नेभिगेशन
राजनीति

'सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने परिस्थिति बन्दैछ’

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र कमजोर पारिएको र राष्ट्रिय अस्मिता, स्वाधीनता तथा स्वतन्त्रतामाथि चुनौती खडा भएको आरोप लगाउँदै त्यसको पुनप्र्राप्तिका लागि आन्दोलन आवश्यक रहेको बताएका छन्  । पार्टी केन्द्रीय कार्यालयमा सोमबार मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने परिस्थिति निर्माण भइरहेको उनको भनाइ थियो ।
उनले सामाजिक सञ्जालमार्फत एमालेको चरित्रहत्या गर्ने र जनताको नजरमा पार्टीलाई अलोकप्रिय बनाउने प्रयास भइरहेको आरोप लगाए । २०७९ सालको निर्वाचनमा एमालेविरुद्ध विभिन्न शक्ति एकजुट भएर लाग्दा पनि पार्टी लोकप्रिय बनेको दाबी गर्दै उनले त्यसपछि पनि आफूहरूविरुद्ध प्रचार अभियान चलाइएको बताए । ‘हाम्रो चरित्रहत्या गर्ने, हामीलाई जनताको नजरमा गिराउने, अलोकप्रिय बनाउने यी सब काम भए,’ उनले भने । 
आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेविरुद्धको घेराबन्दी अझै जारी रहेको उनको भनाइ छ । पार्टीभित्र एकजुट हुनुपर्ने समयमा केही नेता गलत क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै उनले आन्तरिक एकतामा जोड दिए ।
ओलीले वर्तमान परिस्थितिमा लोकतन्त्र, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रताको पुनप्र्राप्ति आवश्यक रहेको जिकिर गरे । उनले सरकारबाट बलपूर्वक दमन गरिए त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।
‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ । राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ,’ ओलीले भने, ‘यस्तो स्थितिमा हामीले यी चिजहरूको पुनप्र्राप्ति गर्नु अनिवार्य सर्त हो ।’ सरकारको कदमविरुद्ध प्रतिवाद गर्नुपर्ने अवस्था आए आन्दोलनमा उत्रिनुपर्ने उनको भनाइ थियो । ‘बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ । विगतमा पनि हामीले यो गरेका छौँ र फेरि पनि गर्नुपर्ने हुन्छ,’ ओलीले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्