नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

गगनमाथि गहन जिम्मेवारी

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्राप्त गरेको भारी मत व्यक्तिगत विजयको सामान्य आँकडा मात्र होइन । पार्टीभित्र वर्षौंदेखि गुम्सिएको नेतृत्व परिवर्तनको चाहनामाथि लागेको वैधानिक र शक्तिशाली मोहर हो । सात हजार तीन सय सत्र महाधिवेशन प्रतिनिधिमध्ये सात हजार उनान्चालीस जनाले मतदान गर्नु र छयानब्बे प्रतिशतभन्दा बढी मत खस्नुले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासप्रतिको अगाध उत्साहलाई संकेत गर्छ । सभापतिमा निर्वाचित थापाले त्रियानब्बे प्रतिशतभन्दा बढी सदर मतसहित नेतृत्वमा आफ्नो वैधानिक पकड थप बलियो बनाएका छन् । तर, कुनै पनि राजनीतिक दलको वास्तविक परीक्षा निर्वाचनको गणितीय परिणाममा मात्र सीमित हुँदैन । त्यसले जन्माएका गम्भीर राजनीतिक प्रश्नहरूको व्यावहारिक समाधानमा निर्भर हुन्छ । विशेष महाधिवेशनबाट शेरबहादुर देउवाको नेतृत्व विस्थापित गरेर पार्टीको कमान्ड सम्हालेका थापालाई अहिले नियमित महाधिवेशनले पनि अनुमोदन गरेको छ । यद्यपि, देउवा पक्षले यो नेतृत्व परिवर्तनलाई सहज रूपमा स्वीकार नगर्नु र छुट्टै महाधिवेशनको तयारी अघि बढाउनुले कांग्रेसभित्र विभाजनको रेखा अझै गहिरिने पक्का भएको छ ।
नेपाली कांग्रेसले अहिले भोगिरहेको संकट नेतृत्वमा अनुहार परिवर्तन गरेर मात्र समाधान हुने प्रकृतिको भने देखिँदैन । यसको जरो पार्टीको नेतृत्वशैली, जरा गाडेर बसेको गुटगत संरचना, सांगठनिक जडता र आम जनतासँग निरन्तर रूपमा कमजोर हुँदै गएको सम्बन्धमा पनि लुकेको छ । नवसभापति थापाले यी आधारभूत समस्यालाई सम्बोधन गर्न सके भने मात्र उनको यो ऐतिहासिक विजय पार्टी पुनर्निर्माणको वास्तविक अवसर बन्न सक्छ । 
उता पूर्वसभापति शेरबहादुर देउवासामु मुख्यतः केही सीमित विकल्पहरू मात्र बाँकी देखिन्छन् । उनले समानान्तर महाधिवेशनमार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने बाटो अद्यापि छँदैछ र राजनीतिक सम्झौतामार्फत आफ्नो र आफ्ना समर्थकहरूको स्थान सुरक्षित गर्ने बाटो रोज्न सक्छन् । यसका लागि मूल पार्टीमा स्थान नपाएकाहरूले उनलाई उकास्न भरपूर प्रयोग गर्ने नै छन् ।
आफ्नो पहिलो विकल्पमा देउवा पक्ष अघि बढिसकेको छ । डिसेम्बरको पहिलो साता छुट्टै महाधिवेशन गर्ने घोषणा गर्दै समानान्तर संरचना निर्माण गर्नु देउवाको तत्कालीन रणनीति देखिन्छ, जसबाट उनी आफूलाई कांग्रेसको राजनीतिबाट पूर्णतः विस्थापित हुन नदिने र नयाँ नेतृत्वमाथि निरन्तर दबाब कायम राख्ने प्रयासमा छन् । देउवाले समानान्तर गतिविधिलाई दबाबको औजारका रूपमा प्रयोग गर्दै अन्ततः राजनीतिक सम्झौताको ढोका खुला राख्ने सम्भावना देखिन्छ ।
