नेपालका दलहरूमध्ये नेपाली कांग्रेस सबैभन्दा पुरानो दल हो । यसैकारण यसलाई जेठो दल पनि भनिन्छ तर हालको नेपाली कांग्रेस दुई दलबीचको एकीकरणपश्चात् भएको हो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना २००३ साल माघ १२ गते भएको थियो । यसको नेतृत्व बी.पी. कोइरालाले गरेका थिए । नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना २००४ सालमा सुवर्ण शमशेरको नेतृत्वमा भएको थियो । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको उद्देश्यमा यी दुवै दल समान विचार राख्दथे । फलस्वरूप अनेकौँ चरणको प्रयासपछि यी दुवै दलबीच एकीकरण भयो । २००६ सालमा एकीकरणपश्चात् नेपाली कांग्रेस नाम राख्ने सहमति भयो । यसरी नेपाली कांग्रेसको स्थापना २००६ सालमा भएको मानिन्छ । मातृका यसको प्रथम सभापति भए तर नेपालको प्रथम दल नेपाली कांग्रेस होइन, नेपाल प्रजा परिषद्को स्थापना १९९३ साल जेठ २० गते काठमाडौँमा भएको थियो । यसका संस्थापक टंकप्रसाद आचार्य थिए । दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, रामहरि शर्मा आदि यसमा संलग्न थिए । यसको मुख्य उद्देश्य पनि राणा शासनको अन्त्य नै थियो । राणा शासनको अन्त्य एवं प्रजातन्त्र स्थापनामा नेपाल प्रजा परिषद्को पनि अमूल्य योगदान छ । यस दलले पनि नेपाली युवामा परिवर्तनको चाहनाको विजारोपण ग¥यो । फलस्वरूप कालान्तरमा युवाहरू सक्रिय हुन थाले साथै दलहरू पनि खुल्न थाले । यो कार्य गोप्य रूपमा भए तापनि नेपाली प्रजा परिषद्ले प्रजातन्त्रको निमित्त बहुमूल्य योगदान गरेको छ । यसै प्रसङ्गमा प्रजातन्त्रको प्रतीकको रूपमा नेपाली कांग्रेसलाई नै मानिन्छ । एकीकरणपश्चात् नेपाली कांग्रेस प्रजातान्त्रिक आन्दोलनमा ओर्लियो । यसले २००६ सालदेखि २०८३ सालसम्म आइपुग्दा १५ पटक महाधिवेशन सम्पन्न गरेको छ ।
कांग्रेस महाधिवेशनको संक्षिप्त विवरण
नेपाली कांग्रेसको अहिलेको महाधिवेशन १५औँ महाधिवेशन मानिन्छ । यसको नेतृत्व गगनकुमार थापाले गरेका छन् । तर अर्कोतर्फ कांग्रेसकै नाउमा इतरपक्ष (देउवा समूह) ले पनि १५औँ महाधिवेशनको मिति मंसिरमा तोकेको छ । यो समूहले पनि १५औँ महाधिवेशनको नाउँमा वडा अधिवेशन प्रारम्भ गरेको छ । संक्षेपमा कांग्रेसको एकीकरणअघि पनि महाधिवेशन भएको छ ।
१. पहिलो महाधिवेशनः कलकत्तामा २००३ सालमा भएको अधिवेशनमा टंकप्रसाद आचार्यलाई सभापति बनाइयो तर कार्यवाहक बी.पी. नै भए ।
२. दोस्रो महाधिवेशनः २००४ सालमा बनारसमा भयो । बी.पी. सभापति भए ।
३. तेस्रो महाधिवेशनः २००५ सालमा भयो । यो दरभंगा सम्पन्न भएको थियो । मातृका सभापति भए ।
