नेभिगेशन
नेपाल

‘बलात्कारमा संलग्नलाई जन्मकैदको सजाय व्यवस्था गरौँ’

काठमाडौँ, २७ साउनः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलत्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले विद्यमान कानुन संशोधन गरेर त्यस्ता अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
 
“जघन्य अपराधमा संलग्न हुनेलाई थप कानुन परिमार्जन गरी जन्मकैदको सजाय दिलाउन कडा कानुन बनाउन माग गर्दछु”, सांसद विश्वकर्माले भन्नुभयो । उहाँले दैलेखको चामुण्डा नगरपालिकामा तीज पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रम हेरेर घर फर्कने क्रममा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
 नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउँदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष पीडितको समस्या समाधानमा राज्यले करोडौँ रुपैयाँ खर्च गरे पनि अझै सो समस्या सम्बोधन नभएको उल्लेख गर्दै पीडितका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रुपाशोशी चौधरीले कैलाली जिल्ला कारागारमा भएको लज्जास्पद घटनाको निष्पक्ष छानबिन गरी कारागार व्यवस्थापनलाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “सुरक्षा निकायको घेरामा रहने बन्दीले झडप गर्दा किन कारागारा प्रशासन मौन बस्यो ?”, उहाँले प्रश्न गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले तराई मधेसको रुपान्तरणकारी आयोजनाका रुपमा रहेको हुलाकी राजमार्गको बाँकी काम शीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेस सांसद सञ्जय गौतम र सांसद मैना कार्कीले भारतको उत्तराखण्ड क्षेत्रमा गएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजीमा गम्भीर बन्न सरकारको ध्यानार्षण गराउँदै पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।
 
 नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले मनसुनी वर्षाका कारण नुवाकोटको सूर्यगढी गाउँपालिकाको १२८ घर परिवार जोखिममा परेको जानकारी दिँदै सो क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ‘इको पहिरो’ले अरनिको राजमार्ग अवरुद्ध हुनाका साथै १२ घर र एउटा गुम्बा उच्च जोखिममा परेको उल्लेख गर्दै पहिरो रोक्न र बस्ती जोगाउन सरकारले उचित कदम चालोस् भन्नुभयो ।
 
 नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सल्यानको छत्रेश्वरी गाउँपालिकामा महायज्ञ तयारी बैठकमा दलित र जनजातिमाथि अपमान गरिएको तथा त्यसको प्रतिवाद गर्ने सामाजिक अभियान्ता शारदा परियारलाई सामाजिक बहिष्कार गर्ने धम्की दिनेलाई तत्काल कारबाही गर्न माग गर्नुभयो ।
 
 माओवादी केन्द्रका सांसद उर्मिला माझीले लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाबाट सञ्चालक ‘मालामाल’ हुने र जनता गरिबीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । माओवादी केन्द्रका सांसद सूर्यमान दोङले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ का वडाध्यक्ष र वडा सदस्य मिलेर स्थानीय युवामाथि कुटपिट गरेको घटनाको छानबिन गर्न आग्रह गर्नुभयो ।
 
माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले कास्कीमा सुनचाँदी कालीगढमाथि प्रहरीबाट भएको ज्यादतीको निष्पक्ष छानबिन गर्न माग गर्दै सोमा संलग्नलाई कारबाही गरी व्यवसायीलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
रास्वपा र राप्रपाको बहिष्कार जारी

 बैठक प्रारम्भ हुनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले आसनबाट उभिएर विरोध गर्नुभयो । रास्वपाका सांसद शिशिर खनालले ‘भिजिट भिसा’का नाममा भइरहेको मानव तस्करी रोक्न उच्चस्तरीय छानबिन समिति नबनेसम्म आफूहरुको विरोध रहिरहने बताउनुभयो । राप्रपा सांसद बीना लामाले भिजिट भिसा प्रकरणको छानबिनमा सरकारले आलटाल गरिरहेको उल्लेख गर्दै सो प्रकरणको उच्चस्तरीय छानबिन नभएसम्म आफ्नो दलले सदनमा विरोध गरिरहने स्पष्ट पार्नुभयो ।

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्