यस्तो जटिल परिस्थितिमा थापाको सबैभन्दा ठूलो चुनौती पार्टीको आन्तरिक वैधानिकता र खण्डित एकतालाई एउटै धरातलमा ल्याउनु हो । एउटा ठूलो पक्षले नेतृत्वलाई स्वीकार नगरेसम्म सांगठनिक एकता स्वतः स्थापित हुँदैन । त्यसैले थापाले समावेशी संवादलाई उच्च प्राथमिकता दिनुपर्छ । साथै, उनले पुराना गुटका कार्यकर्तालाई प्रतिशोधको सिकार बनाउनुभन्दा योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिने पारदर्शी प्रणाली विकास गर्नु अनिवार्य छ । पार्टीभित्र आलोचनालाई निषेध गर्ने र नेतृत्वको निकटतालाई अवसरको एक मात्र आधार बनाउने पुरानो प्रवृत्तिलाई तिलाञ्जलि दिनु उचित हुनेछ ।
यसका साथै, नीतिगत स्पष्टता र जनविश्वासको पुनस्र्थापना नयाँ नेतृत्वका लागि अर्को कठिन परीक्षा हो । महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनले निर्वाचनपूर्व गठबन्धन नगर्ने, सांगठनिक पुनर्संरचना गर्ने र युवाको सहभागिता बढाउने जुन प्रस्ताव अघि सारेको छ, त्यसलाई अक्षरशः व्यवहारमा उतार्न सक्नुपर्छ । विगत दुई दशकमा कांग्रेसले राजनीतिक उद्देश्यभन्दा सत्ता, पद र भागबन्डालाई प्राथमिकता दिएको यथार्थलाई स्वीकार गर्नु सकारात्मक सुरुवात भए पनि भ्रष्टाचारका मुद्दामा निष्पक्षता, उम्मेदवार छनोटमा पारदर्शिता र सार्वजनिक सेवाका प्रश्नमा स्पष्ट अडान नदेखाएसम्म मतदाताको गुमेको विश्वास फर्कने छैन । अर्कोतर्फ, नेपाली कांग्रेसलाई हालको सरकारको पक्षधरताको आरोपबाट जोगाउनु पनि उत्तिकै जरुरी देखिन्छ ।
पार्टीको आन्तरिक निर्वाचनमा भारी मत प्राप्त गर्नु र आम निर्वाचनमा जनताको विश्वास जित्नु नितान्त फरक कुरा हुन् भन्ने कुरा थापाले आमचुनावमा प्राप्त गरेको मतले पनि प्रस्ट पार्छ । उनले युवापुस्तामा देखिएको चरम असन्तुष्टि, रोजगारीको अभाव, सुशासन र राजनीतिक जवाफदेहिताका प्रश्नलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । आगामी निर्वाचनहरूमा कांग्रेसले आफ्नो जनाधार विस्तार गर्न सकेन भने महाधिवेशनको यो सम्पूर्ण उत्साह संगठनको पर्खालभित्रै सीमित भएको ठहर हुनेछ । कांग्रेसको शक्ति लोकतान्त्रिक आन्दोलनको लामो विरासत र जनताको अटुट विश्वासमा निहित छ । देउवाले सम्मानजनक राजनीतिक अवतरण खोज्नु स्वाभाविक भए पनि त्यसका लागि सिंगो पार्टीको भविष्यलाई बन्धक बनाउनुहुँदैन भने थापाले पनि आफ्नो चुनावी विजयलाई सबै प्रश्नको अन्तिम उत्तर ठान्नुहुँदैन । गुटभन्दा माथि संस्था, पदभन्दा माथि नीति र सत्ताभन्दा माथि जनताको विश्वासलाई राख्ने राजनीतिक संस्कार स्थापित गर्नु नै कांग्रेसको वास्तविक विजय हो । यही कसीमा गगन थापा र परिमार्जित कांग्रेस २.० को सफलता मापन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्