नेभिगेशन
राजनीति

कांग्रेसको मतगणना २३ स्थानमा

बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको मतगणना तीव्र पारिएको छ । छिटो र व्यवस्थित रूपमा नतिजा सार्वजनिक गर्न केन्द्रीय कार्यालय सानेपामा एकैसाथ २३ स्थानमा मतगणना भइरहेको छ ।
सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी समूहअन्तर्गतका केन्द्रीय सदस्य पदको गणनालाई तीव्रता दिएको हो । पद र क्लस्टरअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना अघि बढाइएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
उनका अनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना पाँच स्थानमा भइरहेको छ । प्रवासस्थित नेपाली जनसम्पर्क समितिअन्तर्गतका पदको मतगणनाका लागि सबैभन्दा धेरै नौ स्थानमा टोली परिचालन गरिएको छ ।
त्यस्तै, आदिवासी जनजाति सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्य पदको मतगणना तीन स्थानमा भइरहेको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत खुला, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको गणना चार स्थानमा जारी छ । पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना दुई स्थानमा भइरहेको छ ।
उम्मेदवार र उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षाबीच मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित काम भइरहेको सदस्यसचिव कटुवालले बताए । यसपटक अघिल्लो महाधिवेशनको तुलनामा दोब्बरभन्दा बढी मतदाता रहेकाले गणनामा केही समय लागेको उनको भनाइ छ । ७ हजारभन्दा बढी मतदाता यसपटकको महाधिवेशनमा सहभागी थिए । 
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । पदाधिकारी उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य, समावेशीतर्फ विनोद चौधरी, महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएका छन् । यसअघिका महामन्त्री पौडेल पुनः महामन्त्री निर्वाचित हुँदा अर्का महामन्त्री गुरुराज घिमिरे भने पराजित भए ।  यसपटक कांग्रेसले महिला महामन्त्रीको क्लष्टर पनि राखेको थियो । जसमा डिला संग्रौला महालक्ष्मी उपाध्यायलाई हराउँदै विजयी भइन् । डिला विशेष महाधिवेशन पछि सहमहामन्त्री बनेकी थिइन् भने डिना १४ औं महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएकी थिइन् । 
बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना जारी रहेकाले अन्य पदको अन्तिम परिणाम क्रमशः सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । सहमहामन्त्री खुल्लातर्फ रामहरी खतिवडा र अजयबाबु शिवकोटी जिततर्फ छन् । 
पार्टी बलियो बनाउने प्रतिबद्धता
कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महामन्त्रीमा निर्वाचित भएपछि सोमबार धारणा सार्वजनिक गर्दै उनले आफूलाई जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, मतदाता र शुभचिन्तकप्रति आभार व्यक्त गरे । निर्वाचनमा प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गर्दै उनले आगामी यात्रामा सबैको सल्लाह र सुझावलाई आत्मसात् गर्ने बताए । 
आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको स्वाभाविक र सुन्दर अभ्यासका रूपमा लिँदै उनले विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमै एकढिक्का कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै संकल्पबद्ध हुनुपर्दछ,’ पौडेलले भनेका छन् ।

कसले कति मत ल्याए ? 
गगन थापाः ६५८४
उपसभापति 
चन्द्र भण्डारीः ३७३५
मधु आचार्यः २३४२
विनोद चौधरीः १७४५
महामन्त्री
प्रदीप पौडेलः४१९४
उदयशमशेर राणाः २३१०
डिला संग्रौलाः ३११८
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति (महिला) पुष्पा भुषाल सर्वसम्मत भएका छन् । 

‘असन्तुष्टलाई पार्टीमा फर्काउँछौं’ 
नवनिर्वाचित कांग्रेस सभापति गगन थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई फिर्ता ल्याउनुपर्ने  बताएका छन् । निर्वाचित भएपछि पहिलो पटक पोखराबाट सार्वजनिक अभिव्यक्ति दिएका थापाले यस्तो बताएका हुन् । सोमबार पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस अन्नपूर्ण गाउँपालिकाले पोखरामा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीबाट टाढिएका सबैलाई समेटेर अघि बढ्ने बताए । 
थापाले कांग्रेस ठुला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान पु¥याएका सबै नेता तथा कार्यकर्ताको साझा पार्टी भएको बताए । शोकसभामा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्