नेभिगेशन
अर्थतन्त्र

टेलिकमको दशैं तिहार अफर

काठमाडौं । नेपाल टेलिकमले दशैं तिहार अफर उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन् । 
अफरअन्तर्गत असोज २५ देखि कार्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क मिनाहा गरिएको छ । त्यसैगरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक महिना थप सहित १३ महिनाको प्याकेज उपलब्ध गराउने भएको छ । यसमा बोनसको रुपमा उपलब्ध हुने मोबाइल डाटासमेत १३ महिनासम्म नै उपलब्ध हुने टेलिकमले जनाएको छ । भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिने ग्राहकहरुका लागि १ हजार रुपैयाँ छुट पहिले देखि नै उपलब्ध छ । 
अफरअन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरुका लागि ४ सय ९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६ सय ९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ । फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्ने बताइएको छ । 
यसका साथै २ सय ५० रुपैयाँमा १ हजार मिनेट अल–नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेट्स र ९९ रुपैयाँमा १ हजार अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुने बताइएको छ । यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्