीमाहीन दोहन रोक्न ‘गुरुकुल र प्राकृतिक चिकित्साको पुनर्जागरण’ नै एक मात्र शाश्वत र अचुक विकल्प हो । गुरुकुलीय पुनर्जागरणको अर्थ शिक्षालाई व्यापारिक कमिसनबाट मुक्त गरी नैतिक मूल्य, चरित्र निर्माण, स्वावलम्बन र निष्काम सेवामा ढाल्नु हो । त्यसै गरी, प्राकृतिक चिकित्साको पुनर्जागरण भनेको मानिसलाई सिन्थेटिक चक्की र महँगा परीक्षणको स्थायी ग्राहक बनाउनुको साटो प्रकृति, सही आहार, विहार, योग र उपवासद्वारा शरीरकै रोग प्रतिरोध क्षमता जगाएर रोगलाई समूल नष्ट गर्नु हो ।
हाम्रा पूज्य ऋषिमुनिहरू, भगवान् धन्वन्तरि र महर्षि चरकले शिक्षा र चिकित्सालाई कहिल्यै व्यापार मानेनन् । ती त साधना र करुणाका माध्यम थिए । जबसम्म हामी शिक्षालाई नाफारहित दायित्वमा फर्काउँदैनौं र स्वास्थ्यमा एलोप्याथिक एकाधिकार तोडेर प्राकृतिक चिकित्सालाई प्राथमिकता दिँदैनौं तबसम्म अभिभावक पीडित हुने क्रम रोकिँदैन । गुरुकुलको दिव्य चेतना र प्राकृतिक आरोग्यताको बाटोमा फर्कनु नै नागरिकलाई स्वाभिमानी र निरोगी बनाउने एकमात्र मार्ग हो ।
आधुनिकताको नाममा आज समाजले जसलाई सभ्यताको सोपान मानिरहेको छ । शिक्षा र स्वास्थ्य जीवनका सबैभन्दा पवित्र, संवेदनशील र नैसर्गिक अधिकार हुन् । तर आज यिनै दुई स्तम्भहरू निष्काम सेवाको भावबाट पूर्ण रूपमा च्युत भई व्यापारिक केन्द्रमा परिणत भएका छन् । आजको यो संस्थागत अनियमितताले सम्पूर्ण सिमानाहरूलाई नाघेर सीमाहीन अनैतिकताको रूप धारण गरिसकेको छ । जुन ठाउँमा ज्ञानको दीप बालेर अज्ञानताको अन्धकार हटाउनुपर्ने हो त्यही ठाउँ अभिभावक आर्थिक रुपमा पीडित बन्ने काम हुनुुहुँदैन । त्यसै गरी, जुन ठाउँमा बिरामीको अकाल मृत्यु रोकेर उसलाई आरोग्यता र जीवनदान दिनुपर्ने हो, त्यही ठाउँले व्यापार गर्नु कति जायज छ ?  यो केवल व्यवस्थागत असफलता मात्र होइन, यो त मानव चेतना र नैतिक मूल्यको पतन हो ।
प्राचीन वैदिक परम्परा र हाम्रा त्यागी ऋषिमुनिहरूले खडा गरेको गुरुकुलीय आदर्शलाई सम्झँदा आजका आधुनिक स्कुलहरूप्रति  करुणा उत्पन्न हुन्छ । प्राचीन गुरुकुलहरू कुनै नाफा कमाउने कम्पनी वा सञ्चालकहरूलाई धनी बनाउने संस्थान थिएनन् । ती त जीवन जिउने कला, सत्यको खोज, प्रकृतिसँगको तादात्म्य र चरित्र निर्माणका दिव्य साधनास्थल थिए । त्यहाँ धनी र गरिबका बीचमा कुनै भेद थिएन; राजाका राजकुमार र सामान्य प्रजाका सन्तान एउटै वस्त्रमा, एउटै अन्न खाएर, गुरुको वात्सल्यपूर्ण चौतारीमा बसेर विद्या आर्जन गर्थे । त्यहाँ शिक्षा बेचिँदैनथ्यो, न त भर्ना र परीक्षाका नाममा अभिभावकलाई कंगाल बनाइन्थ्यो । शिक्षा प्राप्त भइसकेपछि शिष्यले आफ्नो श्रद्धा र सामथ्र्यअनुसार अर्पण गर्ने