४. चौथो महाधिवेशनः २००६ सालमा भयो । यो कलकत्तामा सम्पन्न भएको थियो । नेपाली कांग्रेसको नामाकरण यही महाधिवेशनमा भयो । बी.पी. सभापति भए ।
५. जनकपुरमा पाँचौँ महाधिवेशन भयो । बी.पी. सभापति भए ।
६. यही क्रममा वीरगञ्जमा २०१३ सालमा छैटौँ महाधिवेशन भयो । सुवर्ण शमशेर सभापति भए । यहीबिच विशेष महाधिवेशन विराटनगरमा भयो ।
७. काठमाडौँमा सातौँ महाधिवेशन भयो । बी.पी. नै सभापति भए । तर, पञ्चायत कालको प्रतिबन्धमा दलहरू परे ।
८. झापामा ने.का. को आठौँ महाधिवेशन भयो । कृष्णप्रसाद भट्टराई सभापति भए ।
९. काठमाडौँमा भएको नवौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला सभापति भए ।
१०. गिरिजाप्रसाद पोखरामा भएको १०औं महाधिवेशनमा सभापति भए ।
११. काठमाडौँमा भएको १२औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला पुनः सभापति भए ।
१२. १२औँ महाधिवेशनमा कोइराला ने.का.को सभापति भए ।
१३. तेह्रौँ महाधिवेशन काठमाडौँमा भयो । शेरबहादुर सभापति भए ।
१४. शेरबहादुर चौधौँ महाधिवेशनमा पुनः सभापति भए । चौधौँ महाधिवेशन काठमाडौँमा सम्पन्न भयो । तर जेन.जी आन्दोलनको कारण विशेष महाधिवेशनको माग गगनहरूले गरे । संस्थापनले गगनको मागलाई बेवास्ता गर्दागर्दै गगनहरूले ने.का.को दोस्रो विशेष महाधिवेशन २०८२ साल पौष २७–३१ मा सम्पन्न गरे ।
१५. हाल ने.का.को १५ औँ महाधिवेशन काठमाडौँमा सम्पन्न हुँदैछ ।
नेपाली कांग्रेस १५औँ महाधिवेशनसम्म आइपुग्दा अनेकौँ प्रकारको टुुुटफुटको सामना गरेको छ । साथै विशेष महाधिवेशन पनि गर्नुुपरेको छ । नेपाली कांग्रेसमा टुटफुटको थालनी २००४ मा भएको थियो । नेपाली राष्ट्रिय कांग्रेसमा बी.पी. र डा. डिल्लीरमण रेग्मीबीच गहिरो मतभेद उत्पन्न भयो । बी.पी. जेल पर्दा रेग्मी कार्यवाहक भए । तर बी.पी. जेलमुक्त भएपश्चात् रेग्मीले कार्यवाहक छाडेनन् । फल स्वरूप राष्ट्रिय कांग्रेस फुट्यो । नेपाली कांग्रेस बनेपश्चात् २०१० मा फेरि मातृका तथा बी.पी.बीच मतभेद भयो । पार्टीबाट निष्कासनमा परेका मातृकाले २०१० मा राष्ट्रिय प्रजा पार्टीको स्थापना गरे । यो पार्टी विभाजन थियो । बी.पी. सँग असन्तुष्टहरूले मोर्चा बनाए तापनि वास्तविक रूपमा पार्टीमा गहिरो प्रभाव पर्ने गरी नेपाली कांग्रेसमा २०५८ मा विभाजन भयो । माओवादी द्वन्द्वको सन्दर्भमा राजा ज्ञानेन्द्रको उक्साहटमा परी पार्टी निर्णय विपरीत शेरबहादुरले संकटकाल लागू गरे । पार्टीबाट निष्काशित शेरबहादुरले २४ जेठ २०५८ मा सत्ताको उन्मादमा नेपाली कांग्रेस प्रजातान्त्रिक नामक दल खोली नेपाली कांग्रेसलाई विभाजित गरे । नेपाली कांग्रेसले हालसम्म आफ्नो इतिहासमा दुईपटक विशेष महाधिवेशन पनि गर्नु परेको छ । पहिलो विशेष महाधिवेशन २०१४ साल जेठ १० विराटनगरमा भएको थियो । यस विशेष महाधिवेशनमा सुवर्ण शमशेरले बी.