नेभिगेशन
राजनीति

योगेशको पुस्तान्तरणमा जोड, तयार छैनन् ओली

काठमाडौं । एमालेमा नेतृत्व पुस्तान्तरणको बहस भित्रभित्रै चलिरहेको छ । तर, अध्यक्षको विमतिका कारण दोस्रो पुरस्ताका नेताहरू खुलेर बोल्न धक मानिरहेका छन् । नेतृत्वमा पुस्तान्तरणको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव योगेश भट्टराई अलग–अलग कित्तामा उभिएका छन् । 
अध्यक्ष ओलीले पुस्तान्तरणका लागि विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताइरहेका बेला उपमहासचिव, स्थायी कमिटी सदस्य  भट्टराईले ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिन र पार्टीका माथिल्ला कमिटीमा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउन प्रस्ताव गरेका छन् । ओलीले आइतबार पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुस्तान्तरणलाई स्वाभाविक प्रक्रिया भए पनि तत्काल नेतृत्व छाड्नुपर्ने दबाब उचित नभएको बताए ।  
भट्टराईले भने स्थायी कमिटी बैठकका सन्दर्भमा अध्यक्षको ध्यानाकर्षण गराउँदै शनिबार युवा प्रतिनिधित्व, नेतृत्वमा पुस्तागत सन्तुलन र पार्टी एकतालाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । 
उनले त्यस्तो आग्रह गरेको भोलिपल्ट ओलीले सार्वजनिक कार्यक्रमबाटै जवाफ दिएका छन् । 
‘पुस्तान्तरणको पनि सिस्टम हुन्छ’
ओलीले नयाँ पुस्तालाई तालिम, क्षमता विकास र जिम्मेवारीमार्फत क्रमशः नेतृत्वका लागि तयार गर्नुपर्ने बताएका छन् । प्राध्यापक बन्न लेक्चररबाट सुरु गर्नुपर्ने उदाहरण दिँदै उनले नेतृत्वमा पुग्न पनि अनुभव र योग्यता हासिल गर्ने प्रक्रिया आवश्यक पर्ने तर्क गरेका छन् । ‘हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ । तर त्यसको सिस्टम हुन्छ,’ ओलीले भने, ‘हाम्रो नयाँ पुस्तालाई योग्य, दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै, ट्रेनिङ गरेर, योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ ।’
उनले विगतमा आफू र अन्य नेताहरू कम उमेरमै नेतृत्वमा पुगेको उदाहरण अहिलेको पुस्तासँग सिधै तुलना गर्न नमिल्ने पनि बताए । अहिले १९–२० वर्षका युवाले पार्टी प्रमुख हुनुपर्ने दाबी गर्नु हास्यास्पद हुने उनको टिप्पणी थियो ।
पुस्तान्तरणको नाममा समाजलाई विभाजित गर्न खोजिएको आरोप लगाउँदै ओलीले बाबु–छोरा र हजुरबा–नातिबीच द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको बताए । पार्टीभित्र अहिले एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पुस्तान्तरणलगायतका विषयमा अनावश्यक विवाद नगरी कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।
युवालाई विशेष प्राथमिकता दिऔं: भट्टराई
उपमहासचिव भट्टराईले भने पार्टीभित्र युवा प्रतिनिधित्व बढाउने विषयलाई ठोस संगठनात्मक निर्णयमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । स्थायी कमिटी बैठकमा अनुपस्थित रहेको जानकारी गराउँदै शनिबार उनले अध्यक्ष ओलीलाई पठाएको सुझावमा बाँकी केन्द्रीय सदस्य मनोनयन गर्दा ४० वर्षमुनिका युवालाई विशेष प्राथमिकता दिन आग्रह गरेका छन् । उनले विगतमा छुटेका भूगोल, समुदाय र पार्टीभित्रको आन्तरिक सन्तुलनलाई समेत ध्यान दिएर केन्द्रीय सदस्य मनोनयन गर्नुपर्ने बताएका छन् । शनिबार नै एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरिसकेको छ ।  स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना तथा नयाँ नेताबीच सन्तुलन मिलाउने स्पष्ट मापदण्ड बनाउनुपर्ने उनको प्रस्ताव छ ।
उनले असोजको पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि युवालाई प्राथमिकता दिने र नेतृत्व तहमा नयाँ तथा पुराना नेताको सन्तुलित सहभागिता सुनिश्चित गर्ने विषय उठाएका थिए । त्यसबेला भएका निर्णयले आफूहरूले उठाएको भावनालाई सम्बोधन गर्न नसकेको उनको भनाइ छ । भट्टराईले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनेको बताएका छन् । यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गर्नुपर्ने उनको धारणा छ ।
आसन्न निर्वाचनसहितका चुनौती सामना गर्न पार्टीको आन्तरिक एकतालाई पहिलो सर्तका रूपमा व्याख्या गर्दै उनले हतारमा निर्णय गर्दा पार्टीभित्रको एकता खण्डित हुन सक्ने चेतावनीसमेत दिएका छन्  । ‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय ‘हतारमा निर्णय र फुर्सदमा पछुताउने’ सरह हुनेछ,’ भट्टराईको सुझावमा उल्लेख छ ।
उनको प्रस्ताव अस्वीकार गर्दै आएको ओली पक्षले सामाजिक सञ्जालमार्फत उनले दिएको सुझावको शैलाीमाथि पनि प्रश्न उठाएको छ । ओली निकट नेता सूर्य थापाले भट्टराईले सुझाव फेसबुकमा राखेको विषय भनेका छन्, ‘अध्यक्षलाई अनुरोध गर्नु स्वाभाविक हो । तर सोसल प्लेटफर्मबाट होइन । यस्तो सार्वजनिक खपतको तरिका नअपनाउन अनुरोध छ । केन्द्रीय कमिटीले मनोनयन, स्थायी र पोलिटब्युरो गठनका लागि सचिवालयलाई म्याण्डेट दिएको १६ दिन पनि नाघिसकेको छैन ।’
चौतर्फी हमला भए पनि नढल्ने जवाफ
एमालेका अध्यक्ष ओलीले आफूविरुद्ध चौतर्फी हमला भइरहेको बताएका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफ्नो नजिक भनिएका व्यक्तिले नै छुरा हानेको बताए । ‘यसो हे¥यो आफ्नै साथी जस्तो लाग्छ । कमरेड भन्छ, नजिक आउँछ, कमरेड भन्छ, ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने ? कता नजोगिने ? मैले अस्ति भेलामा पनि मैले भनेको थिएँ । भीष्मपिता जति म त्यति बुढो भएको छैन, ढल्दिनँ । जति हाने पनि ढल्दिनँ,’ उनले भने ,‘म चाहिँ मर्ने इच्छा गर्दिनँ । इच्छामरण चाहिँदैन । बाँचुञ्जेलसम्म वैरीसामु झुकिँदैन । लडिन्छ यो देशका लागि र मलाई चिन्ता छैन । किनभने मैले मेरो लागि काम गरेको होइन । सधैं मैले देश र जनताका लागि काम गरेको छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्