निष्काम गुरुदक्षिणा नै गुरुकुलको सञ्चालन आधार हुन्थ्यो । गुरु र शिष्यको नाता व्यापारिक ‘क्रेता र बिक्रेताको थिएन, पिता र सन्तानको जस्तै आत्मीय, पवित्र र अगाध हुन्थ्यो । तर आज समय र मानिसको नियत यसरी बिग्रियो कि ज्ञानको त्यो पवित्र मन्दिरलाई भौतिकवादी लोभले ‘कसाहीखाना’ बनाइदियो । आजका विद्यालयहरूमा बालबालिकालाई ज्ञानी, विवेकशील र आत्मनिर्भर बनाइँदैन, उनीहरूलाई त केवल एउटा निश्चित बजारका लागि यन्त्र मानव वा प्राविधिक दास बनाउन प्रशिक्षित गरिन्छ ।
अभिभावकहरू आफ्ना सन्तानको सुनौलो भविष्यको सपना बोकेर, आफ्नो पेट काटेर, रगत पसिना बगाएर वा वैदेशिक रोजगारीको उग्र तातोमा आफ्नो जीवन पगालेर ती स्कुलका सञ्चालकहरूको खल्ती भर्ने गर्छन् । तर बदलामा उनीहरूले के पाउँछन् ? केवल थरिथरिका महँगा बिलहरू, अस्वाभाविक जरिवाना । अझ मर्मघाती कुरा त के छ भने, जुन अभिभावकको पसिनाको कमाइबाट ती स्कुलका सञ्चालकहरू र तिनका एजेन्टहरू पालिएका छन्, तिनै अभिभावकका कोमल सन्ततिहरूलाई तिनै सञ्चालकका एजेन्टहरूले अनुशासन र नतिजाको नाममा प्रताडित गर्ने काम गर्नुहुँदैन । बालबालिकाको मौलिक सोच, सिर्जनात्मकता, हाँसो र निर्दोष बाल्यकाललाई पर्खालभित्र निर्ममतापूर्वक निसासिन बाध्य पारिनुहुँदैन । 
आजका ‘चिकित्सालय’ हरू बिरामीको उपचार गर्न होइन, बिरामीको अशक्तता र डरको फाइदा उठाएर उसलाई सधैंका लागि रोगी बनाइराख्न क्रियाशील देखिन्छन् । धन्वन्तरि, चरक र सुश्रुतजस्ता महान् वैद्यहरूले स्वास्थ्यलाई परम धर्म र मानव सेवाको सर्वोच्च माध्यम मानेका थिए । आयुर्वेदिक र प्राकृतिक चिकित्साको मूल दर्शन नै मानिसको प्राकृतिक रोग प्रतिरोध क्षमतालाई सबल बनाएर, आहार, विहार, योग र प्राकृतिक तŒवहरूमार्फत रोगलाई समूल नष्ट गर्नु थियो । तर, आजको आधुनिक एलोप्याथिक चिकित्सा प्रणालीले मानिसलाई जीवनभर ओखतीको दास बनाउने जालो बुनेको छ । कुनै एउटा रोगको लक्षण देखा पर्नेबित्तिकै मानिसलाई जीवनभर गोली खानुपर्ने अवस्था सिर्जना गरिन्छ । रोगको मूल कारणलाई हटाउनुको साटो लक्षणलाई दबाउने औषधिहरूको ओइरो खन्याइन्छ, जसले गर्दा एउटा अंग निको भए जस्तो देखिँदा अर्को नयाँ अंग बिग्रिन पुग्छ । 
अस्पताल पुगेको बिरामी र उसका आफन्तहरूबाट चिकित्सालय छिर्नेबित्तिकै परीक्षणका नाममा, भिडियो एक्सरे र सिटी स्क्यानका नाममा, अनि महँगा आईसीयू र भेन्टिलेटरका नाममा चर्को रकम असुलिन्छ । बिरामी निको भएर घर फर्कने ग्यारेन्टी हुँदैन । मानिस रोगले भन्दा पनि अस्पतालको बिल र औषधिको त्रासले पीडित बनेको छ । आफ्नो शरीरको प्राकृतिक क्षमतामाथि विश्वास गर्न छोडेर रसायन र सिन्थेटिक चक्कीहरूको दास बन्नु आधुनिक मानवको सबैभन्दा ठूलो अभिशाप बनेको छ ।