पी. लाई नेतृत्व हस्तान्तरण गरेका थिए । दोस्रो विशेष महाधिवेशन पौष २७–३१ गते २०८२ मा काठमाडौँमा सम्पन्न भयो । गगनकुमार थापा यस अधिवेशनवाट सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भए । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनपश्चात् २०८२ फागुन २१ गते आमनिर्वाचन भयो । एमाले एवं कांग्रेसको नेतृत्वमा सरकार बनेको थियो । के.पी. नेतृत्वको सरकार भएकै बेला इतिहासमा नै नभएको घटना भाद्र २३ र २४ गते भयो । जेनजी आन्दोलनमा ७६ जना मारिए । राष्ट्रले ठूलो अकल्पनीय क्षति बेहोर्नुप¥यो । के.पी. हेलिकप्टर चढेर भागे । शेरबहादुरले कुटाई खाए । अन्तरिम सरकार बन्यो । निर्धारित मितिमा निर्वाचन भयो । रा.स्व.पा.ले झण्डै दुई तिहाई बहुमत ल्यायो । नेपाली कांग्रेसले ठूलो धक्का बेहोर्नुप¥यो । कम्युनिष्टहरूले अपमानजनक पराजय भोग्नुप¥यो । दोस्रो विशेष महाधिवेशनपश्चात् गगनले नेतृत्व गरेको नेपाली कांग्रेसलाई भित्रैबाट शेरबहादुरले ठूलो असहयोग गरे । टिकट लिने तर पराजयपछि गगनको विरोध गर्ने शेरबहादुर कांग्रेसीहरूको नामावली लामो छ । निर्वाचन आयोग, अदालत सबै ठाउँमा गुहार गरे । निस्सा पाएको निहुँमा इतरपक्षले विश्व विजयी ठान्दै नेपाली कांग्रेस विभाजित गर्न समस्त शक्ति लगाएका छन् । सत्ता प्राप्ति लोभमा के.पी., शेरबहादुर, चोलेन्द्र लागेको षड्यन्त्रको चर्चा बजारमा छ । यस्तो प्रवृत्ति भएकाबाट नेपाली कांग्रेसको भलो हुनै सक्दैन । निर्वाचनताका विदेशमा बसेर पार्टी, मुलुक, लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्नेहरू कुनै दलप्रति इमान्दार हुनै सक्दैन । शेरबहादुर प्रवृत्तिले त्यो प्रमाणित गरेको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनले दिएका सन्देशहरूः
नेपाली कांग्रेसको १५ औं महाधिवेशनले अनेकौँ महत्वपूर्ण सन्देश दिएको हामी पाउँछौँ । सांगठनिक, राजनीतिक, आर्थिक, परराष्ट्र, विश्व परिस्थिति, शिक्षा, स्वास्थ्य, कृषि, यातायात, भौतिक संरचना आदि महत्वपूर्ण सन्देश दिएको पाइन्छ । केही महत्वपूर्ण सन्देशहरूको संक्षिप्त विवरण निम्नानुसार गर्न सकिन्छ ।
