नेभिगेशन
अर्थतन्त्र

साना रकमबाटै वास्तविक चाँदी किन्न सकिने एचबीसी एप सार्वजनिक

चाँदी खरिदमा किस्ताबन्दी सुविधा, १० लाख रुपैयाँसम्म दुर्घटना बीमा र टेस्ला कार जित्ने अवसर

काठमाडौं । एकैपटक ठूलो रकम खर्च नगरी सानो–सानो रकम भुक्तानी गरेर वास्तविक चाँदी खरिद गर्न सकिने सुविधा सहित हिमालयन बुलियन कम्पनी लिमिटेड (एचबीसी) ले मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको ‘एचबीसी एप’ मार्फत ग्राहकले आफ्नो आर्थिक क्षमताअनुसार भुक्तानी गर्दै चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन् ।
सन् २००० मा स्थापना भएको कम्पनीले चाँदीको परम्परागत कारोबारलाई डिजिटल माध्यमसँग जोड्दै यस्तो सुविधा ल्याएको हो । एपमार्फत ग्राहकले चाँदी खरिदका लागि लक्ष्य निर्धारण गर्न, दैनिक मूल्य हेर्न र आफ्नो सुविधाअनुसार रकम भुक्तानी गर्न सक्नेछन् । सम्पूर्ण रकम भुक्तानी भएपछि खरिद गरिएको चाँदी ग्राहकको पूर्ण स्वामित्वमा आउने कम्पनीले जनाएको छ ।
चाँदी खरिद गर्नुअघि नै ठूलो रकम जम्मा गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले एप ल्याइएको कम्पनीको भनाइ छ । ग्राहकले एक ग्राम चाँदी बराबरको रकम, कुल मूल्यको पाँच प्रतिशत वा सम्पूर्ण रकम एकैपटक भुक्तानी गर्न सक्नेछन्। कति रकम र कहिले भुक्तानी गर्ने भन्ने निर्णय ग्राहक स्वयंले गर्न पाउनेछन् ।
एचबीसीका अध्यक्षले चाँदीको स्वामित्वलाई सहज बनाउन डिजिटल माध्यम उपयोग गरिएको बताए । उनका अनुसार एपमा देखिने स्वामित्व कुनै डिजिटल अंकमा सीमित नभई कम्पनीको भल्टमा सुरक्षित राखिएको वास्तविक चाँदीसँग सम्बन्धित हुनेछ । सम्पूर्ण भुक्तानीपछि कम्पनीले उक्त चाँदी ग्राहकलाई हस्तान्तरण गर्नेछ ।
एचबीसी एपमा ग्राहकले १०, २०, ५० र १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्ने लक्ष्य छनोट गर्न सक्नेछन् । एकैपटक बढीमा तीनवटा खरिद लक्ष्य सक्रिय राख्न सकिने व्यवस्था गरिएको छ ।
एपको मुख्य पृष्ठमा चाँदीको दैनिक खरिद मूल्य र कम्पनीले पुनः खरिद गर्ने दरसमेत हेर्न सकिन्छ । यसले ग्राहकलाई खरिद गर्ने निर्णय लिन तथा आफ्नो चाँदीको मूल्यबारे जानकारी राख्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
ग्राहकले छनोट गरेको चाँदीको सम्पूर्ण रकम भुक्तानी नहुँदासम्म कम्पनीको भल्टमा सुरक्षित राखिने बताइएको छ । भल्टमा चाँदी भण्डारण गर्दा लाग्ने शुल्कसमेत निःशुल्क गरेको जनाएको छ । ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बारमा बनाउने शुल्क नलाग्ने कम्पनीको भनाइ छ ।
सम्पूर्ण भुक्तानी पूरा भएपछि ग्राहकले आइतबारका लागि समय बुक गरेर चाँदी संकलन गर्न सक्नेछन ्। संकलन गरिएको चाँदी एपको ‘योर भल्ट’ खण्डमा देखिनेछ, जहाँ त्यसको वर्तमान मूल्यसमेत हेर्न सकिनेछ। चाँदी संकलन गरेको तीन दिनपछि कम्पनीले प्रकाशित गरेको प्रचलित पुनः खरिद दरमा उक्त चाँदी कम्पनीलाई बिक्री गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
एप सार्वजनिक गर्दै कम्पनीले ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराउने घोषणा गरेको छ । 
एचबीसीले एप सार्वजनिक गरेको अवसरमा तिहारसम्म विशेष लक्की ड्र योजना पनि घोषणा गरेको छ। योजनाअन्तर्गत तोकिएको अवधिमा एपमार्फत खरिद पूरा गर्ने प्रत्येक ग्राहकले एउटा लक्की ड्र प्रविष्टि प्राप्त गर्नेछन्।
एकभन्दा बढी खरिद पूरा गर्ने ग्राहकले प्रत्येक योग्य खरिदबापत छुट्टाछुट्टै प्रविष्टि पाउने कम्पनीले जनाएको छ। योजनाको अन्त्यमा योग्य प्रविष्टिमध्येबाट पारदर्शी गोलाप्रथामार्फत एक जना विजेता छनोट गरी नयाँ टेस्ला मोडल ३ विद्युतीय कार प्रदान गरिनेछ।
कम्पनीले एचबीसी एपलाई ट्रेडिङ प्लेटफर्म वा निश्चित प्रतिफल दिने लगानी योजनाका रूपमा नभई वास्तविक चाँदी खरिद गर्ने डिजिटल माध्यमका रूपमा प्रस्तुत गरेको छ। यसमा चाँदीको मूल्य बढ्ने वा निश्चित आम्दानी हुने ग्यारेन्टी नगरिएको कम्पनीले स्पष्ट पारेको छ।
चाँदीको मूल्यमा हुने उतारचढावले खरिद गरिएको धातुको बजार मूल्यमा प्रभाव पार्न सक्ने भएकाले ग्राहकले खरिद मूल्य, पुनः खरिद दर र लागू हुने अन्य सर्त बुझेर कारोबार गर्नुपर्ने हुन्छ।
एपमा खाता खोल्न ग्राहकले दर्ता प्रक्रिया पूरा गरी ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) उपलब्ध गराउनुपर्नेछ। एप एन्ड्रोइड र आईओएस दुवै प्रणालीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
काठमाडौंमा सन् २००० मा स्थापना भएको हिमालयन बुलियन कम्पनीले चाँदी प्रशोधन तथा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीका अनुसार उसले विशिष्ट सिरियल नम्बर अंकित चाँदीका बारसमेत उत्पादन गर्दै आएको छ। परम्परागत कारोबारको अनुभवलाई डिजिटल प्रविधिसँग जोडेर चाँदीको स्वामित्व लिन चाहने ग्राहकका लागि खरिद प्रक्रिया सहज बनाउने लक्ष्यसहित एप सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्