यस्तो गम्भीर सामाजिक र नैतिक संकटको घडीमा सबैको नजर नयाँ पुस्तातर्फ मोडिएको थियो । धेरैलाई लागेको थियो कि यो प्रविधिमैत्री, जागरुक र प्रश्न गर्न सक्ने पुस्ताले शिक्षा र स्वास्थ्यमा व्याप्त यी पुराना, जर्जर संरचनाहरूलाई उखेलेर फाल्नेछ । तर यथार्थमा त्यस्तो भएको छैन । यो नयाँ पुस्ता आफैं पनि पश्चिमा उपभोक्तावादी संस्कृति, डिजिटल लत र क्षणिक चमकधमकको मोहजालमा फस्दै गएको छ । भर्चुअल दुनियाँमा क्रान्तिको नारा लगाउने तर यथार्थमा तिनै महँगा कर्पोरेट स्कुल र आधुनिक अस्पतालका ब्रान्डहरूमा भुलेर तिनकै एजेन्ट बन्ने हो भने नेपालीहरूको हालत अझै सोचनीय हुनेछ ।
यदि यो सीमाहीन नेपाली समाजको भावी चित्र कायम रहने हो भने हाम्रा नागरिकहरू आर्थिक रूपमा गरिब बन्नेछन्, शारीरिक रूपमा सानै उमेरदेखि कडा औषधिहरूका कारण दीर्घ रोगी बन्नेछन्, अनि मानसिक रूपमा कुण्ठित बन्नेछन् । हाम्रा मौलिक जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा,योग र गुरुकुलीय संस्कारहरू पूर्ण रूपमा लोप भएर जानेछन् । यस गम्भीर संकटबाट बच्नका लागि अब परम्परागत कुराले मात्र पुग्दैन, मौलिक चेतनाको पुनर्जागरण आवश्यक छ । शिक्षालाई व्यापारबाट पूर्ण रूपमा मुक्त गरी गुरुकुलीय नैतिक मूल्य, श्रमको सम्मान र चरित्र निर्माणसँग जोड्नैपर्छ । विद्यालयहरूमा हुने जुनसुकै प्रकारका हिंसा र शोषणलाई समूल नष्ट गरिनुपर्छ । त्यसै गरी स्वास्थ्य क्षेत्रमा एलोप्याथिक एकाधिकारलाई तोडेर प्राकृतिक चिकित्सा, आयुर्वेद, सही आहारविहार र जीवनशैली रूपान्तरणको सर्वव्यापी अभियान चलाउनु अनिवार्य भइसकेको छ । हाम्रा ऋषिमुनिहरूको निष्काम सेवा धर्म र प्राकृतिक आरोग्यताको बाटोमा फर्कनु नै स्वाभिमानी, स्वस्थ र समृद्ध समाज निर्माण गर्ने एक मात्र शाश्वत मार्ग हो ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको व्यापारीकरणको अन्त्य गर्न आवश्यक छ । आजको आधुनिक भनिने र विकसित युगमा पनि जब मानिस प्रविधिको शिखरमा पुगेर पनि आर्थिक रूपमा कंगाल, शारीरिक रूपमा ओखतीको दास र मानसिक रूपमा अशान्त छ, तबसम्म यो प्रश्न झनै टड्कारो बनेको छ । यसको स्थायी समाधान भनेकै स्कुलहरूमा गुरुकुलीय नैतिक संस्कार, स्वावलम्बन र पूर्ण नियमन ल्याउनु हो । चिकित्सालयहरूमा एलोप्याथिकको एकाधिकार तोडेर प्राकृतिक चिकित्सा, सही आहारविहार र जीवनशैली रूपान्तरणलाई प्राथमिक आधार बनाउनु हो । राज्यको बाटो पर्खेर बस्नुभन्दा व्यक्ति र परिवारको स्तरबाटै यो रूपान्तरण सुरु गर्नु अहिलेको एकमात्र विकल्प हो ।
(लेखक ढकाल समसामयिक विषयमा लेख्छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्