संरचनाको परिप्रेक्ष्यमा नेपाली कांग्रेसलाई जनतासँग जोडिएको दलका रूपमा स्थापित गर्न नेपाली कांग्रेसलाई पृथक् स्वतन्त्र दल बनाउने कुरा गरेको छ । सत्ताको स्वार्थमा कम्युनिष्ट एवं अन्य दलको छायाँ दल नहुने घोषणा गरेको छ । स्वतन्त्र पहिचान कायम गर्दै मुलुकका विभिन्न विषयमा अन्य दलसँग सहकार्य गर्न सकिन्छ । तर रुख छाप, रुखमा मतदान आदि कुरामा गठबन्धन गर्न सकिँदैन । पार्टीलाई डिजिटलाइज गर्ने, गाउँबाट नै बलियो बनाउने, जरा एवं जग सुदृढ बनाउने, सत्तामुखीभन्दा जनतामुखी संगठन बनाउने संकल्प गरेको छ । युवा शक्तिमाथि अत्यधिक विश्वास गरेको छ । आर्यघाट नपुगुन्जेल पार्टी र सरकार नछाड्ने अन्य पुराना दलका नेताहरूको प्रवृत्तिलाई पूरै नकार्दै पार्टी एवं सरकारमा आवधिक रहने प्रावधान राखेको छ । आर्थिक प्रसङ्गमा उदार, उत्पादनमुखी, न्यायमूलक व्यवस्थाको उल्लेख गर्दै समाजवादप्रति प्रतिबद्धताको घोषणा गरेको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, पहिचान, समावेशिता एवं बहुलवादप्रति पूर्णरूपले प्रतिबद्धता व्यक्त गरेको छ । सुशासनको पक्ष, भ्रष्टाचारमा शून्य सहनशीलता, पार्टीका सदस्यहरू पूर्णरूपले अनुशासित हुने, गलत क्रियाकलाप गरेमा व्यक्ति नै जिम्मेवार हुने कुरा गरेको छ । संविधान संशोधनमा राष्ट्रिय सहमति, छायाँ सरकार, शान्ति प्रक्रिया, विज्ञसँगको सहकार्य सबै क्षेत्रमा लागू गर्ने, सन्तुलित परराष्ट्र नीति, वातावरण, कृषिको आधुनिकीकरण, रोजगारी, पुस्तान्तरण, हस्तान्तरण, नयाँ एवं पुरानो पुस्ताबीच पुल, (म्युजिकल चेयरको), विरोध आदि कुराहरूको सन्देश नेपाली कांग्रेसको १५ औं महाधिवेशनले दिएको छ । सत्तापक्ष कस्तो हुनुपर्छ, प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने कुराको उदाहरण दिई नमुना प्रस्तुत गरेको छ । सकारात्मक उद्देश्य नभएको व्यक्ति पार्टी सदस्य हुनु हुँदैन भन्ने सन्देश दिएको छ । युथ काउन्सिल एवं काउन्सिल, राज्यले व्यक्तिको स्वतन्त्रता र पहललाई दमन गर्न सक्दैन । न त बजारले न्याय र अवसरको प्रश्नलाई उपेक्षा गर्न सक्छ । सार्वजनिक लगानी, कर र नियमनहरूले बहिष्करणमा परेका नागरिकको जीवनमा के अवसर सिर्जना गर्छन् भन्ने प्रश्न निर्णयको मापदण्ड बनाउनुपर्छ । उदार, न्यायमूलक एवं उत्पादनमुखी आर्थिक नीति, वितरणमुखी आर्थिक न्यायभन्दा प्रत्येक नागरिकको शिक्षा, स्वास्थ्य, सीप, रोजगारी, प्रविधि एवं वित्तीय पहुँचसँगै क्षमता एवं स्वतन्त्रताको संगमलगायतका सन्देशहरू दिएको छ । संक्षेपमा १७ एवं १५ बुँदाले हिमालदेखि तराईका प्रत्येक नेपालीलाई समेटेको छ । राष्ट्रिय हित, राष्ट्रिय स्वाधिनता, पञ्चशील, संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्धता, भारत तथा चीनसँग सन्तुलित सम्बन्ध, असंलग्नता, आर्थिक कूटनीति, अमेरिका, रुस युरोपसँग आर्थिकलगायत सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहयोग, विश्व शान्ति, लोकतान्त्रिक मूल्यको समर्थन शक्तिको होड र सशक्तीकरण एवं युद्धको विरोध जस्ता कुराहरू सन्देशमा आएका छन् ।
