नेभिगेशन
अर्थतन्त्र

वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गोंगबु, काठमाडौं स्थित चेतना महिला माध्यमिक विद्यालयमा अध्ययनरत महिला प्रौढ विद्यार्थीहरूका लागि वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

महिलाहरूको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालयका पचास भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । विभिन्न उमेर समूहका महिलाहरू सहभागी रहेको कार्यक्रममा बचत, व्यक्तिगत वित्तीय व्यवस्थापन, दीर्घकालीन लगानी, नेपालको पुँजी बजार, डिम्याट खाता, मेरो शेयर, तथा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो । विश्व लगानी सप्ताह २०२६ अन्तर्गत आयोजित यस कार्यक्रमले महिलाहरूमा वित्तीय ज्ञान तथा लगानी संस्कृतिको विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास लिइएको छ ।
 
कार्यक्रमको सहजीकरण नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका संस्थागत परामर्श प्रमुख अरुण श्रेष्ठले गरेका थिए । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डित, विद्यालयकी सह–प्रधानाध्यापक उर्मिला प्रधान, व्यवस्थापन पक्षका अन्य प्रतिनिधिहरू तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका लगानी प्रमुख उत्सव तुलाधरको उपस्थिति रहेको थियो ।

चेतना महिला माध्यमिक विद्यालय, गोंगबुले विगत २२ वर्षभन्दा बढी समयदेखि विभिन्न पुस्ताका महिलाहरूलाई कक्षा १ देखि १० सम्म निरन्तर शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयबाट एस.ई.ई. उत्तीर्ण गरेका महिलाहरू स्थानीय तहका नेतृत्व, उद्यमी, स्वास्थ्यकर्मी तथा अन्य विभिन्न पेशा व्यवसायमा आबद्ध भई आत्मनिर्भर र समाजमा प्रतिष्ठित नागरिकका रूपमा स्थापित भएका छन् । हाल विद्यालयमा १६० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने दैनिक रूपमा करिब १२० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्