नेपालको राजनीतिक स्थिति
रा.स्व.पा.ले प्रचण्ड बहुमत ल्याएको छ । थोरै अनुभवहीनता एवं उन्माद भए तापनि परिवर्तनको चाहनाको हुटहुटी सरकारको कार्यशैलीमा देखापरेको छ । जनता रा.स्व.पा.प्रति विश्वस्त नै छन् । तर नेपाली कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको छ । जनताको आशा एवं भरोसामा वृद्धि हुन थालेको छ । जनतिरस्कृत देउवा पक्षहरूको राजनीतिक मृत्यु भइसक्दा पनि छटपटी देखिन्छ । रा.प्र.पा. ज्ञानेन्द्रको पक्षमा भएको आतंक एवं अत्याचार नेपाली जनताले बिर्सेका छैनन् भन्ने कुरा नै बिर्सेर राजाको कुरा गर्दैछन् । मधेस केन्द्रित दल मधेसमै कता हराए कता, कुर्सीको खोजीमा लागेका छन् । अनेकौँ थरी जम्मा गरेर हजारौँ केन्द्रीय सदस्य बनाए तापनि “सुप्रिमो” को चमत्कारमा एकथरी पार्टी हराएको छ । ७६ जनाको नरसंहारपश्चात् अहिले पनि “फरमान” जारी राख्ने पार्टीको ध्यान मात्र सत्ता छ । नेपालमा कम्युनिष्टहरूको सैद्धान्तिक अवस्था बागमती प्रदेशको गठबन्धनले प्रष्ट पारिदिएको छ । श्रमको मूल्याङ्कन बाँकी नै छ । संक्षेपमा पुराना प्रधानमन्त्रीका दलहरू मुर्छित अवस्थामा छन् । रा.स्व.पा. एवं नेपाली कांग्रेस नै अबको मूलधार भएका पार्टी हुन् । बेहोसी अवस्थामा पनि सत्ता एवं शक्तिका लागि आन्दोलनका कुरा गरिरहेका छन् । जनताले तिरस्कार गरिसकेको कुरा बिर्सिएका छन् ।
निष्कर्ष
नेपालको राजनीतिमा प्रशासनिक भ्रष्टाचार र षड्यन्त्रको प्रभाव छ । अदालतको भूमिकाप्रति ठूलो जनअविश्वास एवं असन्तुष्टि छ । परिवर्तन विरोधी दलहरू अत्यन्त अनुदार हुँदै राजनीतिक दृष्टिकोणबाट अनुत्तरदायी ढंगले प्रस्तुत भइराखेका छन् । “चस्मा” “कालोकोट” “अनुपस्थिति” मा दलहरू रुमलिएका छन् । यस परिस्थितिमा नेपाली कांग्रेसको १५औं महाधिवेशनले सकारात्मक सन्देश प्रवाहित गरेको छ । सामाजिक, आर्थिक, राजनीतिक आदि क्षेत्रमा यसले आफ्नो प्रतिबद्धता प्रष्ट पारेको छ । आफ्नै नेतृत्व एवं दलले गरेको त्रुटिलाई आत्मसात् गर्दै भविष्यमा एउटा लोकतान्त्रिक, समृद्ध, निडर, निष्पक्ष, आत्मनिर्भर, सीपयुक्त, समक्ष एवं आत्मसम्मानयुक्त नेपालीको परिकल्पना गरेको छ । युवाप्रति अगाध आस्था राख्दै पुस्तान्तरण एवं हस्तान्तरणको बेजोड आदर्श प्रस्तुत गरेको छ । यस्तै परिकल्पनाकारको हातमा निश्चय पनि नेपाल एवं नेपालीको भविष्य सुनिश्चित छ । नेपाली कांग्रेसले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सफल होस् । यही आशा एवं विश्वासका साथ जय नेपालको हार्दिक मङ्गलमय शुभकामना ।
(लेखक राजनीतिशास्त्री समाजका अध्यक्ष हुन् ।)